शुल्क वृद्धिपछि व्यवसायी आन्दोलित

चितवन : सरकारले निकुञ्ज प्रवेश शुल्क वृद्धि गरेपछि व्यवसायी आन्दोलित भएका छन् । लामो समयपछि गरिएको शुल्क वृद्धि पाँचसय गुणासम्म बढी रहेको छ ।
यसअघि नेपालीबाट प्रतिव्यक्ति २० रुपियाँ प्रवेश शुल्क लिइँदै आएकामा बढाएर एकसय रुपियाँ पुर्‍याइएको छ । सार्क क्षेत्रका पर्यटकका लागि दुईसय रुपियाँबाट सात सय ५० रुपियाँ र अन्य विदेशी पर्यटकका लागि पाँचसय रुपियाँबाट एक हजार पाँचसय रुपियाँ प्रवेश शुल्क कायम गरिएको छ । त्यसैगरी, हात्तीबाट प्रवेश गर्दा नेपालीका लागि दुईसय रुपियाँ लिइँदै आएकामा पाँचसय रुपियाँ, सार्क क्षेत्रका पर्यटकका लागि पाँचसय रुपियाँबाट एक हजार पाँचसय रुपियाँ र अन्य विदेशी पर्यटकका लागि एक हजारबाट दुई हजार पाँच सय रुपियाँ शुल्क पुर्‍याइएको छ ।
विभागका अनुसार डुंगा सयरमा नेपालीका लागि दुईसय रुपियाँ, सार्क क्षेत्रका पर्यटकका लागि पाँचसय रुपियाँ र विदेशी पर्यटकका लागि दुई हजार रुपियाँ शुल्क तय गरिएको छ । रकममा सेवा शुल्क र राजस्व थप गर्दा झन्डै तेब्बर हुन्छ ।
शुल्क अत्यधिक वृद्धि भएपछि पर्यटक आगमनमा कमी आउने र व्यवसाय धान्न नसकिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष शंकर सैँजुले बताए । वन मन्त्रालयले अर्थसँग स्वीकृत लिएर ४ असारबाट शुल्क वृद्धि गरेको हो । अध्यक्ष सैंजु छ महिना पहिलेदेखि बुकिङमा रहेका पर्यटकलाई वृद्धि शुल्कअनुसार सेवा दिँदा होटलको अवस्था नाजुक हुने बताउँछन् । निकुञ्ज विभागका महानिर्देशक र मन्त्रालयका सचिवसँग भेट गरी बढेको शुल्क तिर्न नसक्ने जानकारी दिएको अध्यक्ष सैंजुले बताए ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्वार सौराहामा ८० होटल र दुईसय भन्दा बढी रेस्टुरेन्ट तथा पसल छन् । दस अर्ब रुपियाँभन्दा बढी लगानी भएको क्षेत्रको व्यवसाय नराम्ररी प्रभावित हुने व्यवसायीको भनाइ छ । व्यवसायबाट प्रत्यक्ष रूपमा पाँच हजार र त्योभन्दा बढी अप्रत्यक्ष रोजगारीमा छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीले १२ वर्षपछि शुल्क वृद्धि गरिएको बताए । (सौस)

प्रतिक्रिया