आपराधिक घटना बढेको आयोगको ठहर

काठमाडौं, १८ असार । राष्ट्रिय मानव अधिकार आयोगले देशमा भइरहेका हत्या–हिंसा र अपहरणका अपराधिक घट्नाहरु तत्कालन नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आज विज्ञप्ति जारी गरेर नागरिकको स्वतन्त्रतापूर्वक एवम् निर्भयतापूर्वक बाँच्न पाउने हकको सम्मान गर्न सरकारसँग आग्रह गरेको हो ।
‘देशमा देखापरेको हत्या–हिंसा, अपरहरण, बढ्दो महंगी, मलको अभाव, राजनीतिक भैm–झगडा, राजनीतिक असहिष्णुता, त्रिभुवन विश्वविद्यालयमा भएको आगजनी, सडक दुर्घटना एवम् प्राकृतिक विपत्तिका घट्नाप्रति आयोगको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
आकाशिंदो किसिमले महंगी बढिरहेको भन्दै आयोगले अप्राकृतिक रुपमा बढेको महंगीको कारण पत्ता लगाई रोक्न समेत भनेको छ ।
‘मलको अभाव देखापरेको छ,’ विज्ञप्तिमा आयोगले भनेको छ, ‘सर्वसाधारण किसानको जीविकामा मात्रै होइन, अन्न उत्पादनमा समेत असर पर्ने देखिन्छ ।’
रोगको रुपमा रहेको दण्डहीनतालाई अन्त्य गर्न, राज्यको पुनःसंरचना तथा संघीयतालगायत थाँती रहेका राजनीतिक विवादलाई यथाशक्य छिटो अन्त्य गर्न पनि आयोगले भनेको छ । राजनीतिक अस्थिरतालाई छलफल र सहमतिबाट तार्किक निष्कर्षमा पुराउन सवै सरोकारवाला पक्षहरुसंग आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया