बनेन इमर्जेन्सी भवन

नेपालगन्ज, २५ असार । निर्माण जिम्मा पाएको कम्पनीको लापरबाहीका कारण भेरी अञ्चल अस्पतालको इमर्जेन्सी भवन निर्माण रोकिएको छ ।

एक वर्षअघि नै निर्माण सकिनुपर्ने भवन अलपत्र पारेर छाडिएपछि अस्पतालको इमर्जेन्सी सेवासमेत प्रभावित भएको छ । अत्याधुनिक इमरजेन्सी भवन बनाउनका लागि पुरानो इमर्जेन्सी भवन भत्काइएकोले अस्पतालको सेवा प्रभावित भएको हो ।
समयमै नयाँ भवन नबनेकोले साँघुरो कोठामा इमर्जेन्सी कक्षा सञ्चालन गरिएको छ । साँघुरो कोठाका कारण बिरामीलाई भुइँमा राखेर उपचार भइरहेको छ । तीन वर्षभित्र निर्माण पूरा गर्ने सम्झौतामा अस्पतालले ठेक्का दिएको हो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जले आर्थिक सहयोग दिएपछि नेपाल, प्रगति, डिसी र गलवा नामक निर्माण कम्पनीलाई ०६४ मा ६ करोड रुपियाँमा ठेक्का दिइएको हो ।
भवन निर्माणको काम ४० प्रतिशत मात्र भएको छ । सम्झौताअनुसार डिभिजन कार्यालयले दुई करोड रुपियाँ निकासासमेत गरिसकेको छ । काम नगरेपछि ठेकेदारलाई कारबाहीस्वरूप मोबिलाइजेसनबापत दिइएको ५२ लाख रुपियाँ फिर्ता गरिसकेको डिभिजन प्रमुख नारायणप्रसाद भण्डारीले बताए । ‘सम्झौताअनुसार ठेकेदारले काम गरेन,’ भण्डारीले भने, ‘अब सम्झौता कारबाही गर्नेतिर लाग्छौँ ।’
अञ्चल अस्पताल व्यवस्थापनले भवन निर्माण विभागको उदासीनताका कारण इमर्जेन्सी भवनको निर्माण सुरु हुन नसकेको बताएको छ । ‘ठेकेदारले काम रोकेको महिनौँ भइसक्दासमेत भवन निर्माण विभागले केही भनेको छैन,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत प्रसाईंले भने ।
सहरी विकास तथा भवन निर्माण डिभिजनका प्रमुख भण्डारीले निर्माण कम्पनीलाई अरू ६ महिना समय दिने तयारी गरेको बताए ।

प्रतिक्रिया