बढ्दै छ लागुऔषध तस्करी

नेपालगन्ज, २४ असार । मध्यपश्चिममा लागुऔषधको धन्दा बढ्दै गएको छ । लागुऔषध नियन्त्रण अभियान चलाइरहेका प्रहरी, प्रशासन र गैरसरकारी संस्थाले लागुऔषधको धन्दा रोक्ने काममा सफलता पाएका छैनन् ।

‘लागुऔषधको सञ्जाल तोड्न कठिन भइरहेको छ,’ मध्यपश्चिमकी डिआइजी पार्वती थापाले भनिन्, ‘लागुऔषध नियन्त्रणका लागि प्रचारात्मकदेखि कानुनी कारबाहीका काम गरिरहेका छौँ तर सफलता पाइएको छैन ।’
प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांकमा मध्यपश्चिममा लागुऔषधको धन्दा बढेर गएको देखाइएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार, पछिल्लो तीन वर्षमा विभिन्न जिल्लाबाट दुई सय ८४ लागुऔषधका कारोबारी पक्राउ परेका छन् । आर्थिक वर्ष ०६६/६७ मा ६१, ०६७/६८ मा ९१ र चालु आर्थिक वर्षमा एक सय ३२ कारोबारी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, बाँके लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । खुला सिमानाका कारण सहजरूपमा लागुपदार्थ उपलब्ध भइरहेको डिआइजी थापाको भनाइ छ । नेपालगन्ज हुँदै मध्यपश्चिमका पहाडी जिल्लादेखि काठमाडौंसम्म लागुऔषधको ओसारपसार भइरहेको प्रहरीको निष्कर्ष छ ।
तराईका जिल्लामा मात्र सीमित लागुऔषधको धन्दा हिमाली जिल्लामा समेत फैलिएको छ । लागुऔषधविरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था नार्कोननका अध्यक्ष वसन्त कुँवरले जुम्ला, हुम्ला र कालिकोटलगायतका हिमाली जिल्लामा समेत गाँजा, चरेश र टयाब्लेटको प्रयोग बढिरहेको बताए ।
‘यार्सागुम्बाबाट कमाएको पैसा लागुऔषध खरिदमा खर्च गर्ने गरेको फेला पारेका छौँ,’ कुँवरले भने, ‘लागुऔषध कारोबार नियन्त्रण ठूलै समस्या बनिसकेको छ ।’
प्रहरीका अनुसार, भारतबाट चरेश र ब्राउनसुगर नेपाल भित्रिने गरेको छ भने यहाँबाट गाँजा जाने गरेको छ । रुकुम र रोल्पामा उत्पादित चरेश भारतको गोवासम्म तस्करी हुने गरेको पाइएको छ । प्रहरीका अनुसार, तस्करले रुकुम र रोल्पाबाट ल्याएको चरेश दाङको तुल्सीपुर र घोराहीमा भण्डारण गरेर भारत पठाइरहेका छन् । अनुकूलता मिलाएर बाँकेको कुसुम पुर्‍याई भारतको बहराइचमा गाँजा पठाउने गरिएको छ ।
यस्तै, सुर्खेतको बाटो भएर तस्करी भइरहेको चरेश कोहलपुरमा भण्डारण गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार, कोहलपुर भण्डारण गरिएको चरेशलाई नेपालगन्जसँग जोडिएको राँझा पुर्‍याएर नेपालगन्ज हुँदै भारतीय बजार रूपैडिहा पुर्‍याउने गरिएको छ ।

प्रतिक्रिया