शीर्ष खेलाडीको जित

हेटौंडा : मकवानपुरमा मंगलबारदेखि सुरु भएको प्रथम जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिताको पहिलो चरणको खेलमा माथिल्लो वरीयताका खेलाडीले सफलता पाएका छन् । पहिलो दिन शीर्ष वरीयताका अनिल राजवाहकका साथै पूर्वराष्ट्रिय उपविजेता कृष्ण थापा, एमच्योर च्याम्पियन धर्म लामा, नवीनकुमार श्रेष्ठ र धीरब राजथलाले जित हात पारे । यसैगरी, धर्म राजथला र बलराम सञ्जेलले पनि जित हात पारे ।
पहिलो चरणमा अनिलले रेनुका लामिछाने मगर, कृष्णले ज्ञानेन्द्रप्रसाद लुइँटेल, धर्मले उत्तम मण्डल र नवीनले प्रकाश पौडेललाई पराजित गरे । दोस्रो चरणमा अनिलले लालबहादुर कार्की, कृष्णले नवराज हुमागाईं र धर्मले विकासराज शर्मा र नवीनले सुन्दर कार्कीसँग खेल्नेछन् ।
प्रतियोगितामा रेटेड सातजनासहित तीस खेलाडी सहभागी छन् । स्मरणीय छ, पचासको दशकमा नेपाली चेसमै शक्तिको रूपमा रहेको मकवानपुर जिल्ला पछिल्लो समय सुस्ताएको थियो । खासगरी बाह्रौँ राष्ट्रिय चेस च्याम्पियनसिपका उपविजेता कृष्ण थापाले एसियन जोनलमा सहभागिता जनाउँदै ग्रान्डमास्टर जियाउर रहमानसित बराबरी गरेका थिए । कुनै नेपाली खेलाडीले ग्रान्डमास्टरसँग अंक बराबरी गरेको त्यो नै पहिलो अवसर थियो । लामो समय खस्केको मकवानपुरको चेसको पुनरुत्थान सुरु हुने क्रममा दोस्रो राष्ट्रिय टिम च्याम्पियनसिपमा हेटौंडा चेस क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो । (सौस)

प्रतिक्रिया