“पैसाविरोधी” गायक

काठमाडौँ, २५ असार । नेपाली गायनक्षेत्रमा फरक पहिचान बनाइसके, दिनेश गौतमले । उनको पैसा कसले बनायो गीतले गतिलैसँग बजार पिट्यो । उनको साहित्यिक नामचाहिँ पुस्तकप्रसाद हो । अहिले उनी नेपाली दर्शक–श्रोताबीच ‘पैसा गायक’ का रूपमा चिनिन थालेका छन् । कारण– उनका एल्बममा पैसाका कारण ह्रास हुँदै गएको मानवीय संवेदना र पैसाका लागि मानिसले अपनाउने कमसल प्रवृत्तिविरुद्धका शब्दहरू समेटिएका देखिन्छन् । यस्तै गीतमार्फत दर्शक–श्रोतालाई मनोरञ्जन त गराएकै छन्, सन्देश पनि दिएका छन् । सन्देश प्रवाहको आधार पैसालाई बनाएका छन् । जीवनमा पैसाको आवश्यकता र त्यसका लागि आफूले भोग्नुपरेका संघर्ष र दु:ख सम्झेर मानिस एकपटक आफ्नै नियति सम्झेर टोलाउन पुग्छ, उनका गीत सुनेपछि । दृष्टान्तहरूले प्रस्ट्याउँछन्, पैसाका लागि केसम्म गर्दैन मान्छे † यस्तै भन्छ उनको एउटा लोकप्रिय गीतले :

इमान बेचिदिन्छ मान्छे,
आफ्नै ज्यान बेचिदिन्छ मान्छे
खोजी हिँड्दा भेट्ने भए
भगवान् बेचिदिन्छ मान्छे †
यो मात्र होइन, गौतमले गाएको अनि लेखेको पैसा भन्ने चिज कसले बनायो पनि उत्तिकै लोकप्रिय छ, श्रोतामाझ । यिनको आवाजले पैसाका लागि अपनाइने दुष्प्रवृत्तिविरुद्ध कुनै अदृश्य शक्तिलाई पुकारा गरिरहेको भान हुन्छ, गीत सुन्दा । अनि उनलाई एउटा कम्प्लिट गायकको परिचय दिलाउँछ । भन्छन्, ‘मलाई गायकका रूपमा चिनाउने गीत पनि यही नै हो ।’ त्यसैले हिजोआज दर्शकश्रोताले माया गरेर छुट्टै नाम दिएका छन्, ‘पैसा गायक’ । यसलाई आफ्नो सफलता सम्झन्छन् उनी । ‘हरेक क्षेत्रमा फरक पहिचान हुनुपर्छ’, गौतम भन्छन्, ‘मैले गीतमा पैसाको विषयलाई समातेको छु ।’ पैसाकै कारण समाजमा अनेक विकृति तथा विसंगति बढिरहेको यथार्थले मनको कुनो दुखाएपछि ‘एन्टी पैसा’ बनेका गौतम भन्छन्, ‘दुनियाँमा पैसा भन्ने चिज नभए सायद मान्छेमान्छेबीचको दूरी बढ्दैनथ्यो होला । युद्ध पनि हुँदैनथ्यो होला । कति प्रेमसम्बन्धहरू पैसाकै कारण सुखद दाम्पत्यमा पुग्नुअगावै चुँडिएका छन् ।’
२०६० सालमा निष्ठुरी नामक एल्बम ल्याएर गायनक्षेत्रमा प्रवेश गरेका गौतम भन्छन्, ‘पैसा मेरो गायनको थिम नै हो ।’ हालै मात्र उनले ‘रुपैयाँ’ नामक एल्बम ल्याएका छन् । गौतमको यसअघि पैसा नामक एल्बम बजारमा आएको थियो ।
पैसा नै सबैथोक होइन भन्ने सन्देश दिनका लागि गीतमार्फत ‘पैसा’ को विषयलाई उठान गरेको उनले सुनाए । भने– ‘पैसाभन्दा ठूलो कुरा भनेको देश, समाज र स्वाभिमान हो, तर आजभोलि मान्छेहरू इज्जत, इमान सबै बेच्न थालेका छन् । यही प्रवृत्तिले पिरोलेपछि गीत गाएको हुँ ।’
त्यसो त गौतम सधैं ‘एन्टी पैसा’ गीत मात्र गाउँदैनन्, माया–प्रेम र सद्भाव पनि गाउँछन् । उनी गायक मात्र होइनन्, कुशल संगीतकार पनि हुन् । गीत एवम् गजलकार शीतल कादम्बिनीको शीतल एल्बमका सम्पूर्ण गीतमा उनैले संगीत दिएका छन् । अनि त्यही एल्बममार्फत भारतीय गायकहरू सान र राजा हसनले पनि उनको संगीतमा स्वर दिएका छन् । सो एल्बमका दुई गीत उनी आफंैले पनि गाएका छन्, जवानी छ बाँकी र मान्छे थिएँ  । २०५७ सालदेखि नै संगीतक्षेत्रमा प्रवेश गरेका गौतमले यो क्षेत्रमा व्यावसायिक किसिमले लाग्नुअघि सांगीतिक प्रशिक्षणका लामै अध्याय पूरा गरेका छन् । भन्छन्, ‘सात वर्षभन्दा बढी प्रशिक्षण लिएर यस क्षेत्रमा लागेको हँु, संगीतमा साधना अति आवश्यक छ ।’ उनी भन्छन्, ‘कलाकारिता भनेको पैसा कमाउनु मात्र होइन, समाजको लागि केही गर्नु पनि हो । त्यसैले म आफ्नो गायन पेसाबाट सन्तुष्ट छु ।’

प्रतिक्रिया