समायोजनका लागि कोही आएनन्

कैलाली, २२ असार । कैलालीमा रहेको माओवादी लडाकुको सातौँ डिभिजन तालबन्दमा बिहीबार सुरु गरिएको छनोट प्रक्रियामा नेपाली सेनामा समायोजन हुन कोही पनि लडाकुले दरखास्त दिएनन् । तालबन्दमा रहेका कुल ३ सय १५ जना लडाकुको छनोट प्रक्रिया सुरु गरी सेनामा जान चाहने लडाकुलाई दरखास्त मागेकामा एकजना लडाकु पनि दरखास्त दिन नआएको नेपाली सेना छनोट टोलीले जनाएको छ ।

बुधबार नेपाली सेनाको कैलालीस्थित तेघरी ब्यारेकबाट प्रमुख सेनानी अर्जुन खड्काको नेतृत्वको १० सदस्यीय छनोट टोलीले सातौँ डिभिजन मुख्यालय तालबन्दमा पुगेर छनोट प्रक्रिया सुरु गरेको थियो । नेपाली सेनामा समायोजन हुने इच्छा भएका माओवादी लडाकुलाई आवश्यक कागजात लिई छनोट क्याम्पमा आउन भने पनि कोही सम्पर्कमा नआएको खड्काले बताए । उनले नेपाली सेनामा समायोजन हुन चाहने लडाकुका लागि यही २६ गतेसम्म दरखास्त दिने समय–सीमा भएकाले उक्त अवधिसम्म आउन सक्ने जानकारी दिए ।
उता माओवादी लडाकु भने समायोजन भने पनि सेनाले नयाँ भर्ना नै लिएको भन्दै सेना समायोजनमा नजाने मनस्थितिमा रहेको बुझिएको छ । अहिले, डिभिजन मुख्यालय तालबन्द, सहायक शिविर बडैपुर र गोरंगेमा माओवादी लडाकु रहेका छन् । सेनाको छनोट टोलीले समायोजनमा जाने सबै लडाकुलाई सातौँ डिभिजनको मुख्य शिविर तालबन्दमा बोलाइएको छ ।
सातबँुदे सहमतिअनुसार माओवादी लडाकुलाई शिक्षामा एक तह, उमेरमा तीन वर्ष र वैवाहिक अवस्थामा छुट दिने भनिएको छ । तर, अन्य कुरामा भने विद्यमान सैनिक ऐन नै लागू हुने बताइएको छ । जसअनुसार सिपाही पदका लागि बियरिङका अलावा प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक परीक्षा, लिखित परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण, बोर्ड अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्ने प्रावधान तोकिएको छ ।

प्रतिक्रिया