पाक–श्रीलंका दोस्रो टेस्ट बराबर


कोलम्बो, २१  असार । तिकलरत्ने दिल्सान र कुमार संगकाराको शतकीय इनिङमा दोस्रो म्याच बराबरी गर्दै श्रीलंकाले पाकिस्तानविरुद्धका तीन टेस्ट म्याचको शृंखला कम्तीमा बराबरी गर्ने भएको छ ।
२६१ रनको लक्ष्य पछयाएको श्रीलंकाले पाँचौँ तथा अन्तिम दिनको खेल समाप्त हँुदा दुई विकेट गुमाउँदै ८२ रन जोडेको थियो । पहिलो इनिङमा दिल्सानले १२१ र संगकाराले १९१ रन जोडेपछि पाँचाँै दिन श्रीलंकाले ३९१ रन जोड्दै पाकिस्तानसँगको अन्तरलाई १६० रनमा झारेको थियो । पाकिस्तानले दोस्रो इनिङ १०० रनमा समाप्तिको घोषणा गरेर श्रीलंकालाई दोस्रो इनिङ ब्याटिङ गर्न बोलायो ।
खेल बराबरी हुने सम्भावना भएपछि लक्ष्य पछयाउने क्रममा श्रीलंकाले सम्हालिएर ब्याटिङ गर्‍यो । यसक्रममा पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेको घरेलु टोली श्रीलंकाका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय थारंगा पारानाभिटाले ३८ तथा दिल्सानले २८ रन जोडे । त्यस्तै संगकारा २४ र माहेला जयवद्र्धने १ रनमा अविजित रहे । चार खेलाडी शून्यमा आउट भए पनि श्रीलंकाको पहिलो इनिङ दिल्सान र संगकाराको प्रदर्शनमा बलियो भएको थियो । पहिलो विकेटका रूपमा टोलीको योगफल ११ रन हुँदा पारानाभिटालाई व्यक्तिगत शून्यको स्थितिमा गुमाएको श्रीलंकाका लागि दिल्सान र संगकाराबीच त्यसपछि २२५ रनको साझेदारी भएको थियो । बुधबार २७८–५ को स्थितिबाट अन्तिम दिनको खेल थालेको घरेलु टोलीका लागि संगकाराले छैटाँै विकेटका लागि एन्जलो म्याथ्युज (४७) सँग ९२ रनको साझेदारी गरेका थिए । रेहमानको बलमा क्याचआउट भएपछि संगकारा दोहोरो शतक बनाउनबाट चुकेका थिए । श्रीलंकालाई अलआउट गर्ने क्रममा जुनाइद खानले ५ र अब्दुल रेहमानले ४ विकेट लिए ।
यसअघि पहिलो इनिङमा मोहम्मद हाफिज र अजर अलीले सानदार शतक बनाएपछि पाकिस्तानले ५५१ रन जोडेर यो खेल कम्तीमा बराबरी गर्ने आधार बलियो बनाएको थियो । हाफिजले १९६ र अलीले १५७ रन जोडेका थिए । त्यस्तै ताउफिक उमरले ६५ र मिसवाह उल हकले बनाएको ६६ रन पनि पाकिस्तानलाई बबलियो बनाउन सहयोगी रहयो । पहिलो इनिङमा २.६ को इकोनोभिक रनरेटमा बलिङ गरेका खान म्याच अफ द म्याच भए ।
यसअघि पहिलो म्याचमा कमजोर प्रदर्शन गरेको पाकिस्तानविरुद्ध श्रीलंकाले सानदार जित दर्ता गरेको थियो । शंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेल ८ जुलाईदेखि सुरु हुनेछ ।

सहवाग र जाहिर फिर्ता
गत मार्चयता राष्ट्रिय टोलीमा नरहेका वीरेन्द्र सहवाग र जाहिर खानलाई भारतले श्रीलंकाविरुद्धको आसन्न एकदिवसीय शृंखलाका लागि टोलीमा बोलाएको छ । एसियाकपयता जाहिर र सहवागले भारतीय टोलीको प्रतिनिधित्व गरेका छैनन् । एसियाकप खेलेका मास्टर ब्लास्टर सचिन तेन्दुलकरलाई भने यस भ्रमणमा आराम दिइएको छ । श्रीलंकासँग भारतले एकदिवसीय र
टी–ट्वान्टी शंखला खेल्नेछ । प्रज्ञान ओझा, अजिन्क्या रहाने र उमेश यादवले भारतीय टोलीमा पुनरागमन गर्दा स्पिनर रवीन्द्र जडेजाले भने खराब लयका कारण स्थान बनाउन सकेनन् । १५ सदस्यीय टोलीमा अलराउन्डरको भने कम उपस्थिति छ । जडेजासँगै पठान दाजुभाइ युसुफ र इरफान टोलीमा नरहेका कारण भारतीय टोली प्राय: नियमित अलराउन्डरविना नै उत्रन लागेको हो ।

प्रतिक्रिया