अस्पतालको बेडबाट लडेर बिरामीको मृत्यु

बुटवल, १९ असार । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचाररत एक बिरामीको अस्पतालको बेडबाट लडेर मृत्यु भएको आरोप परिवारजनले लगाएका छन् ।

अस्पतालमा भर्ना भएका बुटवल–१३ देवीनगरका २८ वर्षीय सुरेश रानामगरको मृत्यु भएको हो । सिसियु कक्षमा रहेका उनको आइतबार बिहान बेडबाट लडेर मृत्यु भएको बताइएको छ । सिसियु कक्षमा बिरामीका कुरुवा बस्न पाउँदैनन् ।
अस्पताल प्रशासनले बिरामीको बेडबाट लडेर मृत्यु नभएको दाबी गर्दै रोगकै कारण मृत्यु भएको बताएको छ । अस्पताल प्रशासन फाँटका दिवाकर पाण्डेले रोगकै कारण बिरामीको मृत्यु भएको बताए । ‘बिरामीको एउटा हात थिएन,’ पाण्डेले भने, ‘१०–१० मिनेटमा कोल्टो फेर्नुपर्ने बिरामी लडेर मृत्यु भएको होइन ।’
मृतकका आफन्तले भने अस्पतालले वास्तविकता बंग्याएर घटनालाई ढाकछोप गरेको बताएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि मगरका आफन्तले शुक्रबार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उनलाई भर्ना गरेका थिए । अस्पतालले आइसियुमा राख्नुपर्ने बताएपछि सोही राति १ बजे उनलाई भैरहवा रिफर गरिएको थियो ।
मृतकका भिनाजु छविलाल झेडीमगरका अनुसार चिकित्सकको जाँच र रिपोर्टका आधारमा ‘मुटुको समस्या’ भन्दै आइसियुमा भर्ना गरिएको थियो । आइसियुमा बिरामीका लागि बेड खाली नभएपछि अस्पतालकै सल्लाहमा दैनिक २ हजार रुपियाँ तिर्ने गरी सिसियु कक्षमा भर्ना गरिएको थियो ।
मगर जन्डिस भएपछि उपचार गरेर निको भएका थिए । तर, कमजोर महसुस भएपछि उनलाई अस्पताल लगिएको थियो । साढे ८ बजे सिसियु कक्षमा भर्ना भएका अर्का एक बिरामीका आफन्तले उनलाई भुइँमा लडेको भेट्टयाएका थिए । त्यसपछि मात्रै डयुटीमा खटिएका नर्सले उनलाई भुइँबाट उठाएर बेडमा सुताएका थिए । अस्पताल प्रशासन शाखाले भने नर्सहरूले औषधि खुवाउने क्रममा बिरामी छटपटाएर नर्सले धान्न नसकेपछि बेडबाट झरेको दाबी
गरेको छ ।
बेडबाट लड्नुभन्दा १५ मिनेटअघि मगरले चिया, बिस्कुट खानुका साथै आफन्तसँग कुराकानी गरेका थिए । मगरकी पत्नी र सात महिनाकी छोरी छन् । उनले देवीनगरमा पसल गरेर गुजारा चलाएका थिए । बिरामीका आफन्तले पीडित पक्षलाई राहत उपलब्ध गराउन माग गरेका छन् । अस्पतालले भने पैसा दिने व्यवस्था नभएकोले पत्नीलाई रोजगारी दिने प्रस्ताव राखेको छ ।

प्रतिक्रिया