प्रधानमन्त्री जातीय राजनीति गर्दै छन्

काठमाडौं, १९ असार । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले नयाँ संविधान निर्माण र राज्य पुनर्संरचनाका विषयमा दलहरुका वीच सहमति हुन नसक्ने बुँदालाई जनमत संग्रहमा लैजानुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघले तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले मिल्न सक्ने विषयलाई सहमति गर्ने बाँकीलाई विवादितलाई जनमत संग्रहबाट टुङगाउनु पर्ने जनाएका हुन् । उनले भने, ‘संविधान र राज्य पुनर्संरचनाका विवादित विषयलाई जनमत संग्रहमा लैजाऔं ।’
कांग्रेस जातीय राज्यको विपक्षमा रहेको बताएका महामन्त्री सिंहले प्रधानमन्त्री बाबुराम भट्टराईले पुनः जातीयताको नारा उछाल्न लागेको आरोप लगाए । उनले सबैको पहिचानलाई स्वीकार गर्नुपर्ने बताए ।
‘सहमति गरेर जानुपर्ने ठाउँमा प्रधामन्त्री भट्टराईले जातीय कुरा गर्दै छन्,’ उनले भने, ‘जातीय कुराले मुलुकमा सहमति नभई द्वन्द्व निम्ताउछ ।’
मधेस केन्द्रीत राजनीतिक दलहरु सत्ताका लागि जेपनि गर्ने गरेको आरोप लगाउदै महामन्त्री सिंहले भने, ‘तराईलाई एउटै बनाउन प्रस्ताव गर्ने, तर पहाडलाई जति बनाउदा पनि नबोल्ने यस्तो पनि राजनीति हुन्छ ?’
एमाओवादीको जातीय राजनीति मोहले मुलुक पुनः द्वन्द्वमा फस्ने अवस्था सृजना हुन लागेको दाबी गरे ।
कार्यक्रममा नेविसंघले हालै प्रकाशित २०६८ सालको एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याएका पाँच जना छात्र र पाँच छात्रालाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया