विद्यालय हाताभित्रै गाडिन्छन् लास

रुकुम, २२ असार । पीपल गाविसका नाथ (जोगी) समुदायले विद्यालयको हाताभित्रै शव गाड्दै आएका छन् । उनीहरूले लामो समयदेखि पीपल–७ मा रहेको जनकल्याण उच्च माध्यमिक विद्यालयको हाताभित्र शव गाड्दै आएका हुन् ।

परापूर्वकालदेखि सोही स्थानमा लास गाडिँदै आएकोले अहिले पनि निरन्तरता दिएको नाथ समुदायको दाबी छ । आफ्ना पुर्खाले प्रयोग गरेको स्थानलाई प्रयोग गरेको स्थानीय सेते नाथले बताए । ‘हाम्रा बाजे, बराजुका पालादेखि नै यो स्थानलाई मसानघाटका रूपमा प्रयोग गर्दै आएका छौँ,’ उनले भने, ‘हामीले त्यसलाई निरन्तरता दिएका हौँ ।’ विद्यालय स्थापनाअघि नै यो स्थान घाटका रूपमा प्रयोग गरिँदै आएको उनको दाबी छ । विद्यालयका प्राचार्य झुपिलाल पौडेलले घाट सार्न प्रयास गरिए पनि अन्य स्थानमा घाट फेला नपरेकोले सफल नभएको बताए ।
‘नाथ समुदायको मसानघाट अन्यत्र सार्ने प्रयास पहिलेदेखि नै गरिरहेका छौँ तापनि सफल हुन सकेका छैनौँ,’ उनको भनाइ छ । नाथ समुदाय अन्यत्र शव गाड्ने ठाउँ पाउनेबित्तिकै घाट सार्न तयार रहेको प्राचार्य पौडेल बताउँछन् । विद्यालय हाताभन्दा टाढा घाटको खोजी भइरहेको विद्यालय व्यवस्थापन समितिका सदस्य भीमबहादुर खत्रीले बताए । खत्री भछन्, ‘नाथका छोराछोरी पनि यस विद्यालयमा पढिरहेका छन्, यसको असर सबैलाई परेको छ, घाट सार्ने पहल भइरहेको छ ।’
विद्यालयको हातामै मसानघाट भएकोले त्यसको प्रत्यक्ष मार विद्यार्थीमा परेको स्थानीय अभिभावक बताउँछन् । त्यस समुदायको मान्छे मरेका दिन स्वभावैले बिदा गर्ने गरेको विद्यालयले बताएको छ । कोठामा पढ्दै गरेका सबै विद्यार्थीले सबै कार्य स्पष्ट देख्ने गरेका र मनोवैज्ञानिक असर पर्ने भएकोले विद्यालय बन्द गर्ने गरेको प्राचार्य पौडेलले जानकारी दिएका छन् ।
विद्यार्थीले खेल्ने क्रममा दैनिकजसो मान्छेका हाडहरू फेला पार्ने गरेको शिक्षक परशुराम केसी बताउँछन् । हरेक वर्ष त्यस ठाउँको माटो बग्ने क्रम बढ्ने भएकोले पनि पहिल्यैदेखिका हड्डी उत्रिने गरेका छन् । शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन बाहिरी वातावरण सुहाउँदो हुनुपर्नेमा विद्यालय नै मसानघाट बन्नु दु:खद् भएको दुखेसो त्रिपुरा उच्च माविका प्राचार्य भीम शाही पोख्छन् ।

प्रतिक्रिया