लोकप्रिय बजेट आउँछ भनेर विरोध भएको छ

काठमाडौं, २६ असार । एमाओवादीका उपाध्यक्ष समेत रहेका कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले आफू र अध्यक्ष पुष्पकमल दाहालवीच कुनै किसिमको मतभेद नरहेको दाबी गरेका छन् ।
राजधानीमा आज आयोजित अलग÷अलग कार्यक्रममा उनले अध्यक्ष दाहालसँग आफ्नो सुमधुर सम्बन्ध रहेको बताए । ‘अध्यक्षसँग मेरो कुनै मतभेद छैन,’ उनले भने, ‘हामी दुई वीच फाटो गराउन केही तत्वले हल्ला मात्रै फिजाएको हो ।’
उनले भविष्यमा पनि अध्यक्षसँग आफ्नो कुनै मतभेद नहुने उल्लेख गरे ।
मुल पार्टी एमाओवादी आफूहरुसँगै रहेको भन्दै भट्टराईले केही साथीहरु चोइटिएर गएको बताए । उनले एमाओवादीका केही साथी चोइटिएर गएपनि पार्टीलाई खासै नोक्सान नभएको दोहराए ।
यसैवीच, भट्टराईले सरकारले लोकप्रिय कार्यक्रम ल्याउने डरले विपक्षी दलहरु वजेटको विरोधमा उत्रिएको आरोप लगाएका छन् । ‘लोकप्रिया कार्यक्रम ल्याउछ भने दलहरु विरोधमा उत्रिएका हुन्,’ उनले भने, ‘लोकप्रिया कार्यक्रम आयो भने प्रतिस्प्रधा गर्न अप्ठेरो हुन्छ भन्ने दलहरुलाई लागेको छ ।’
बजेट आएन भने राज्यको दैनिक कार्य सञ्चालन गर्न कठिन हुने बताएका भट्टराईले जान्दाजान्दै पनि नेताहरुले विरोध गरेको आरोप लगाए ।

प्रतिक्रिया