दारा सिंहको निधन


मुम्बई : भारतीय अभिनेता दारा सिंहको निधन भएको छ । बिहीबार स्थानीय समयअनुसार बिहान साढे सात बजे उनको निधन भएको हो । ८४ वर्षीय सिंहलाई अचानक हृदयाघात भएपछि केही दिनअघि मुम्बईको कोकिला बेन अस्पतालमा भर्ना गरिएको थियो । लगातारको प्रयासपछि पनि स्वास्थ्यस्थिति सुध्रिने संकेत नदेखिएपछि चिकित्सकहरूले बुधबार मध्यराति उनलाई घरै फर्काएका थिए ।
अन्तिम सास घरमै फेर्न पाउँm भन्ने उनको इच्छाबमोजिम अस्पतालबाट घर पुर्‍याइएको छोरा विन्दु सिंहले बताए । ‘लाखौँ कोसिस गर्दा पनि उनको स्वास्थ्यमा सुधार आएन,’ एजेन्सीले उपचारमा संलग्न एक चिकित्सकको भनाइ उद्धृत गर्‍यो । सिंहलाई लामो समय अस्पतालको आइसियुमा राखेर उपचार गरिएको थियो । अक्सिजनको कमीले उनको मस्तिष्कमा नोक्सानी पुगेको अस्पतालका चिफ अपरेटिङ अफिसर डाक्टर रामनारायणले बुधबार बताएका थिए ।
भारतका थुप्रै चलचित्र अनि सिरियलमा अभिनय गरेका उनी अन्तर्राष्ट्रिय स्तरका खेलाडी पनि थिए । उनले कुस्तीमा अन्तर्राष्ट्रिय पदकसमेत जितेका थिए । ५० को दशकमा चलचित्रमा प्रवेश गरेका सिंहले किङकङ, फौलादजस्ता चलचित्रबाट बलिउडमा छुट्टै पहिचान बटुले । जब वी मेट उनको अन्तिम चलचित्र हो, जसमा उनले करिना कपुरका पिताको भूमिका निर्वाह गरेका थिए । उनको बहुचर्चित सिरियल भने रामायण हो, जसमा उनले हनुमानको भूमिकामा अभिनय गरेका थिए । यही भूमिकाका कारण उनी सबैभन्दा बढी चिनिए । स्व. सिंहका तीन छोरी र दुई छोरा छन् ।
रामायणमा रामको भूमिका गर्ने अरुण गोविल, अमिताभ बच्चन, अभिषेक बच्चन, प्रेम चोपडा, महाबली सतपाल सिंहलगायत कला तथा खेलकर्मीले उनीमाथि श्रद्धाञ्जली व्यक्त गरेका छन् । ट्विटरमा लेखेका छन्, ‘सिंहको निधनले भारतीय खेल तथा कलाजगत्मा अपूरणीय क्षति पुगेको छ ।’ सिंहको जन्म १९ नोभेम्बर १९२८ मा पन्जाबको अमृतसरस्थित धरमुचक गाउँमा भएको थियो । (एजेन्सी)

प्रतिक्रिया