‘रसेल नै दोषी’

एजेन्सी : बिहे गरेको छोटो अवधिमै दाम्पत्य सम्बन्धसँग बिरक्तिनु नियमजस्तै बनेको छ हलिउड सेलिब्रिटीहरूलाई । एउटै जीवनसाथीसँग पूरै जीवन बिताउने सेलिब्रिटी पाउनै मुस्किल छ । यस्तै रोगबाट गुज्रिएका थिए हलिउड कलाकारहरू केटी पेरी र रसेल ब्रान्ड पनि । गत डिसेम्बर महिनामा पेरीले रसेलसँग पारपाचुकेका लागि अदालतमा निवेदन दर्ता गराएकी थिइन् ।
हाल आएर केटीले पारपाचुके गर्नुपर्नाको कारण खोलेकी छन् । उनले पति रसेलको व्यवहारकै कारण आफू उनलाई छोड्न बाध्य भएको बताइन् । आफ्नो संगीतयात्रामा रसेलले आउन नमानेका कारण उनलाई छोड्ने निर्णय गरेको उनले एजेन्सीलाई बताइन् । भनिन्– ‘संगीतयात्राले मेरा लागि हरहमेसा विशेष महत्त्व राख्छ, मैले मेरा प्रशंसकको मनोरञ्जनको इच्छालाई बेवास्ता गर्न मिल्दैन, आज म जे छु उनीहरूकै कारणले हो ।’
उनीहरूको सम्बन्ध टुट्नुको अर्को कारण सन्तानोत्पादनबारेको असमझदारी पनि हुन सक्ने अनुमान गरिएको छ । एजेन्सीले बताएअनुसार ब्रान्ड बाबु बन्न चाहन्थे तर पेरी यसका लागि तयार थिइनन् । २७ वर्षीया केटीले आफ्नो करियरले विश्राम लिने बेलाभन्दा अगाडि आफू आमा बन्दै नबन्ने अडान राख्दै आएकी थिइन् ।

प्रतिक्रिया