प्रधानाध्यापक र विद्यार्थी पक्षबीच झडप

राजविराज, २८ असार । सप्तरी कञ्चनपुरस्थित सर्वोदय उच्चमाविका निमित्त प्रधानाध्यापक र आन्दोलनरत विद्यार्थी पक्षबीच झडप भएको छ ।

निमित्त प्रधानाध्यापक महेन्द्रकुमार यादव र आन्दोलनरत विद्यार्थीसहित अभिभावक पक्षबीच झडप भएको हो । २० दिनदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका विद्यार्थीको आन्दोलन दबाउन प्रधानाध्यापक यादव पक्षले मोटरसाइकल र्‍याली निकालेपछि झडप भएको हो । यादव पक्षको मोटरसाइकल र्‍यालीमा स्थानीयले अवरोध गरेका थिए ।
झडपमा यादव पक्षका तीनजना घाइते भएका तर उनीहरू फरार भएको स्थानीयले बताए । झडपपछि कञ्चनपुरवासीले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरले निमित्त प्रधानाध्यापक यादव पक्षले निकालेको मोटरसाइकल र्‍यालीमा स्थानीयले अवरोध गरेपछि झडप भएको जनाएको छ । २० दिनदेखि विद्यार्थीले निमित्त प्रअको राजीनामा, पाठ्यपुस्तक, नियमित पठनपाठन तथा विद्यालयको हिसाबकिताब माग गर्दै आन्दोलन जारी राखेका छन् । विद्यार्थीको आन्दोलनमा शिक्षकले समेत समर्थन जनाएका छन् । शिक्षक तथा विद्यार्थीले तीन दिनयता सडकमै पढाइ गरेर आन्दोलन जारी राखेपछि प्रधानाध्यापक यादव पक्षले प्रतिशोध निकाल्दा झडप भएको प्रहरीको ठहर छ ।

प्रतिक्रिया