पानी नपर्दा ७८ प्रतिशत खेत बाँझै

काठमाडौं, २७ असार । मनसुन ‘ब्रेक’ भई पानी नपर्दा देशभर रोपाइँ प्रभावित भएको छ । आधाभन्दा बढी रोपाइँ सकिने बेला ७८ प्रतिशत खेत बाँझै छ । गत वर्ष यही अवधिसम्म ५५ प्रतिशत रोपाइँ सकिएको थियो ।
बाली विकास निर्देशनालयका अनुसार १४ लाख ८१ हजार दुई सय ८९ हेक्टर भूभागमा हुने रोपाइँमा मंगलबारसम्म २१.७ प्रतिशतमा मात्रै रोपाइँ भएको छ । बाँकी ७८.३ प्रतिशत बाँकी छ । धान उत्पादनको ७२ देखि ७३ प्रतिशत ओगट्ने तराई क्षेत्रमा ११.६ प्रतिशत र पहाडको २९ र उच्च पहाडमा करिब ३० प्रतिशत भेगमा रोपाइँ भएको छ ।
‘अझ सप्तरी, सिराहा, बारा, पर्सा, रौतहट, कैलाली, बाँके, बर्दियालगायत तराईका जिल्लामा त पाँच प्रतिशत पनि रोपाइँ भएको छैन,’ निर्देशनालयका निर्देशक डा. सुरज पोखरेलले सौर्यसँग भने, ‘साउनसम्म यस्तै अवस्था रहे उत्पादनमा असर पर्न सक्छ ।’ उनका अनुसार पहाडमा असार मसान्तसम्म र तराईमा मध्यसाउनसम्म रोपाइँ हुन्छ ।
मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाले मनसुन ब्रेक भएका कारण पर्याप्त पानी पर्न नसकेको जनाएको छ । ‘विगत एकदुई दिनदेखि मनसुनी वायु भारततिर लागेकाले नेपालमा ब्रेक भएर पानी नपरेको हो,’ महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भने, ‘अब दुईतीन दिनमा फेरि मनसुन सक्रिय भएर वर्षा हुन्छ ।’
नेपालमा मनसुन सक्रिय हुँदा भारतमा ब्रेक र भारतमा सक्रिय हुँदा नेपालमा ब्रेकको प्रक्रिया चलिरहने उनको भनाइ छ । मनसुन ब्रेक भएकै कारण मंगलबार डडेलधुरा, दिपायल, जुम्ला, दाङ, पोखरा, भैरहवा, सिमरा, ताप्लेजुङ, बिराटनगर, जोमसोम, धरान, राजविराज र जनकपुरमा मात्रै वर्षा भएको छ ।
रोपाइँ हुन नसकिरहेको अहिलेको अवस्था लम्बिए धान उत्पादनमा कमी आउनसक्ने विज्ञले जनाएका छन् । धानबालीविज्ञ भोलामानसिंह बस्नेतका अनुसार साउन लाग्दासम्मै पानी नपर्ने हो भने पहाडी भेगको धान उत्पादन घट्छ । पहाडी भेगमा २७ देखि २८ प्रतिशत धान उत्पादन हुन्छ ।
‘साउनसम्मै पानी नपरेर पहाडमा रोपाइँ ढिला भए धानको बाला नझुल्ने र नफल्ने हुन्छ,’ उनले भने, ‘यस्तो भयो भने जम्मा उत्पादनको २०/२२ प्रतिशत घट्छ ।’
आर्थिक वर्ष ०६८/६९ मा देशभर १५ लाख ३१ हजार चार सय ९३ हेक्टरमा ५० लाख ७२ हजार दुई सय ४९ मेट्रिक टन धान उत्पादन भएको थियो । तराईमा मध्यसाउनसम्मै रोपाइँ हुने भए पनि धेरै ढिलो भए त्यहाँको धान उत्पादन प्रभावित हुनसक्ने उनले बताए । ‘तराईमा पनि धेरै ढिलासम्म पानी नपरेर रोपाइँ पर सरे उत्पादन घट्न सक्छ तर अहिल्यै यति घट्छ भन्न सकिन्न,’ उनले भने । विज्ञका अनुसार पहाडका २२ जिल्लामा उत्पादन हुने धान तराईको एउटै जिल्लामा उत्पादन हुन्छ ।

प्रतिक्रिया