गुपचुपमा सेयर किनबेच

काठमाडौं, २६ असार । निजी क्षेत्रका दुईवटा दूरसञ्चार कम्पनीले नियामक निकायलाई जानकारी नै नगराई सेयर किनबेच गरेका छन् । एनसेल र नेपाल स्याटलाइट टेलिकम (हेल्लो नेपाल) ले दूरसञ्चार प्राधिकरणलाई जानकारी नगराई सेयर किनबेच गरेका हुन् ।
गत चैत अन्तिम साता फिनल्यान्डको दूरसञ्चार प्रदायक कम्पनी टेलियासोनेराले हेलो नेपालको सेयर किनेको थियो । तर, यसको औपचारिक जानकारी अहिलेसम्म सम्बन्धित कम्पनीले प्राधिकरणलाई गराएका छैनन् । ‘सेयर किनबेचको औपचारिक जानकारी प्राधिकरणलाई छैन,’ प्राधिकरण सञ्चालक समिति सदस्य गिरेन्द्र अधिकारीले भने । यसबारे कम्पनी रजिस्ट्रारको कार्यालयसँग पनि जानकारी मागिएको तर कुनै जानकारी प्राप्त नभएको उनले बताए ।
सेवाप्रदायकको सेयर कारोबार पारदर्शी हुनुपर्छ भन्नेमा प्राधिकरणको जोड रहेको अधिकारीको भनाइ छ । ‘सबै कारोबार पारदर्शी हुनुपर्छ, मोनोपोली नहोस् भन्नेमा पनि हामी सचेत छौँ,’ उनले भने । विदेशमा सेयर कारोबार हुनु आपत्तिजनक भएको उनको भनाइ छ । एनसेल र हेलो नेपालको सेयर कारोबार विदेशमा भएको बताइएको छ । ‘ऐनमा भएका छिद्र समातेर विभिन्न कारोबार भइरहेका छन्, ऐनमा नै संशोधन गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।
टेलियासोनेराले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदनअनुसार उसले हेलो नेपालको विदेशी साझेदार साइप्रसको होल्डिङ कम्पनी एअरबेल सर्भिस लिमिटेडको ५१ प्रतिशत सेयर किनेको छ । हेलो नेपालमा एअरबेलको ५० प्रतिशत सेयर छ । कम्पनीमा बाँकी सेयर एकीकृत नेकपा (माओवादी) निकट व्यापारी अजय सुमार्गीको रहेको बताइएको छ ।
एनसेलले आधा सेयर किनेसँगै हेल्लो नेपालले आफ्ना सबैजसो कर्मचारीलाई अनिवार्य अवकाश दिएको छ । स्रोतका अनुसार एनसेलले आफ्नो ५० प्रतिशत सेयर भएको नेपाल स्याटलाइट कम्पनीको सम्पूर्ण जिम्मा लिइसकेको छ । नेपाल स्याटलाइटको सबै काम अहिले एनसेलकै हेडक्वार्टर रहेको कृष्णटावरबाट हुने गरेको बताइएको छ । नेपाल स्याटलाइटमा अहिले कार्यकारी प्रमुखका रूपमा एकजना मात्रै कर्मचारी कार्यरत छन् । अरू सबै कर्मचारीलाई दुई महिनाअघि नै घर पठाइएको थियो । कम्पनी घाटामा गएको भन्दै व्यवस्थापनले कर्मचारीलाई ‘गोल्डेन ह्यान्डसेक’ को अफर गरेको बताएको छ ।
टेलियासोनेराको प्रतिवेदनअनुसार नेपाल स्याटलाइटमा अब उसको १७ करोड ४० लाख स्विडिस क्रोनर लगानी हुनेछ । यो करिब दुई अर्ब १२ करोड १० लाख नेपाली रुपियाँ हो । सेयर किनबेचबारे कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत जानकारी नभएको बताइएको छ । कुनै पनि कम्पनीले सेयर किनबेच गर्दा कम्पनी रजिस्ट्रार कार्यालयमा आवेदन दिएर स्विकृति लिनुपर्छ ।
नेपाल स्याटलाइटले एकीकृत माओवादीका नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा सन् २००८ मा ग्रामीण दूरसञ्चार सेवा प्रदायक कम्पनीका रूपमा अनुमति पाएको थियो । यसले मध्यपश्चिमका सबै जिल्लामा दूरसञ्चार सेवा प्रदान गरिरहेको छ । मध्यमश्चिमाञ्चल क्षेत्रमा हेलो नेपाल दूरसञ्चार सेवा विस्तार गरेको नेपाल स्याटलाइट टेलिकम सुरुमा मेरो मोबाइल कम्पनीको सिम बिक्रीका लागि स्थापित आधिकारिक कम्पनी थियो । तत्कालीन समयमा स्पाइस सेल नेपालका प्रबन्ध निर्देशक रहेका अजय सुमार्गीले पत्नी सम्झना अर्याल अर्थात् अस्मिता सुमार्गीका नाममा नेपाल स्याटलाइट टेलिकम स्थापना गरेर देशभर मेरो मोबाइलको सिम वितरणको जिम्मा दिएका थिए । पछि स्पाइस सेलबाट अलग भएका सुमार्गीले यही कम्पनीमार्फत पश्चिम नेपालमा हेलो नेपाल ब्रान्डको सेवा सुरु गर्न अनुमति लिएका हुन् ।
दूरसञ्चार कम्पनीहरूको स्वामित्व अपारदर्शी भएको भन्दै गत वर्ष साउनमा व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको फ्रिक्वेन्सी छानबिन उपसमितिले दूरसञ्चार सेवाप्रदायकको स्वामित्व प्रस्ट पार्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । सेवाप्रदायक कम्पनीका लगानीकर्ता को–को हुन्, कसको कति सेयर छ, कति सदस्य छन् लगायतका सम्पूर्ण विवरण दिन उपसमितिले भनेको थियो ।

प्रतिक्रिया