४१ लाख बिगोसहित एक वर्ष कैद

काठमाडौ, २० असार । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा एक भारतीय नागरिकलाई दोषी ठहर गर्दै ४१ लाख बिगो तथा जरिवाना र एक वर्ष कैद सजाय सुनाएको छ ।
विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्य न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले मंगलबार भारतीय नागरिक धर्मवीर पासवानविरुद्ध यस्तो फैसला सुनाएको हो । भारत जयनगरबाट नेपाल आउँदै गर्दा पासवान जनकपुर रेलवे स्टेसनमा गत २ कात्तिकमा नगदसहित पक्राउ परेका थिए । २० लाख ५० हजार २० रुपियाँ नगदसहित पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सम्पत्ति शुद्धीकरण मुद्दा चलाएको थियो । उक्त मुद्दाको फैसला गर्दै विशेषले बिगोबराबरको जरिवाना र एक वर्ष कैद सजाय सुनाएको प्रवक्ता धीरबहादुर चन्दले जानकारी दिएका छन् ।
आफ्ना बाबु राजकुमार पासवानले जनकपुरका प्रकाशजंग राणासँग भारतमा व्यापार गर्न सापटी लिएको रकम व्यापार नभएपछि फिर्ता गर्न जनकपुर आइपुग्दा आफू पक्राउ परेको दाबी पासवानले गर्दै आएका थिए । विशेषले भने उनको जिकिरप्रति सहमति हुन नसकिने भन्दै यस्तो फैसला गरेको हो ।
‘पासवानसँग जनकपुर रेल्वे स्टेसनमा बरामद नेपाली रुपियाँ २० लाख ५० हजार बाबुले व्यापार गर्न सापटी लगेको रकम नै हो भन्ने उनको जिकिरलाई कुनै आधिकारिक प्रमाणबाट समर्थन गरेको पाइएन,’ फैसलामा भनिएको छ ।

प्रतिक्रिया