विचार समूहसँग एमालेको सात दिने स्पष्टिकरण

काठमाडौं, २१ असार । एमालेले पार्टीमा अलग विचार समूह बनाउने उपाध्यक्ष अशोक राई सहितका जनजाति नेताहरुसँग स्पटिकरण सोधेको छ ।
एमालेको अनुसाशन आयोगको आज पार्टी मुख्यालय बल्खुमा बसेको बैठकले अलग विचार समूह बनाउने पदाधिकारी र नेताहरुलाई सात दिन भित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको हो । केही समय अघि एकल जातीय पहिचान सहितको राज्य पुनर्संरचनालाई लिएर आदिवासी जनजाति नेताहरुले एमालेमा अलग विचार समूह बनाएपछि नेतृत्व क्रुद्ध भएको थियो ।
बैठक पछि आयोगद्वारा आज जारी विज्ञप्तिमा पार्टी विधान विपरीत भेलाहरू संचालन गर्ने र पार्टी नीति विपरीत ‘समूह’ गठन गरेको भन्दै त्यस विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमालेले स्पष्टिकरण सोधिएका नेताहरुको नाम भने खुलाएकाेि छैन ।
‘केही जिम्मेवार तहका कमरेडहरूलाई आफ्ना असन्तुष्टी वा फरक मत पार्टी विधानको प्रक्रिया अनुरूप सम्बन्धित कमिटीमा राख्न बारम्बार निर्देशन र आग्रह समेत गरिसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर पनि उहाँहरूले पार्टीले निर्दिष्ट गरेको प्रक्रिया अवलम्बन नगरी पार्टीको निर्णय, निर्देशन र मर्यादामाथि आँच पुग्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको, पार्टी विधान विपरीत भेलाहरू संचालन गर्नु भएको छ ।’
पार्टीको नीति विपरीत ‘समूह’ गठन गरेको कुरा सार्वजनिक भएको जनाउदै आयोगले त्यस विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको दोहराएको छ ।
पार्टीमा जे–जस्ता असहमति वा फरक विचार रहेपनि प्रक्रिया अनुरूप आफ्ना भनाइहरू राख्न पाउने वैधानिक व्यवस्थालाई बेवास्ता गरी भेला, बैठक गर्नु पार्टी विधान विपरित हुने आयोगको भनाई छ ।
‘समानान्तर गतिविधि संचालन गरी पार्टीलाई विभिन्न अनर्गल आरोप लगाउँदै हिड्नु पार्टीका इमान्दार नेता–कार्यकर्ताका लागि सुहाउने कार्य होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यहरू गुटगत र अवाञ्छनीय क्रियाकलाप हुन् ।’
पार्टी पद्धति तथा विधानभित्र रही आफ्ना धारणाहरू सम्बन्धित तहको कमिटीमा राख्न पाउने अधिकार हरेक पार्टी सदस्यलाई रहेको एमलेले जनाएको छ ।
यद्यपि केही समयदेखि फरक विचार र असन्तुष्टीको नाममा भएका गतिविधिहरू पार्टीको निर्णय तथा विधानसम्मत नरहेको आयोगले जनाएको छ ।
‘त्यसप्रकारका गतिविधिमा संलग्न नेताहरूलाई पार्टीको अनुशासन र मर्यादालाई ख्याल राखी त्यस्ता गलत क्रियाकलाप अविलम्ब बन्द गर्न निर्देशन गरिएको छ,’ आयोगले भनेको छ, ‘गुटगत तथा अवाञ्छित गतिविधिमा संलग्न नेता–कार्यकर्ताले पार्टीको कुन विधान, नियमावली तथा निर्णयका आधारमा यस्ता गतिविधि गरिएको हो प्रष्ट पार्दै ७ दिनभित्र आफ्नो स्पष्टीकरण पेश गर्न सूचित गर्ने निर्णय समेत गरिएको छ ।’
एमालेले पार्टी विपरीत चल्न खोज्ने जो–कोहीलाई त्यसप्रकारका गतिविधि गर्ने छुट दिन नसकिने समेत चेतावनी दिएको छ ।

 

 

 
मिति २०६९-३-२१
प्रेस विज्ञप्ति

आज नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगको सचिवालय बैठक आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय मदननगर, बल्खुमा बस्यो । उक्त बैठकले निम्न निर्णयहरू गरेको छ ।
नेकपा (एमाले) सदैव वर्गीय तथा जातीय शोषण, उत्पीडन र विभेदको विरुद्ध संघर्षरत गौरवशाली पार्टी हो । यो पार्टी देशको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताहरू समेतलाई ध्यानमा राखी सबै वर्ग, तह र तप्काका जनसमुदायबीचको सद्भाव कायम राख्दै राष्ट्रिय एकता, अखण्डता सुदृढ गर्न दृढ संकल्पित रहिआएको छ । पार्टीले हाल राज्य पुनःसंरचनाको सन्दर्भमा पहिचानको अवधारणा सहित आफ्नो निर्णय प्रष्ट पारी सकेको अवस्था छ ।
यसै सन्दर्भमा पार्टीका केही जिम्मेवार तहका कमरेडहरूलाई आफ्ना असन्तुष्टी वा फरक मत पार्टी विधानको प्रक्रिया अनुरूप सम्बन्धित कमिटीमा राख्न बारम्बार निर्देशन र आग्रह समेत गरिसकिएको छ । तर पनि उहाँहरूले पार्टीले निर्दिष्ट गरेको प्रक्रिया अवलम्बन नगरी पार्टीको निर्णय, निर्देशन र मर्यादामाथि आँच पुग्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको, पार्टी विधान विपरीत भेलाहरू संचालन गरेको र पार्टीको नीति विपरीत ‘समूह’ गठन गरेको कुरा सार्वजनिक भएकोले यस विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
पार्टीमा जे–जस्ता असहमति वा फरक विचार रहे पनि प्रक्रिया अनुरूप आफ्ना भनाइहरू राख्न पाउने वैधानिक व्यवस्थालाई बेवास्ता गरी भेला, बैठक गर्नुका साथै समानान्तर गतिविधि संचालन गरी पार्टीलाई विभिन्न अनर्गल आरोप लगाउँदै हिड्नु पार्टीका इमान्दार नेता–कार्यकर्ताका लागि सुहाउने कार्य होइन । यस्ता कार्यहरू गुटगत र अवाञ्छनीय क्रियाकलाप हुन् ।
पार्टी पद्धति तथा विधानभित्र रही आफ्ना धारणाहरू सम्बन्धित तहको कमिटीमा राख्न पाउने अधिकार हरेक पार्टी सदस्यलाई छ । पार्टीभित्र पार्टी पद्धति अनुरूप विचार राख्नु नेकपा (एमाले)प्रति प्रतिबद्ध र निष्ठावान कार्यकर्ताहरूको कर्तव्य समेत हो । तर यसो नगरी केही समयदेखि फरक विचार र असन्तुष्टीको नाममा भएका गतिविधिहरू पार्टीको निर्णय तथा विधानसम्मत छैनन् । तसर्थ अनुशासन आयोगको १९ औं पूर्ण बैठकको निर्णय तथा आज बसेको सचिवालयको निर्णयअनुसार त्यसप्रकारका गतिविधिमा संलग्न नेताहरूलाई पार्टीको अनुशासन र मर्यादालाई ख्याल राखी त्यस्ता गलत क्रियाकलाप अविलम्ब बन्द गर्न निर्देशन गरिएको छ । साथै उपरोक्त गुटगत तथा अवाञ्छित गतिविधिमा संलग्न नेता–कार्यकर्ताले पार्टीको कुन विधान, नियमावली तथा निर्णयका आधारमा यस्ता गतिविधि गरिएको हो प्रष्ट पार्दै ७ दिनभित्र आफ्नो स्पष्टीकरण पेश गर्न सुचित गर्ने निर्णय समेत गरिएको छ ।
हरेक पार्टीको आफ्नै मूल्य–मान्यता, विधान र पद्धतिहरू हुन्छन् । पार्टी यिनै मूल्य–मान्यता र विधानका आधारमा संचालित हुन्छ । पार्टी विपरीत चल्न खोज्ने जो–कोहीलाई यसप्रकारको गतिविधि गर्ने छुट दिन नसकिने ब्यहोरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं । साथै, यस्ता गतिविधिको भ्रममा नपर्न, नलाग्न, त्यसको प्रतिवाद गर्न र पार्टी निर्णयको पक्षमा दृढटापूर्वक उभिन आयोग सम्पूर्ण पार्टी नेता, कार्यकर्ता तथा सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछ ।

अमृतकुमार बोहरा
अध्यक्ष

प्रतिक्रिया