नयाँ वजेट ४ खर्ब ३९ अर्ब बराबरको हुने

काठमाडौं, २१ असार २१ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सरकारले ४ खर्ब ३९ अर्बको विस्तारकारी बजेट ल्याउन लागेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित साक्षत्कारमा उनले पूर्ण बजेट ल्याउन सरकार दृढ रहेको समेत बताए ।
‘१० अर्बको चुनाव खर्चसहित ४ खर्ब ३९ अर्बको बजेट राहतमुखी हुनेछ,’ क्षेत्रीले भने, ‘पूर्ण बजेट ल्याउन सरकार दृढ छ ।’
चुनाव खर्चका अलावा पुनः स्थापना रोजेका लडाकुलाई ३ अर्ब दिनुपर्ने अवस्थाका कारण खर्च बढ्ने उनको भनाई छ ।
पूर्व गभर्नर हिमालय शमशेर राणाले बजेट आउन पहिला राजनीतिक विवादलाई बल्झाएर राष्ट्रपतिलाई असजिलोमा नपार्न आग्रह गरे । उनले पूर्ण बजेट आउनुपर्नेमा जोड दिएपनि सरकारको कामचलाऊ हैसियतलाई दृष्टिगत गरी दुरगामी असर पर्ने खालका नयाँ कार्यक्रम र योजना ल्याउन नहुने सुझाव दिए ।
अर्थविद चिरञ्जीवी नेपालले सरकारको क्रियाकलाप विवादास्पद रहेकाले विस्तारकारी बजेटले राहत नभई आहत दिने दावी गरे । उनले विस्तारकारी बजेटले मूल्यवृद्धि हुने भन्दै जनता मारमा पर्ने बताएका छन् ।
एमाओवादीका नेता डा.डिल्ली खनालले राष्ट्रपति डा.रामवरण यादवले पूर्ण बजेट ल्याउने सरकारी कदमलाई रोक्न खोजे देश मुठभेडमा जाने चेतावनी दिए । देशलाई मुठभेडमा लाने कदम राष्ट्रपतिबाट हुन नहुने उनले उल्लेख गरे ।

प्रतिक्रिया