परमाणु ऊर्जा केन्द्रको विरोध

टोकियो : जापानमा गत वर्षको सुनामीपछि बन्द गरिएका पारमाणविक ऊर्जा केन्द्रमध्ये एउटा पुन: सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । जापान सरकारले आइतबार सो केन्द्र सञ्चालनको अन्तिम तयारी गरिरहँदा जापानी नागरिकले चाहिँ विरोध गरेका छन् ।
जापानको फुकुसिमास्थित दुईवटा पारमाणविक केन्द्रमध्ये एउटा पुन: सञ्चालन गर्ने सरकारले बताएको थियो । ११ मार्च सन् २०११ मा जापानमा आएको विनाशकारी सुनामीका कारण सबैभन्दा बढी असर फुकुसिमामा परेपछि सो क्षेत्रका पारमाणविक केन्द्र सरकारले बन्द गरको थियो ।
सुनामीका कारण ती केन्द्र फुटेका र यसका कारण ती केन्द्रबाट निस्किएको रेडियोधर्मी विकिरणले मानवस्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै नागरिकले त्यसको विरोध गरेका हुन् । परमाणु केन्द्रबाट निस्किने विकिरणले मानव थाइरायड ग्रन्थीमा प्रभाव पर्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ । साथै, यसकै कारण बालबालिकामा क्यान्सरको खतरा रहने गर्दछ । फुकुसिमाका अतिरिक्त जापान सरकारले पश्चिमी जापानस्थित ओई नामक केन्द्र सञ्चालनको अन्तिम तयारी थालेको थियो । तर, नागरिकले सो तयारीका लागि आवश्यक पर्ने सरसामान बोक्ने बाटो नै बन्द गरिदिएको बताइएको छ । (एएफपी)

प्रतिक्रिया