श्रद्धाञ्जली : सपनाहरूलाई

पूर्वतिरको पहाडमा फर्केर हेर्दा आशाको लाली रक्ताम्य थियो । कुनै हिंसाले सिर्जित रक्तरङ्ग थिएन त्यो । अन्धकारलाई हटाउन प्रकृतिले शिशु सूर्य जन्माउन लाग्दाको सुखद प्रसव पीडासँगैको रक्तरङ्ग थियो त्यो । त्यहाँ शिशु सूर्य दिनका विराट सम्भावनाहरू लिएर जन्मदै थियो । सिङ्गो खाल्डो अन्धकारमा डुबेको थियो तर लालीगुराँस रङ्गिरहेको थियो क्षितिजमा, मेरो मनमा । एउटा स्वर्णिम, सुदूर महत्त्वपूर्ण, अविस्मरणीय बिहानीको जन्म हुँदै थियो…। मनमनै चिच्याएँ खुशीले, पीडाले, दु:खले, चिन्ताले, उमङ्गले, उत्तेजनाले । भनेँ ‘गुड मर्निङ काठमाडौं †’
एउटा निर्धो घाम गुडुल्किएर यतै कता खसेजस्तो लागेको थियो हिजो साँझ । दिनभरि आफ्नो शक्ति प्रदर्शन गरेको स्खलित सूर्य अडिने सहारा खोज्दै थियो आकाशमा । बादल र हावा त्यसलाई अझ जोडले ठेलेर झार्न खोजिरहेका थिए, खै केको शत्रुता थियो कुन्नि †
त्यो घामको किरणमा साँझ आफ्नै क्षितिज देखिरहेको थिएँ । आफ्नै गाउँ, आफ्नै हाट लाग्ने सानो बजार, चियाबारी, सुस्ताइरहेका धुपीसल्लाका रूखहरू, गोबरले लिपेको आँगन र त्यहाँ हालिएको मकैको थाँक्रो । एउटा नाइटबसले सपनाहरू लोड गरेर दगुर्न थाल्यो तिनै धुपीसल्लाका रूखहरूको फेदबाट । कति सपनाहरू मेराजस्तै छोटा थिए काठमाडौंसम्मका अरू लामालामा सपना पनि थिए मलेसिया, कतार, दुबई, साउदी, बहराइन, अस्ट्रेलिया, युके, क्यानडा, अमेरिकासम्मका । बसमा लामाछोटा एकगाडी सपनाहरू लोड गरिएको थियो ।
सपनाहरू लोड गरेर दगुरिरहेको नाइट झर्दै गरेको घामलाई भेट्न खोज्दै थियो । मानौँ ऊ प्रतियोगितामा सामेल छ र उसले घामलाई जित्नै पर्छ । हेर्दा लाग्थ्यो घामभन्दा सयौँ गुणा छिटो दौडिरहेको छ नाइटबस । त्यो मेरो आस्थाको उज्यालो घाम पनि थियो, जसलाई भेटेर मैले सुखद भविष्य जिउनु थियो । जिन्दगीको अँध्यारोबाट भाग्दै म त्यही आस्थाको घामलाई पछ्याइरहेको थिएँ । दौडँदादौडँदै मेरो आस्थाको घाम नाइटबसको प्रतिस्पर्धी बनेर अँध्यारो–डरलाग्दो पहाड पछाडि झर्‍यो । हरायो मेरो आस्थाको घाम, मेरो सपना, मेरो लक्ष्य, मेरो उज्यालो भविष्य † पछाडि फर्केर हेर्दा मेरो घर, बजार, चियाबारी, धुपीसल्लाका रूख ओझेल परिसकेका थिए । ओझेल परिसकेकी थिइन् बसपार्कमा एकहातले आँसु पुछ्दै अर्को हात हल्लाइरहेकी मेरी आमा । अनि मेरी प्रेयसी…।
ििि
मलाई बोकेर आएको लामो नाइटबस कलङ्कीबाट अन्तै कता गइसकेको थियो मसँगै सपनाहरू अनलोड गरेर । बाटो हराएको यात्री म त्यही चौबाटोमा अल्मल्लिरहेको थिएँ । सुनेको थिएँ, ‘सहर रातभरि जाग्छ र बिहान अबेरसम्म सुत्छ ।’ रिङ्गटोन बजाएर कसैको निन्द्रा बिगार्न पनि मन लागेन । चारतिरका बाटाहरू जोडेर बनाएको आकासे पुलको सहारा लिएँ र त्यसैमा उक्लिएँ । आकासे पुलको भुइँमा दुईतीनजना मान्छे सुतिरहेका थिए । त्यहाँ काठमाडौंले पहिलो झापड हान्यो र भन्यो, ‘यो सहर गरिबको होइन, यो त सम्भ्रान्तहरूको सहर हो । यहाँ गरीबलाई ठाउँ छैन ।’ चिसो हावा ठोक्किएका आफ्नै गाला सुम्सुम्याउँदै निकैबेर पुलमै बिताएँ ।
मेरो सपना हराएको सहर जहाँ मेरो अस्थाको घाम हराएको छ, त्यही घामको खोजीमा म आइपुगेको थिएँ काठमाडौं । एउटा विचित्रको सहर हो यो । प्रत्येक मान्छे काठमाडौंको रिस गर्छन्, गाली गर्छन् र काठमाडौंकै आशा गर्छन् । काठमाडौंलाई सराप्छन् र काठमाडौं भित्रिन्छन् । काठमाडौं सपना देख्नेहरूको ‘बेटर लोकेसन’ हो । मान्छेले काठमाडौंमा सम्भावनाहरू देखेको हुन्छ, भविष्य देखेको हुन्छ । काठमाडौंलाई गाली गर्दैगर्दै मान्छेहरू काठमाडौं नै आउँछन् । वास्तवमा जो आए पनि चुपचाप स्वागत गर्ने काठमाडौं विशाल छाती भएको सहर हो । नेपालीहरू यसलाई आफ्नै बाबु ठानेर घुर्की लगाउँछन् ।
यस्तै सोच्दै म आकासे पुलबाट तल ओर्लिएँ । यतिकैमा एउटा आवाज चिच्यायो, ‘सुन्नुहोस् ताजा खबर, ताजा खबर †† डिआइजी रञ्जन कोइरालाले आफ्नै श्रीमतीको हत्या गर्‍यो, डिआइजीले आफ्नै श्रीमतीको हत्या गर्‍यो † ल पढ्नुहोस् सहरको क्रुरता … †’ पत्रिका बेच्ने हकर रहेछ । तेर–चौध वर्षको एउटा सानो फुच्चे । सहरको क्रुरताको खबर सहरलाई सुनाइरहेको थियो । उसलाई के थाह सहर ऊप्रति कति क्रुर छ भनेर † म आकासे पुलबाट ओर्लिसक्नै लाग्दा एउटा अपरिचित मेरो अनुहार हेरेर मुसुक्क परिचित मुस्कानले हाँस्यो । लाग्थ्यो ऊ कुनै चिरपरिचित आफन्त थियो । उसको हाँसोमा अदृश्य पीडा लुकेको रहेछ । एउटा सामान्य निर्माण मजदुर ऊ । कुनै मनोवैज्ञानिक होइन न त समाजशास्त्री वा पत्रिकामा लेखी टोपल्ने छिपछिपे बुद्धिजीवी नै । ऊ श्रमजीवी हो, माक्र्सवादको सच्चा प्रयोगकर्ता न कि कुनै आदर्श कम्युस्टि बुद्धिजीवी हो ऊ । तर, ऊ केही नभएर पनि यी सबै हो रहेछ वास्तवमा– मनोवैज्ञानिक, बुद्धिजीवी, माक्र्सवादी, दार्शनिक सबैसबै । ‘यिनीहरू मान्छेका नाममा कलङ्क हुन् भाइ, यिनीहरू राक्षस हुन्, । वेश्यासँग लागेर सीता मार्छन् र समाजमा आदर्श पुरुषोत्तम बन्न खोज्छन् । यिनलाई पनि गोली ठोकेर मार्नुपर्छ । भाइ यो सहर हो । यहाँ पैसाले कानुन, प्रमाण, न्याय सबथोक किन्न सक्छ ।’
म नि:शब्द उसको अनुहार हेरिरहेँ । एउटा परिपक्व मानिस, एउटा असन्तुष्ट प्राणी, निरन्तर बोलिरहेको थियो, ‘यो ढोगी मानिसको सहर हो । मान्छेहरू भित्रबाट खोक्रा हुन्छन् र बाहिरबाट महानताको भ्रम छर्न खोज्छन् । प्रत्येक भ्रमको खेती गर्ने मान्छेले अर्कोले आफूलाई भ्रमित बनाएको बुझ्दैनन् । उनीहरू दिनभर ल्यापटपमा तरुनीका नाङ्गा फोटा हेर्छन् र व्यस्तताको नाटक गर्छन् । साँझ रक्सी खान्छन् र राति रन्डीबाजी गर्छन् । आधारातमा कोठा पुगेर श्रीमतीको टाउको मुसार्छन्, बिहानसम्म घाँटी थिचेर मारिसक्छन् । सहर क्रुर हुन्छ भाइ, क्रुर…।’
ऊ निरन्तर बोलिरहेको थियो, ‘भाइ यो सहर क्रुर छ । यसले सपनामाथि बलात्कार गर्छ, सपनाको हत्या गर्छ । यो तिमीले सोचेजस्तो काठमाडौं होइन, यो स्वार्थहरूको थुप्रो स्वार्थमाडौं हो । मान्छेहरूको थुप्रो मान्छेमाडौं हो यो ।’ ऊ निरन्तर केके बोलिरहेको थियो । म बल्खु जान चक्रपथको बसमा चढिसकेको थिएँ । कानमा भने पाँचथरका मित्र, नवोदित तथा सशक्त कवि गिरिराज बास्कोटाका कविता गुञ्जिरहेका थिए, ‘ओ सपनाहरू हो, मेरो हार्दिक श्रद्धाञ्जली †’

प्रतिक्रिया