बाढीले चमेलिया प्रभावित

काठमाडौं, १९ असार । बाढीको कारण सुदूरपश्चिम क्षेत्रमा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको निर्माणमा असर परेको छ । सोही कारण आयोजना निर्माणको अवधि करिब ६ महिना लम्बिने भएको छ ।
आइतबार राति आएको बाढी विद्युत् गृहभित्र छिर्नु तथा अडिट नम्बर–२ जाने मोटरबाटो बगाएपछि निर्माणमा असर पुगेको हो । बाढीले मोटरबाटो बगाएपछि अडिट–२ को कंक्रिटलगायत काम रोकिएको छ । त्यसैगरी, बाढीभित्र छिर्दा टर्वाइनमा बालुवा, हिलो, फोहोरलगायत पसेको छ । ‘बाढीले गर्दा टर्वाइन पुन: सफा गरेर पुन: जडान गर्नुपर्ने भएको छ, अडिट नम्बर–२ जाने मोटरबाटो बलाँच खोलाले बगाएपछि कंक्रिटलगायत कार्य पनि रोकिएको छ,’ आयोजना प्रमुख गोपालबाबु भट्टराईले भने, ‘वर्षामा थप बाढी आउन सक्ने भएकाले अब वर्षा सकेपछि मात्र काम गर्नुपर्ने हुन्छ ।’
उनका अनुसार टर्वाइन सफा गरेर पुन: जडान गर्नका लागि करिब तीन महिना लाग्छ । वर्षापछि मात्र टर्वाइन जडान र अडिट नं. २ को काम अघि बढाउने भएकाले आयोजनाको निर्माणमा ढिलाइ हुने अवस्था आएको उनले जानकारी दिए । बलाँच खोलामा बाढी आएपछि टेरेस हुँदै पानी विद्युत् गृहभित्र छिरेको थियो ।
दक्षिण कोरियाको सहयोगमा निर्माणाधीन सो आयोजना ३० मेघावाट क्षमताको छ । दार्चुलाको शिखर गाविस–४ मा बन्न लागेको चमेलिया जलविद्युत् आयोजना राजधानी काठमाडौंबाट नौ सय ५० किलोमिटर टाढा छ । सन् २००७ मा सुरु भएको आयोजना सन् २०१३ अगस्टमा सिध्याउने लक्ष्य छ । तर, बाढीले क्षति पुर्‍याएपछि निर्माणमा करिब ६ महिना पछाडि धकेलिने अवस्थामा पुगेको आयोजनाले जनाएको छ । वर्षा सिद्धिएपछि मात्र काम सुरु गर्ने र काम सुरु गरेपछि कम्तीमा तीन महिना लाग्ने भएकाले आयोजनाको निर्माण ६ महिना पछाडि धकेलिएको हो । आयोजनाको सात किलोमिटर लामो सुरुङको ब्रेक थु्रु भइसकेको छ । आयोजना प्रमुख भट्टराईका अनुसार अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । अहिले आयोजनाको विद्युत् गृहको काम र बाँध निर्माणकार्य भइरहे पनि ठूलो बाढी आएमा त्यो पनि रोकिने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया