युट्युबको सहारा

काठमाडौं : देशको राजनीतिबाट असाध्यै बिरक्तिएपछि गायक जे पापीले पछिल्लो एल्बम निकाले– देशको काट्टो खानेहरू । तर, उनको उक्त गीतको म्युजिक भिडियो कुनै टेलिभिजनले बजाएनन् । सरकारी मात्र होइन, निजी टिभीले पनि उनको गीत बजाउन रोक लगाए । यस्तो कारणले प्रचारप्रसार नै डामाडोल हुने अवस्था देखेपछि उनले अहिले युट्युबको सहारा लिएका छन्् । जुन गीतको शब्द र संगीत पनि उनी आफैँले तयार पारेका हुन् ।

‘टेलिभिजनले नबजाएपछि युट्युबमा यो गीत अहिलेसम्म ६० हजारले हेरिसकेछन्,’ गायक पापीले भने । गीतमा देशको भद्रगोल राजनीति, नेताको गैरजिम्मेवारीपन र अनुत्तरदायी प्रवृत्ति, नेपाली जनताको दुर्दशालगायत समसामयिक प्रसंगलाई उठाइएको पापीले बताए । सञ्जय पाण्डेको निर्देशनमा बनेको भिडियोमा विभिन्न राजनीतिक पार्टीका नेताको फाइल भिजुअल समावेश गरिएको छ । यो शैली अपमानजनक भएको भन्दै टेलिभिजनहरूले बजाउन आनकानी गरेको उनी बताउँछन् । यो उनको तेस्रो एल्बम हो । चौथो एल्बमको तयारीमा रहेको उनी सुनाउँछन् ।
साढे तीन दशकअघिदेखि संगीतमा सक्रिय उनी जागरणमूलक गीतहरूका लागि चर्चित छन् । माछी मार्न जाऊँ न दाजै कालापानीमा, बाह्र बजे तोप चल्थ्यो, एउटा इतिहास बोल्थ्यो, सुत्सुत् निदाए काठमाडौं सहर, सिन्धुलीमाडी गढी दरबार उनकै गीत हुन् । (सौस)

प्रतिक्रिया