‘अर्काकी श्रीमती लिएर’ दाहालपुत्र फरार

काठमाडौं, २५ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश र सरस्वती बहुमुखी क्याम्पसकी स्ववियु सभापति बीना मगर एकैपटक सम्पर्कविहीन भएका छन् । पाँच दिनदेखि पार्टी र परिवारको सम्पर्कमा नरहेका उनीहरू भारतमा रहेको चर्चा छ ।

केही दिनअघि एउटै टोलीमा रहेर सगरमाथा आरोहण गर्दा यो जोडी आपसमा नजिकिएको थियो । उनीहरूको सम्बन्धबारे भइरहेका टीका–टिप्पणीलाई दुवैले अस्वीकार गर्दै आएका थिए ।
प्रकाश २१ असारदेखि सम्पर्कविहीन भएको प्रचण्डका निजी सचिव समीर दाहालले बताए । ‘सगरमाथा आरोहण गरेको टिमसित घुम्न जान्छु भनेर बाहिर गए, कहाँ गए हामीलाई पनि थाहा छैन,’ समीरले भने, ‘शेर्पाहरूसहित जान्छौँ भनेर निस्किएपछि २१ गतेदेखि सम्पर्क भएको छैन ।’ स्ववियु सभापति बीना मगरसँगै भागेको हल्ला आएपछि सम्पर्क गर्ने प्रयासमा रहेको समीरले बताए ।
घरमा सगरमाथा आरोहण टोलीसित घुम्न जाने बताए पनि सो टोली कतै नगएको पुष्टि भएको छ । आरोहण दलका टोली नेता कृष्ण केसीले भने, ‘हामी कहीँ पनि घुम्न गएका छैनौँ ।’
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले वास्तविकता बुझ्ने प्रयास गरिरहेको बताए । उनले २० असारमा बीनासँग टेलिफोनमा सम्पर्क भएको र त्यतिबेला संगठनको बैठकबारे जिज्ञासा राखेको जानकारी दिए । ‘२० गतेपछि कुनै सम्पर्क भएको छैन,’ शर्माले भने, ‘बीनाको घरमा बुझ्दा सम्पर्कमा नरहेको पाइयो ।’
विवाह गरेको हल्ला पुष्टि भएमा कारबाही हुने शर्माको भनाइ छ । ‘सांस्कृतिक विचलन हुने भएकाले अनुशासनको कारबाही हुन्छ,’
उनले भने ।

प्रचण्डपुत्र प्रकाश दाहाल
पहिलो विवाह : प्रभा बोगटीसँग ०६२ फागुन १२ गते
सम्बन्धविच्छेद : ०६४ जेठ २२
दोस्रो विवाह : सिर्जना त्रिपाठीसँग ०६४ माघ ३ गते
०६६ मंसिरको पहिलो साता छोराका बाबु
तेस्रो विवाह : बीना मगरसँग ०६९ असार २१
कञ्चनपुरकी बीना सुर्खेतका शंकर अधिकारीकी पत्नी हुन् । शंकर पनि माओवादीका पूर्णकालीन कार्यकर्ता हुन् । माओवादीमा आएको विभाजनपछि बीना एमाओवादी र शंकर नेकपा–माओवादीतिर लागेका छन् ।
यता, प्रकाशले भने पहिल्यै दुईवटा विवाह गरिसकेका छन् । उनको पहिलो बिहे माओवादीकै नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभासित भएको थियो । ०६२ साल फागुनमा बिहे गरेका उनीहरूले ०६४ साल जेठमा सम्बन्धविच्छेद गरेका थिए । प्रकाशले दोस्रो बिहे पोखराकी सिर्जनासित भएको थियो । सिर्जनाले ०६६ मंसिरमा छोरा जन्माएकी थिइन् ।
शान्ति र संविधानका लागि भन्दै सगरमाथा आरोहण गर्न जाने क्रममा प्रकाश र बीना आत्तिजनक क्रियाकलापमा संलग्न रहेको खबर जनआस्था साप्ताहिकले गत ३१ जेठमा प्रकाशन गरेको थियो । आºनोविरुद्ध भ्रामक समाचार छापेको भन्दै बीनाले काठमाडौं जिल्ला अदालतमा बेइज्जती मुद्दा दायर गरेकी छन् ।
‘समाचारका कारण पारिवारिक विचलन आई परिवार तथा समाजमा बस्ने र बाँच्न सक्ने वातावरणसमेत बिग्री मानसिक तनाव उत्पन्न भएकाले उचित क्षतिपूर्तिसमेत दिलाइ–भराई न्याय पाऊँ’ उनले मुद्दामा भनेकी छन् । मुद्दामा सगरमाथा आरोहण टोलीमा संलग्न कृष्ण केसी, युवराज दुलाल, सरल सहयात्री पौडेल, शिव डाँगी, काजी शेर्पालगायतलाई साक्षी बनाइएको छ ।
हाल प्रकाश र बीना दुवैको मोबाइल स्वीच अफ छ भने दुवैले आफ्नो फेसबुक एकाउन्ट पनि बन्द गरेका छन् ।

माओवादीबाट निलम्बित
काठमाडौं : एमाओवादीले अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशलाई नेवा: राज्यसमितिको सदस्य पदबाट निलम्बन गरेको छ । पार्टी मुख्यालय कोटेश्वरमा सोमबार बसेको एमाओवादीको पोलिटब्युरो बैठकले प्रकाशलाई लागेका आक्षेपका विषयमा छानबिन गर्न सजिलो होस भनेर सदस्य पदबाट निलम्बन गरिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
उनले भने, ‘पत्रपत्रिकामा प्रकाश दाहालका सम्बन्धमा आएका समाचार तथा उनका विषयमा छानबिन र अनुसन्धन गर्न सजिलो होस् भनेर सदस्य पदबाट निलम्बन गरेका छौँ ।’ प्रकाश दाहाल र बीना मगरबीचको प्रेम सम्बन्धका कारण उनीहरू पारिवारिक सम्पर्कभन्दा बाहिर रहेका समाचार प्रकाशन भएपछि एमाओवादीले प्रकाशलाई निलम्बन गरेको हो । बैठकमा अध्यक्ष दाहालले नै आºना पुत्र प्रकाशलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
‘तपार्इंहरूलाई भन्न गाह्रो पनि लाग्ला तर हेडक्वार्टरमा बस्ने कुनै कार्यकर्ताबारे अनेकथरी कुरा बाहिर आउनु पार्टीका लागि राम्रो होइन, छानबिन हुन्जेलसम्म प्रकाशलाई राज्यसमिति सदस्यबाट निलम्बन गर्नुपर्छ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता शर्माले सौर्यसँग भने । पार्टीले छानबिन गरेपछि प्रकाश निर्दोष पुष्टि भए कारबाही फुकुवा हुने शर्माले बताए ।
बैठकमा निकै भावुक रूपमा प्रस्तुत भएका दाहालले छोराको व्यवहारबाट सबैभन्दा घाटा आफूलाई भएको दुखेसो गरेका थिए । बीनासितको सम्बन्धबारे पत्रिकामा आएपछि आफू र पत्नी सीताले सोधपुछ गर्दा रोएर टारेको प्रचण्डको भनाइ थियो । ‘पाँच दिनअघि निकै तनाव भयो बुबा नगरकोटतिर जान्छु भनेर हिँडेको हो,’ स्रोतका अनुसार दाहालले बैठकमा भनेका थिए, ‘तर समिरलाई फोन गरेर कसैलाई खुसी पार्न सकिनँ, अब बाहिरै श्रम गरेर बस्छु भनेछ ।’

बीनासँग हिमाल चढ्दा बबाल
(जनआस्था साप्ताहिकले गत ३१ जेठमा प्रकाशन गरेको समाचार जस्ताको तस्तै)
काठमाडौं । अन्तिममा राज्यकोषबाट प्राप्त अनुदान त्यागेर शान्तियात्राका लागि सगरमाथा उक्लेका प्रचण्डपुत्र प्रकाशसहितको टोली काठमाडौं फर्किसकेको छ । तर, ‘राम्रो’ का लागि सर्वोच्च शिखर आरोहणमा निस्किएका प्रकाशले मन थाम्न नसक्दा टोलीभित्रै खैलाबैला मच्चिएको छ ।
सगरमाथा आरोहणपूर्व अभ्यासका क्रममा रसुवाको एलापिक हिमाल जाँदैमा प्रचण्डपुत्र प्रकाश र सरस्वती क्याम्पसकी स्ववियु सभापति बीना मगरबीच सम्बन्ध झांगिएको थियो । यही सम्बन्ध सर्वोच्च शिखर आरोहण दलका सदस्यका लागि निकै टाउको दुखाइको विषय बन्न पुग्यो । पुगेको एक सातामै नाम्चे बजारको लजमै प्रकाश र बीना यति व्यस्त भए कि यी दुईले आरोहण दलका अन्य सहकर्मीलाई उति समय दिनै भ्याएनन् । आरोहण दलका एक सदस्यले बताएअनुसार आधारशिविर नपुग्दै दिङबोचेमा यिनीहरूले देखाएको चर्तिकला हेर्न नसकेर नदेखेझैँ गर्नुपरेको थियो । जब उनीहरू अन्य सहकर्मीसँगै चौथो शिविर पुगे, झनै अचाक्ली भयो । युद्धकालदेखि केही समयअघिसम्म मात्रै प्रचण्डको बडिगार्डका रूपमा खटिएका शरदले जब प्रकाश र बीनालाई चौथो शिविरको टेन्टभित्र आफैँले अप्ठ्यारो अवस्थामा भेट्टाए, त्यहीबेला उनले चेतावनी पनि दिए ।
तर, त्यो घनिष्टता कुनै चेतावनीका सामु झुक्ने कुरै थिएन । अति भएपछि शरद, कृष्ण केसी र जनमुक्ति सेनाका ब्रिगेड कमान्डर सरल सहयात्रीले प्रकाशलाई सम्झाए । तर, त्यो सम्झाइको पनि कुनै काम लागेन । दोस्रो शिविर उक्लिनुअघिको रात बीना बिरामीको निहँुमा बाटो देखाउन गएका सहयोगी (शेर्पा)सागै पालमा पसिन् । त्यो बसाइ भने कुनै अनुचित प्रकारको नभएर महिला र पुरुष हार्दिकतासाथ पुरुष–पुरुष वा महिला–महिला कम्युनमा बसेजस्तो बस्न सक्छन् भन्ने सन्देश दिनेखालको थियो । तर, चौथो शिविर उक्लिएपछि ती शेर्पा बीनाको साथबाट हटाइए । बीनासँगै गएकी ईशु भट्ट स्वास्थ्यले साथ नदिएका कारण तीन–चार रात बीनासँगै बिताएर फर्किइन् । अनि, खाली भएको बीनाको टेन्टमा प्रकाशलाई निम्त्याउन सुरु भयो । कहिले बीनाकहाँ, कहिले प्रकाशकहाँ यी दुईको आवत–जावत बढी नै हुन थालेपछि शरद, सरल र कृष्णले दुवैलाई राखेर ठाउँको ठाउँमै ‘वार्निङ’ दिए । तर, दुवैले ‘हैन–हैन, कहाँ त्यस्तो हुनु ?’ भन्दै कुरा टारे ।
यसबारे वास्तविकता बुझ्न आरोहण दलका सदस्य शिव डाँगीलाई जनआस्थाले फोन गर्दा उनले सुरुमा ‘एकछिनपछि भन्छु’ भने । तर, त्यसपछिका फोन उठाएनन् । बरु, प्रकाशलाई रिपोर्टिङ गरिभ्याएछन् र प्रकाशले फोन गरेर भने, ‘दाइ, शिव डाँगीलाई केही सोध्नुभएको थियो रे † त्यस्तो केही पनि होइन दाइ † नछापिदिनुस् है †’

प्रतिक्रिया