वीरका निर्देशकको म्याद थपमा निर्वाचन आयोगको अंकुश

काठमाडौं, २८ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले नियम मिचेर वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाको थप गरेको दुईवर्षे कार्यकाल निर्वाचन आयोगले बदर गरिदिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतिसमेत रहेका मन्त्री महतोले गत १३ असारमा वीर अस्पतालको निर्देशकका रूपमा कार्यरत डा. थापाको दुईवर्षे कार्यकाल प्रक्रिया नपुर्‍याई थप गरिदिएका थिए । आयोगले निर्वाचन आचारसंहिताविपरीत डा. थापाको कार्यकाल थपिएको भन्दै २५ असारमा निर्णय बदर गर्न मन्त्रालयमा पत्र पठाएको हो ।
‘वीर अस्पतालका निर्देशकको म्याद थपको निर्णय निर्वाचन आचारसंहिताविपरीत भएकाले तुरुन्त बदर गरी तीन दिनभित्र आयोगमा जवाफ पठाउनुहोला,’ आयोगले पठाएको पत्रमा भनिएको छ ।
वीरका कर्मचारीले १६ असारमा निर्वाचन आचारसंहिता र नियमविपरीत निर्देशकको म्याद थप गरिएको उजुरी आयोगमा गरेको थियो । उजुरीका विषयमा आयोगले १८ असारमा न्याम्सका पदाधिकारीसँग जवाफ माग गरेको थियो । न्याम्सले आयोगको जिज्ञासाको जवाफ २० असारमा पठाएको थियो । न्याम्सले निर्देशकको म्याद थप प्रक्रियाविपरीत मन्त्रालयबाट भएको र नियमानुसार उपकुलपतिको सिफारिसमा निर्देशक नियुक्ति हुनुपर्ने जवाफ पठाएको न्याम्स स्रोतले जनाएको छ ।
अस्पतालमा दुई वर्षदेखि निर्देशकका रूपमा कार्यरत डा. थापाको पदावधि १३ असारमा सकिएको थियो । मन्त्री महतोले हतारमा प्रक्रिया नपुर्‍याई सोही दिन डा. थापाको कार्यकाल दुई वर्षका लागि थप गरिदिएका थिए । नियमानुसार वीर अस्पतालमा निर्देशक नियुक्ति वा पदावधि थप गर्नुपर्दा न्याम्सको नियमावली ०६४ को नियम ११ अनुसार उपकुलपतिले नाम सिफारिस गरेका व्यक्तिलाई मात्र सहकुलपतिले निर्देशक बनाउन सक्छन् । मन्त्री महतोले भने न्याम्सका उपकुलपति डा. दामोदर पोखरेलको सिफारिसविनै आफूखुसी डा. थापालाई थप दुई वर्षका लागि निर्देशक पदमा कार्य गर्न म्याद थप गरिदिएका थिए ।
डा. थापा वीर अस्पतालका निर्देशकका रूपमा कार्यरत रहँदा पटक–पटक विवादमा आएका थिए । उनी विभिन्न समयमा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेका छन् । नियमविपरीत कर्मचारी नियुक्ति र अधिकार नै नभए पनि भौतिक संरचना निर्माण गरेको भन्दै गत वर्ष सतर्कता केन्द्रले उनलाई दोषीसमेत ठहर गरेको थियो । सतर्कताले उनले नियमविपरीत ९८ जना कर्मचारी भर्ना गरेको र भौतिक संरचना निर्माण गरेको भन्दै नियमविपरीत भर्ना गरिएका सबै कर्मचारी हटाउन र दुई करोड रुपियाँ न्याम्समा तिर्न निर्देशन दिएको थियो । सतर्कताको निर्देशनअनुसार डा. थापाले कर्मचारी हटाए पनि दुई करोड रुपियाँ भने अझै तिरेका छैनन् ।

प्रतिक्रिया