गोर्खा भर्तीको नालीबेली पुस्तकमा

काठमाडौं : ब्रिटिस सेनामा भर्ती भएका गोर्खा सैनिकहरूको विषय समेटेर साहित्यकार झलक सुवेदीले लेखेको पुस्तक ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा : गोर्खा भर्तीकेन्द्रको नालीबेली’ सार्वजनिक भएको छ ।
हिमाल किताबद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले पुस्तक लोकार्पण गरे । उपकुलपति काइँलाले गोर्खा सेनाबारे यतिसम्म मिहिन शैलीमा लेखिएको पुस्तक यो नै पहिलो भएको चर्चा गरे । भने– ‘यो अहिलेसम्म नलेखिएको तर लेखिनुपर्ने, नपढिएको तर पढिनै पर्ने पुस्तक हो ।’
पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै इतिहासविद् एवम् लेखक प्रत्युष वन्तले उक्त पुस्तक ब्रिटिस गोर्खाबारेको इतिहासको पुनव्र्याख्या रहेको बताए । भने– ‘अहिलेसम्म ब्रिटिस गोर्खाबारे पश्चिमाहरूको एंगलबाट मात्रै विश्लेषण हुँदै आएको थियो, यसपालि ती सैनिक नेपालीहरूको पीडा एउटा नेपालीले नै लेखेको छ । नेपाली आँखाबाट उनीहरूलाई हेरेको छ । यो आफैँमा एउटा पपुलर हिस्ट्री हो ।’
मानवशास्त्री डम्बर चेम्जोङले गोर्खा भर्तीबारे नेपाली समाजलाई अत्यधिक प्रभाव पार्ने पुस्तक यो नै पहिलो रहेको चर्चा गर्दै यसबाट गोर्खा भर्तीबारेको सम्पूर्ण नालीबेली बुझ्न सकिने बताए । भने– ‘यसमा एउटा व्यक्तिको कथाबाट पसेर ब्रिटिस गोर्खासँगै विश्वविचरण गरिएको छ । पुस्तक ब्रिटिस गोर्खा भर्तीको सामाजिक इतिहास पनि हो । ’
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का महासचिव महेन्द्रलाल राईले अहिलेसम्म केही नेपाली लेखकले ब्रिटिस गोर्खाबारे पुस्तक लेखे पनि उनीहरूको इतिहासलाई यति विस्तृत रूपमा प्रस्तुत गर्ने पुस्तक यही नै रहेको देखेका छन् । ‘यसअघिका पुस्तकले यसरी लाखौं जनसंख्यामा प्रभाव पार्ने गरी आफूलाई प्रस्तुत गर्न सकेका देखिएनन्, तर यो पुस्तकले गोर्खाहरूको पीडालाई नयाँ ढंगले विश्लेषण गरेको छ ।
पुस्तकले गेसोका सभापति पदमबहादुर गुरुङको जीवनसंघर्षबाट छिरेर ब्रिटिस गोर्खाबारेका सम्पूर्ण इतिहासको विश्लेषण गरेको छ । कार्यक्रममा गेसोका सभापति गुरुङले पुस्तकको सफलताको कामना गर्दै बेलायतबाट पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा लेखक वसन्त थापाले पनि आफ्नो धारणा राखेका थिए । (सौस)

प्रतिक्रिया