गाडी हेर्न प्रहरी चौकीमा

रुकुम, २८ असार । ‘सदरमुकाम खलंगा आउने क्रममा प्रहरी चौकीमा गाडी भएको थाहा पाएर हेर्न गयौँ,’ सिम्ली–६ आमडाँडाकी ३४ वर्षीया रती ओलीले भनिन्, गाडी, हवाईजहाज हुन्छ भन्ने सुनेका थियौँ, बल्ल देख्न पायौँ ।’

रुकुमको दक्षिणी भेग सिम्लीबाट सदरमुकाम आएका एक हुल महिला गाडी हेर्न जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । ‘गेटमा आएका एक हुल महिला त गाडी हेर्न पो आएका रहेछन्,’ इन्स्पेक्टर शालिग्राम शर्मा पौडेलले भने, ‘गाडी हेर्न आएकालाई गाडी चढाएर घुमाइदिऔँ ।’
गाडी हेर्न गएका महिलाले प्रहरीको गाडीमै तीन किलोमिटर यात्रा गर्ने मौका पाएका थिए । उनीहरू सल्ले एयरपोर्टसम्म पुगेका थिए । शर्माले महिलालाई सल्ले एयरपोर्टमा लगेर जहाज बस्ने ठाउँ पनि देखाइदिएका थिए । रुकुमको सदरमुकाम खलंगासम्म नियमित बस सञ्चालन भए पनि विकट गाविसमा सडक नहुँदा यातायात सञ्चालनमा आएका छैनन् । गाउँका अधिकांश महिला अझै पनि गाडी हेर्ने रहर बोकेर सदरमुकाम आउने गरेका छन् ।

प्रतिक्रिया