माओवादीमा कार्यालय विवाद

बाग्लुङ, २९ असार । एकीकृत नेकपा (माओवादी) विभाजन भएपछि पर्वतमा पार्टी कार्यालयको स्वामित्वलाई लिएर विवाद सुरु भएको छ । केन्द्रमा पार्टी कार्यालय विवाद मिलाउन कार्यदल गठन गरे पनि पर्वतमा दुई पार्टीबीच विवाद चुलिएको छ ।

एकीकृत माओवादी र नेकपा–माओवादीबीच कार्यालय स्वामित्वको विवाद चर्केपछि एक–अर्काको पार्टी कार्यालयको साइन बोर्ड फाल्ने कामसमेत भएको छ । कुस्मा बजारको लभ्लीडाँडास्थित कार्यालयमा एकीकृत माओवादीले राखेको बोर्ड नेकपा–माओवादीले बिहीबार हटाएको छ । यसअघि नेकपा–माओवादीले बुधबार साँझ टाँगेको साइन बोर्ड एकीकृत माओवादीले एक घन्टा नबित्दै हटाएपछि नवगठित माओवादीले पनि बोर्ड हटाएको हो ।
साझा पार्टी कार्यालय भएकाले दुवैका बोर्ड राख्नुपर्ने नेकपा–माओवादीका राज्य समिति सदस्य हरि पौडेलले बताए । एमाओवादीले पुन: बोर्ड राखे आफूहरूले पनि मौनता नसाँध्ने उनले बताए ।
नवगठित नेकपा–माओवादीको जिल्ला नेतृत्वले जबर्जस्ती कार्यालय भवन कब्जा गर्न बोर्ड राखेको भन्दै एकीकृत नेकपा माओवादीले हटाएको थियो । पार्टीको साझा सम्पत्ति के गर्ने भन्ने विषयमा केन्द्रमा कार्यदल बनेका बेला जबर्जस्ती बोर्ड टाँग्ने काम भएकाले हटाइएको जिल्ला इन्चार्ज नेत्र अधिकारीले बताए । विवादपछि बुधबार साँझदेखि नै कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया