आर्थिक क्षेत्रमा उत्साहजनक सुधार नहुने

काठमाडौं, २६ असार । राष्ट्रिय सहमति कायम गरी पूर्ण बजेट नल्याउँदासम्म मुलुकको आर्थिक क्षेत्रमा उत्साहजनक सुधार आउन नसक्ने सम्बन्धित क्षेत्रका जानकारहरुले चेतावनी दिएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनीहरुले सन् १९९० को आर्थिक सुधारले अहिलेसम्म मुलुकको आर्थिक क्षेत्रस्थिर रहेको बताए । उदारवादी अर्थनीतिलाई तदारुकताकासाथ कार्यान्वयन गर्नुपर्ने र बजारमुखी तथा निजी क्षेत्रमैत्री अर्थबजारको सिर्जना गर्नुपर्नेमा उनीहरुको जोड छ ।
एकीकृत विकास आर्थिक समृद्धिको मेरुदण्ड भएकाले उदारवाद र निजी क्षेत्रसँगको समन्वयबाट मात्रै मुलुकको समग्र अर्थतन्त्र बलियो हुने भन्दै उनीहरुले राजनीतिक र कर्मचारीतन्त्र माथिको ठाडो हस्तक्षेपबाट पनि अर्थतन्त्र प्रभावित भएको बताए ।
पूर्व मुख्यसचिव विमल कोइरालाले राजनीतिक अस्थिरताले अहिलेको अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पारिरहेको टिप्पणी गरे । उनले राजनीतिक दलहरुमा इमान्दार भावना, निष्ठा र मुलुकप्रतिको आस्था नबढेसम्म मुलुकको अर्थतन्त्रमा सुधार आउन नसक्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकारले राजनीतिक नेतृत्वले आफू अनुकूलका कर्मचारीलाई मात्रै काखी चेप्ने प्रवृत्तिको विकास गरेर कर्मचारीमाथि हस्तक्षेप गरेपछि स्थिर अर्थतन्त्रमा प्रभाव परेको बताए । उनले निजी क्षेत्रमाथिको हेय र अपराधी दृष्टिकोण परिवर्तन नहुँदा सम्म आर्थिक क्षेत्रमा विकास हुन नसक्ने बताए ।

प्रतिक्रिया