आचरणमा सुधार गर्न एमाओवादीलाई चेतावनी

काठमाडौं, २३ असार । सत्तारुढ एकीकृत माओवादीका कार्यकर्ताबाट आफ्ना कार्यकर्ता माथि सांघातिक आक्रमण गरेको भन्दै कांग्रेसले सो कार्य तत्काल सुधार गर्न चेतावनी दिएको छ ।
कांग्रेसले आज विज्ञप्ति जारी गरेर कांग्रेसका नेता तथा कार्यकर्ताको घरमा आगो लगाउने, खुकुरी प्रहार गर्ने लगायतका कार्य गरेको भन्दै घटनाको घोर निन्दा र भत्र्सना गरेको जनाएको छ ।
‘नेता तथा कार्यकर्ता माथि आक्रमणमा संलग्न एमाओवादीका दोषी कार्यकर्ताहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न माग गर्छौ,’ विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणका क्रियाकलाप पुनः नदोहोराउन एमाओवादीलाई चेतावनी दिन्छौं ।’
नेपाल तरुण दल खोटाङका उप–सभापति एवं बाँझे च्यानडाँडा गाउँ कार्यसमितिका सभापति विजय गुरुङको घरमा गत असार–१३ गते एमाओवादीका कार्यकर्ताले पेट्रोल छर्की आगो लगाइदिएको कांग्रेसले जनाएको छ ।
घटनाको यथार्थ बुझ्ने सिलसिलमा एमाओवादीका कार्यकर्ताले असार–१५ गते नेपाल विद्यार्थी संघ जिल्ला सह–सचिव भीमसेन गुरुङ र गाउँ इकाई समितिका सदस्य सुमन गुरुङलाई खुकुरी प्रहार गरी दुवै जनाको हात काटिदिएको कांग्रेसले उल्लेख गरेको छ ।
घाईत तीन जना मध्ये दुईको त्रि.वि.शिक्षण अस्पताल, महाराजगञ्ज र तरुण दल गाउँ इकाई समितिका सदस्य नवराज गुरुङको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया