द्वन्द्व चर्किएपछि सिरियाली सैनिक भागे

अंकारा, २० असार । सिरियाका दर्जनौँ सैनिक टर्कीतर्फ भागेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार सोमबार करिब ८५ सैनिक टर्कीतर्फ भागेका छन् । सिरियामा द्वन्द्व चर्किंदै गएपछि उनीहरू भागेको टर्कीको समाचार समिति अनातोलियाले जनाएको छ । यसरी भाग्नेमा एकजना सैनिक अधिकारी पनि रहेको बताइएको छ ।
एक जर्नेलको नेतृत्वमा रहेका ती सैनिकहरू देश छाडेर भागेका हुन् । सिरियामा दिनप्रतिदिन हिंसा चर्किएर नियन्त्रण गर्न गाह्रो हुने देखेपछि उनीहरू भागेको हुन सक्ने अनुमान गरिएको छ । सोमबारको घटनापछि देश छाडेर भाग्ने सिरियाली जर्नेलको संख्या १४ पुगेको बताइएको छ । सोमबार भागेको सैनिक टोली टर्कीको दक्षिणी क्षेत्र रेहान्ली प्रवेश गरेको छ । उनीहरूसँगै करिब तीन सय सिरियाली नागरिक भागेको बताइएको छ । सो समूहमा महिला र बालबालिका पनि रहेका छन् । ती महिला र बालबालिका भगौडा सैनिकका हुन् कि होइनन् भन्ने पुष्टि भएको छैन ।
सिरियामा आन्दोलन सुरु भएयता करिब ३५ हजार नागरिकले देश छाडी टर्की प्रवेश गरिसकेको अनुमान गरिएको छ । सिरियामा करिब १५ महिनादेखि राष्ट्रपति बासर अल असदविरुद्ध आन्दोलन जारी छ । राष्ट्रपति असदले राजीनामा नगर्ने अडान नछाडेपछि विद्रोहीसँग सरकारी फौजको भिडन्तले हिंसात्मक रूप लिन थालेको छ । हजारौँ सिरियाली नागरिकले टर्कीमा शरण लिइरहेका बेला टर्की र सिरियाबीचको सम्बन्ध भने तनाबग्रस्त बन्दै गएको छ । आºनो हवाई क्षेत्रमा अनाधिकृत रूपले प्रवेश गरेको भन्दै सिरियाली फौजले टर्कीको युद्धक विमान खसालेपछि दुई देशबीचको विवाद सतहमा आएको थियो । तर, टर्कीले भने सिरियाली कदमको विरोध गर्दै जवाफ फर्काउने चेतावनी दिइरहेको छ । विमानमा रहेका दुई विमान चालक अझैसम्म बेपत्ता छन् ।
यसैबीच सिरियाका लागि अन्तर्राष्ट्रिय शान्तिदूत कोफी अन्नानले विश्वलाई सिरियाको सरकार तथा प्रतिपक्षी दललाई हिंसा अन्त्यका लागि दबाब दिन आग्रह गरेका छन् । उनले गत अप्रिल महिनामा आफूले अघि सारेको युद्धविरामको पालना हुन नसकेको भन्दै दु:ख व्यक्त गरेका छन् । सिरियामा सन् २०११ को मार्चदेखि आरम्भ भएको आन्दोलनमा अहिलेसम्म करिब १५ हजार नागरिकको ज्यान गइसकेको छ । (एएफपी)

प्रतिक्रिया