बेनाम आमाको जीवन कटाउने मेलो

एक घन्टाको भलाकुसारीपछि फेरि उनलाई सोधेँ, ‘आमा † साँच्चै नाम थाहा छैन ?’ उनको अघिल्लै जवाफ पुनरावृत्ति भयो, ‘हो बाबु, सत्ते, थाहा छैन ।’ मैले जिद्दी गरेँ, ‘को भनेर चिनाउनु त आमा, तपाइँलाई ?’ उनले सजिलै भनिन्, ‘के हुने हो म बुढीलाई चिनाएर ? भन्दिनु नि सीता, पार्वती ।’
काठमाडौंको गौशाला चोकदेखि पूर्वपट्टि । प्रहरीचौकी परिसरसँगै जोडिएको पर्खाल । त्यसैको पेटीमा टुसुक्क बसेकी एक बुजु्रक महिला । उनको कथा जान्न भित्रैदेखि उत्सुकता जाग्यो । एकछिन ठिङ्ग उभिएँ । के भनूँभनूँ भयो । दुई रुपियाँ डबल गोजीबाट निकालेर ‘स्विटसुपारी’ मागेँ । कुरा गर्ने मेलो त्यसैले जुरायो ।
ती बुजु्रक महिलाले नाङ्लामा व्यापार गर्न थालेको मात्रै झन्डै दुई दशक भइसकेको रहेछ । बायाँ हातको माझीऔँलामा चोटलागेपछि दुई वर्ष व्यापार नछाडेको भए डक्कै २० वर्ष हुने थियो रे, नाङ्लाको व्यापार थालेको । ‘कुनै समय हराभरा बगैंचाजस्तो’ काठमाडौं देखेकी उनलाई अहिलेको धुवाँ, धुलो र घरैघरको पहाड देख्दा भने खुब अत्यास लाग्दोरहेछ । आफ्नै अगाडि लर्को लागेर ओइरिने गाडीहरूका विषयमा उनको छोटो टिप्पणी छ, ‘केटाकेटीका अगाडि खेलौना दगुरेझैं लाग्छ ।’
सबैले ‘आमा’ भनेर पुकार्ने उनलाई आफ्नै नाम थाहा नहुनुको कारण रहेछ– बालविवाह । उनी ७ वर्षकै हुँदा बाबुआमाले विवाह गरिदिएछन् । ‘पढेलेखेकी छैन, जन्मथलो पनि कहाँ हो, केही थाहा छैन बा’, भनिन्, ‘विवाह भएदेखि भक्तपुरमा आएर बसेँ, १९ वर्ष नहुँदै श्रीमान् बित्नुभयो, त्यसयता एक्लै छु ।’ खानलाउन नपुगेर उनले नाङ्ले व्यापार थालेकी भने होइन रहिछन् । बुबाको अनुहारसम्म नदेखेकी उनले श्रीमान्–श्रीमतीको सम्बन्ध पनि बुझ्न नपाउँदै पति गुमाउनुपर्‍यो । उनले भनिन्, ‘आयु नपुगी जान नपाइने रै’छ, बसिबियालो गर्न र मन भुलाउन यो पेसा गरेकी हुँ ।’
१९ वर्षको कलकलाउँदो उमेरमा श्रीमान्को निधन भएपछि उनलाई समाजमा बसी नसक्नु भएछ । ‘कतिले अर्को विवाह गर् भने, कसैले अनेक उपाए सिकाए,’ उनले सम्झिइन्, ‘म धर्म छोडेर बरालिन सकिनँ ।’ त्यसपछि केही वर्ष घरबारी सम्हाले पनि श्रीमान् र सन्तानविनाको घर गरीखान उनलाई जाँगर चलेनछ । त्यस्तैमा धेरै वर्ष बितेछन् उनका । ‘म उदसिएको देखेर मेरा छिमेकी यहाँका (गौशाला प्रहरी चौकीका) इनस्पेक्टरले प्रहरी चौकी अगाडि व्यापार गर्न भनेँ,’ उनले भनिन्, ‘त्यसपछि म दिनभरि यही पेटीमा व्यापार गर्छु, राति चौकीमै सुत्न जान्छु ।’
गौशाला प्रहरी चौकीमा आउने हरेक तहका प्रहरीले उनलाई ‘आमालाई जस्तै व्यवहार’ गर्ने परम्परा बसिसकेछ । भनिन्, ‘सबैले ‘आमा’ भन्छन्, सन्चोबिसन्चो सोध्छन् ।’ तर, उनले खानलाउनकै दु:खले यो पेसा अपनाएकी भने होइन रहिछन् । ‘मेरा आफ्ना, आफन्त हुनेखाने छन् । उनीहरूले जे मन लाग्छ त्यो खानु भनेर दिएको पैसा नै मलाई धेरै हुन्छ ।’ मन भुलाउन मात्रै यो पेसा गरे पनि राम्रो आम्दानी हुने गरेको उनको अनुभव छ ।
सानै उमेरमा श्रीमान् नबितेका भए आज यो अवस्था आउँदै नआउने र आए पनि परिवार मज्जैले पाल्न सकिने सम्भावना देखेकी यी बुजु्रक आमाको मन ‘गति छाडेर हिँड्ने’ छोरी–नातिनी उमेरका ठिटीहरूदेखि भने बिरक्त हुँदो रहेछ । ‘के गर्नु बा † मति बिग्रिएपछि यस्तै हो, हाम्रो जमानामा कसैसँग लामो बाटो सँगै हिँडे पनि तीन गाउँ पर नराम्रो हल्ला पुग्थ्यो, अचेल त एउटैले तीन गाउँका ठिटा समेटेर हिँड्न थाले ।’ अरूका सन्तान बिग्रिएकामा किन यति धेरै चिन्ता त ? आमैले भनिन्, ‘घर, समाज, गाउँ बिग्रियो भने देश बिग्रिन्छ, तिमीजस्तालाई देशको चिन्ता हुनुपर्छ ।’
थोत्रो/झुत्रो पहिरनभित्र सफा मन लिएर बसेकी ती बुजु्रक आमाको सत्चरित्रलाई लिएर उनलाई चिन्नेजतिले ‘भगवान् आमा’ भन्दारहेछन् । किन त ? ‘हाम्रो जमानामा खान–लाउन नपुगे पनि हामी गति र मति नछाडेर बाँच्यौँ, अहिले त मोजमजाका लागि गति छोडेको देखिन्छ,’ उनले भनिन्, ‘त्यही भएर होला नि ?’
सडकपेटीमा बसेर पानमसला, सुपारी र चुरोट मात्रै बेच्छिन् होला भन्ने मेरो भ्रम त्यतिखेर फुस्सा भएर उड्यो जब उनले मुलुकको राजनीतिबारे आफ्नै शैलीको सटिक विश्लेषण गरिन्, ‘चप्पल लगाएर भित्र (सिंंहदरबार) पस्ने, गाडी चढेर निस्कनेले बिगारेको हो बा देशको अनुहार ।’ नामै थाहा नभए पनि जीवनको सत्य राम्ररी बुझेकी ती ‘अनाम आमा’लाई मनमनै सलाम गरेँ र सडक नाँघेँ । वारिपट्टि पुगेर फर्किएर हेर्दा उनी आँखा नहटाई मतिर एकोहोरो हेरिरहेकी थिइन् । उनले ‘नाम सम्झेँ’ भनेर बोलाइनन् । एकैछिनमा चावहिलबाट हुइँकिएर आएको बडेमानको ट्रक जामका कारण हामीबीच पर्दा बनेर उभियो । मनमनै सोचेँ, ‘साँच्चै यी आमालाई नामै थाहा रहेनछ ।’

प्रतिक्रिया