बाह्य आक्रमणविरुद्ध सैन्य अभ्यास

दमास्कस, २५ असार । सिरियाली सेनाका केही उच्चपदस्थ अधिकारी मुलुकमा द्वन्द्व गहिरिँदै गएपछि विदेश पलायन हुन थालेको सार्वजनिक भइरहेका बेला सिरियाली सेनाले शक्ति प्रदर्शन गरेको छ । उच्चपदस्थ सैन्य अधिकारीहरूको पलायनले राष्ट्रपति बासर अल असदलाई ठूलो धक्का पुगेको विश्लेषण भइरहेका बेला बाह्य आक्रमणबाट मुलुकलाई जोगाउन भन्दै सिरियाली सेनाले आइतबार बृहत् सैन्य अभ्यास गरेको सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ ।
अरब लिग, अमेरिका र युरोपेली संघसँग आबद्ध राष्ट्रहरूबाट सिरियामाथि सैन्य हमला गर्नुपर्ने आवाज उठिरहेका बेला सिरियाले बृहत् सैन्य अभ्यास गरेको हो । सैन्य अभ्यासमार्फत सिरियाले आक्रमण नगर्न बाह्य जगत्लाई चेतावनी दिन खोजेको विश्लेषकहरूको भनाइ छ ।
आइतबार सिरियाको नौसैनिकले समुद्रमार्फत सिरियामाथि आक्रमण भए प्रतिरोध गर्ने तरिकासम्बन्धी अभ्यास गरेको सानाले जनाएको छ । आगामी केही दिनसम्म जारी रहने सैन्य अभ्यासमा हवाई तथा स्थल सेनासमेतले बाह्य आक्रमणनिरोधक अभ्यास गर्नेछ । अभ्यासका क्रममा युद्धपोत र सवारी साधनबाट क्षेप्यास्त्र प्रहार गरिएको भिडियो फुटेज सरकारी टेलिभिजन च्यानलले देखाएका छन् ।
सिरियामा सन् ०११ को मार्चदेखि सुरु भएको सरकारविरोधी आन्दोलनका क्रममा अहिलेसम्म करिब १५ हजारको ज्यान गइसकेको छ । प्रतिपक्षीले राष्ट्रपति बासर अल असदको राजीनामा माग गर्दै आएका छन् । तर, असदले भने विदेशीले मुलुकमा द्वन्द्व चर्काएको भन्दै विदेशी दबाबसामु लत्रिएर राजीनामा नदिने अडान लिँदै आएका छन् । अरब लिग र पश्चिमी राष्ट्रहरूले राष्ट्रपति असदले सत्ता टिकाउन नरसंहार मच्चाएको आरोप लगाउँदै नरसंहार रोक्न आवश्यक सबै किसिमको कदम चाल्न विश्व समुदाय तत्पर रहनुपर्ने बताउँदै आएका छन् ।
यस्तो बेला सिरियाली सेनाले गरेको सैन्य अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । सैन्य अभ्यासमा सिरियाली प्रतिरक्षामन्त्री दाउज रजिहा उपस्थित थिए । सैनिकहरूले ‘अभूतपूर्व अभ्यास’ गरेको भन्दै उनले तारिफ गरेका थिए । नौसैनिकको अभ्यासले सम्भावित बाह्य आक्रमणबाट सिरियाका तटिय क्षेत्रको रक्षा गर्न सिरियाली सैनिक तम्तयार रहेको पुष्टि भएको उनले बताएका थिए ।
केही साताअघि सिरियाले आफ्नो आकाशमा अनधिकृत रूपमा प्रवेश गरेको भन्दै टर्कीको युद्ध विमान खसालेपछि सिरियामाथि बाह्य आक्रमण हुने प्रसंग जोडतोडले उठ्न थालेको हो । अमेरिका र युरोपसँग निकट सम्बन्ध रहेको टर्कीले सिरियाली कदममाथि बखेडा झिकेपछि मध्यपूर्वमा भिडन्तको अवस्था सिर्जना भएको हो । सिरियासँग निकट सम्बन्ध रहेका राष्ट्र रुस र इरानले भने सिरियाको पक्ष दिएका छन् । ती राष्ट्रले सिरियालाई हतियारलगायतको सहयोग दिने क्रम जारी राखेको बताइन्छ ।
मध्यपूर्वमा युद्धको बादल मडारिरहेका बेला यस क्षेत्रमा सिया धर्मावलम्बीहरूको बाहुल्य रहेको राष्ट्र पनि सिरियाका पक्षमा उभिएको बताइन्छ । केही दिनअघि प्यालेस्टाइनका एक मुक्तियोद्धाले सिरियाविरुद्ध युद्ध छेडिए इरान र लेबाननको सशस्त्र समूह हिजबुल्लाहले सिरियाको पक्ष लिई युद्धमा सहभागी हुने खुलासा गरेका थिए । हिजबुल्लाह सिया मुसलमानहरूको संगठन हो ।
‘सिरियमाथि हमला भए सिरिया र इरानका हाम्रा बन्धु तथा हिजबुल्लाहका सदस्यहरू युद्धमा सहभागी हुने विषयमा कुरा चलिरहेको छ । टर्की–युरोपेली गठबन्धन अथवा नेटोले सिरियामा हमला गर्‍यो भने सडकमा गएर हामी हाम्रा सिरियाली बन्दुका पक्षमा गौरवका साथ लड्नेछौँ,’ प्यालेस्टाइनका लोकप्रिय मुक्ति योद्धा अहमद जिब्रिलले भनेका थिए । इरानी राष्ट्रपति महमुद अहमदिनेजादसँगको भेटमा उनले सिरियामाथि हमला गरी आगोसँग खेल्ने गल्ती नगर्न टर्कीलाई पटकपटक सचेत गराएको बताएको समेत जिब्रिलले खुलासा गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया