विमानस्थल भारतीयलाई नदेउ

काठमाडौं, २० असार । नेकपा–माओवादीले भारतीय निजी कम्पनीलाई अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्न दिने सरकारी तयारीको विरोध गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले आज संयुक्त विज्ञप्ति जारी गरेर विमानस्थल जस्तो अत्यन्तै संवेदनशील स्थलको निर्माण र व्यवस्थापन कार्यलाई बिदेशी निजी कम्पनीलाई दिन खोज्नु राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षाको दृष्टिले अत्यन्तै गम्भीर तथा आपत्तिजनक विषय रहको जनाएका छन् । उनीहरुले सो कार्य तत्काल रोक्न समेत आग्रह गरेका छन् ।
‘राष्ट्रिय हित प्रतिकूलको सम्झौता नगर्न नेपाल सरकारसँग हामी जोडदार आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रघाती सम्झौता हुन नदिन सम्पूर्ण वामपन्थी, देशभक्त र लोकतन्त्रवादी शक्तिहरुसँग पनि हार्दिक अनुरोध गर्दछौं ।’

विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनका लागि भन्दै सरकारले लगानी बोर्ड मार्फत भारतीय निजी कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेजलाई निर्माण स्वामित्व सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अन्तरगत जिम्मा दिने तयार भएपछि विरोध सुरु भएको हो ।

प्रतिक्रिया