जीविकोपार्जनको विकल्प बन्दै सिलाइकटाइ

काठमाडौं, २७ असार । ‘छोराछोरीको पढाइ खर्च कसरी जुटाउने भन्ने चिन्ता थियो,’ काभ्रे फूलबारी–६ की ३० वर्षीया भागीरथी तिमिल्सेनाले भनिन्, ‘सिलाइकटाइबाटै गुजारा चलेकाले अब टेलर खोल्ने सोचमा छु ।’

खेतीपातीमा निर्भर परिवार पतिको रूखबाट लडेर अपांग भएपछि समस्यामा परेको हो । अपांग पतिसँग छोराछोरीको भविष्य र घरको सम्पूर्ण जिम्मेवारी आफ्नो थाप्लोमा आएपछि तिमिल्सेनाले सिलाइकटाइ सुरु गरेकी हुन् ।
१२ वर्षीया छोरी र नौ वर्षीय छोराको पढाइको जोहो साधारण किसानी कामबाट हुन छाडेपछि उनी विकल्पको खोजीमा थिइन् । भकुन्डेबेसीमा लक्ष्मी प्रतिष्ठानले महिलाका लागि सुरु गरेको सिलाइकटाइ तालिममा सहभागी तिमिल्सेनाको जीवनमा नयाँ मोड आएको हो । उनलाई पतिले पनि अहिले काममा साथ दिएका छन् ।
तिमिल्सेनाजस्तै रोल्पा भावाङ–५ की २१ वर्षीया मनीषा विकको जीवनको गुजाराको आधार सिलाइकटाइ बनेको छ । सामान्य आवश्यकता पूरा गर्न पनि मजदुरी गर्नुपर्ने बाध्यतामा गुज्रेको विकको जीवन विवाहपछि पनि फेरिएन र मजदुरीका लागि सहर पसिन् ।
‘छिमेकी इँट्टा बोक्न आएका थिए, धेरै पैसा कमाइन्छ भनेर यता आयौँ,’ विकले भनिन्, ‘एक महिनापछि तालिममा सहभागी भएर अरू साथीसरह सिकाइको कोर्स गर्न खटिएकी छु ।’ उनले सिलाइकटाइकै काम गर्ने सोचाइ बनाएकी छन् । पति दीपकले पनि सिलाइकटाइकै लागि हौस्याएपछि उनी इँट्टा बोक्न छाडेर टेलर खोल्ने तयारीमा जुटेकी छन् ।
काभ्रेका मेथिनकोट, कानपुर, फूलबारी, कटुन्जे, खनालथोक, पुरानो गाउँ र डराउने पोखरीलगायत सात गाविसका ५८ महिलाले सिलाइकटाइ तालिम लिइरहेका छन् । उनीहरूलाई प्रतिष्ठानले नि:शुल्करूपमा तीनमहिने तालिम दिएर स्वरोजगार हुने आत्मबल बढाएको छ ।
‘तालिम थप गर्न पनि सक्छौँ,’ प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले भने, ‘तालिम लिएकामध्ये २० जनालाई व्यवसाय गर्न सिलाइ मेसिन किन्ने क्रममा ३३ प्रतिशत अनुदान दिएर आत्मनिर्भर बनाउनेछौँ ।’

प्रतिक्रिया