माओवादी विभाजनको नियति

तीन वर्ष लामो अन्तरसंघर्षपछि एमाओवादी विधिवत रूपमा विभाजित भएको छ । नेपालको सबैभन्दा ठूलो पार्टी र जनयुद्धबाट मुलुकलाई रूपान्तरण गर्ने लक्ष्य र कार्यभार लिएको यो पार्टीको बेमौसममा भएको विभाजनले गर्दा जनतामा नराम्रो सन्देश गएको छ । विभाजन हुनुपछाडिका कारण र यसले पार्ने प्रभावका बारेमा विभिन्न आँकलन पनि भएका छन् । एकता, संघर्ष र रूपान्तरण वा एकता संघर्ष र नयाँ उचाइमा एकता माओत्सेतुङ र लेनिनको पार्टी संगठनको सिद्धान्त हो । त्यही सिद्धान्त मान्ने यो पार्टीभित्रै संघर्ष, संघर्षबाट विभाजन र विघटनतर्फको यात्राले नेपालमा कम्युनिस्टहरूको आपसी फुट र विभाजनको रोग पुन: बल्झिएको छ । फुटवादको गैरमाक्र्सवादी रूढिवाद र संकीर्णताले गर्दा बेमौसममा जनविद्रोह र नयाँ जनयुद्धको उद्घोष्सहित भएको विभाजनले हजारौँ सहिदको बलिदानबाट प्राप्त उपलब्धिसमेत खतरामा परेका छन् ।
एमाओवादीभित्रका मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको क्रान्तिकारी विचार समूहले विभाजनअगाडि जनविद्रोह र जनयुद्धको लाइन संस्थापन पक्षले त्यागेको आरोप लगायो । आत्मसमर्पणवाद र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई त्यागी दक्षिणपन्थी संसद्वाद, संशोधनवाद तथा राष्ट्रिय आत्मसमर्पणवादमा फसेको आरोप पनि लगायो । पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्न र नयाँ जनवादको क्रान्तिकारी झन्डालाई दह्रोसँग उठाउन भनी संघर्ष गर्दै आएको र जनवादको नीति लिई पार्टीलाई क्रान्तिकारी धारमा रूपान्तरण गरे मात्र एकता हुन सक्ने दाबी वैद्य पक्षले गर्‍यो । उसले प्रचण्ड रूपान्तरण भएमा मात्र रूपान्तरित पार्टीमा एकता हुनसक्ने भन्ने प्रस्ताव गरेको थियो । यसपछि राष्ट्रिय कार्यकर्ता भेला बोलाएर पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्नुभन्दा विभाजन गरी नयाँ पार्टी गठन गरिएपछि यो पार्टी विभाजन नियोजित वा प्रायोजित रूपमा भएको अनुभव गरिएको छ ।
पार्टी विभाजनपछि बसेको पहिलो केन्द्रीय कार्य समितिको बैठकले कुनै नयाँ योजना र क्रान्तिकारी नीति दिन सेकन । नयाँ पार्टीले योजनाहरू दिन नसक्नु, सैद्धान्तिक वैचारिक र संगठनात्मक पक्षमासमेत अन्योल रहेको देखियो । यो विभाजनपछि पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने कुनै मनसाय नभएको र सोचसमेत नभएको देखापरेको छ । तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले केही एमाओवादीको विरोध गर्नु र केही पुरानै कार्यक्रमलाई अगाडि बढाउने मात्र काम गर्‍यो । गणतन्त्र आइसकेको अवस्थामा समेत पुरानो ४० बुँदे माग प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नेजस्ता घिसिपीटी कार्यक्रमहरू हेर्दा यो नवगठित पार्टी एमाओवादीभन्दा सिद्धान्त कार्यनीति र कार्यक्रममा फरक देखिएन । तसर्थ, यो विभाजन पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्नुभन्दा पनि अन्य उद्देश्यबाट भएको जस्तो छ । यसले कार्यनीतिगत र विचारधारात्मक रूपमा पार्टीलाई अगल धारमा विकसित गर्ने भनिए तापनि व्यावहारिक रूपमा नयाँपन केही देखएन । नयाँ माओवादीले जनसंविधान, जनजीविका र उपलब्धि रक्षाको माग गरी प्रचण्डले यसको नेतृत्व नगरेको, शान्ति र संविधानको लाइन असफल भएपछि विद्रोहको नेतृत्व गर्ने कार्य नगरी आत्मसमर्पण गरी संशोधनवादमा फसेको आरोप लगाएको छ । राष्ट्रिय आत्मसमर्पणवादी भन्दै नयाँ पार्टी गठन गरेपछि यसले अहिले विद्रोहको अवस्था नभएको, जनयुद्धका लागि लामो तयारी गर्नुपर्ने र यसअघिको जनयुद्धको लाइन त्रुटिपूर्ण भएको भन्नेजस्ता अभिव्यक्ति दिएको छ । राष्ट्रपतिसँग भेटी प्रधानमन्त्री बाबुरामलाई हटाउन र आफूलाई पनि राष्ट्रिय सहमतिको सरकारमा समावेश गर्न गरिएको आग्रहजस्ता कुराले गर्दा यो समूहले प्रतिक्रियाको मात्र राजनीति गरेको बुझिन्छ । संस्थापन पक्षको धारणालाई खण्डन र विरोध गर्ने कार्य गर्दै आएकाले एक्सनमा रियाक्सन मात्र भएको जस्तो लाग्छ । क्रान्ति र विद्रोहका उग्र कुराहरू क्रान्तिकारीको आवरणमा सत्ता बार्गेनिङ, व्यक्तिगत कुण्ठाको प्रतिशोध र मनोगत दृष्टि मात्र रहेको भन्न सकिन्छ । विभाजनपछिका कार्यनीति तथा क्रियाकलापले प्रमाणित गरेको कुरालाई खण्डन गर्न सकेको देखिँदैन । नयाँ पार्टीले दुई सातासम्म पनि आºनो पार्टी विभाजनको औचित्यता सिद्ध गर्न सकेको देखिँदैन ।
माओवादीभित्रको यो विभाजनका केही आन्तरिक र बाह्य कारण रहेको देखिएका छन् । यसमा लामो समयदेखि अन्तर्संघर्ष चल्दै आएको थियो । शान्ति र संविधानको लाइनबाट उद्देश्य प्राप्त हुन नसक्ने विचार पनि उठाएका थिए । तत्कालीन समयमा जनयुद्धबाट सत्तामाथि विजय प्राप्त गर्न नसकिने भएकाले शान्ति, संविधान नयाँ रूपमा क्रान्तिलाई अगाडि बढाएर राजनीतिक रूपमा आºनो उद्देश्य प्राप्त गर्ने भन्ने रहेको थियो । यसैअनुरूप १२ बुँदे सम्झौता हुँदै संविधानसभाको निर्वाचन, बृहत् शान्ति–सम्झौता र राजतन्त्रको उन्मूलन भएको हो । तर, शान्तिप्रक्रियामा देखिएका केही जटिलता र संविधान निर्माण गर्न नसकी संविधानसभाको विघटनले गर्दा यो पक्षले सशस्त्र युद्ध कायम भएको भए विजय प्राप्त गर्न सकिन्थ्यो भन्ने मनोगत विश्लेषण गरेको देखिन्छ । तर, विद्रोही सेनाको शान्तिपूर्ण, सुरक्षित अवतरण तथा संविधानसभाको विघटन भए पनि माओवादी एजेन्डालाई राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्नुले शान्ति र संविधानको मध्यमार्गी धारको उच्च विजय भएको कुरालाई भने अनदेखा गरेको पाइन्छ ।
माओवादी फुटमा मुख्य चारवटा कारण रहेका छन् । यसलाई जतिसुकै सैद्धान्तिक आवरण दिए पनि पहिलो कारण माओवादीभित्रको व्यक्तित्वको टकराव, कुण्ठा र आफूलाई बिस्तारै पाखा लगाउन खोजेको भन्ने मनोगत धारणा नै हो । साढे तीन वर्षदेखि संस्थापन पक्षले गरेका सबै कार्यको विरोध गर्ने र आफूलाई क्रान्तिकारी देखाउने तर यसको नेतृत्व प्रचण्डले गरिदिनुपर्ने भन्ने धारणा व्यक्त भएको थियो । दोस्रो कारणमा एमाले–कांग्रेसले माओवादीलाई कुनै पनि स्पेस दिन नचाहनु नै हो । सुरुमा सत्ता हस्तान्तरण गर्न नचाहनु, पछि पशुपतिको पुरेतकाण्ड, खेलकुदको नियुक्ति, एकेडेमीको नियुक्ति इन्द्रजात्राकाण्ड, कटुवालकाण्ड संविधानसभाभित्र माओवादीले उठाएका सबै कुराको विरोध थियो । यसैगरी, संविधानमा लेख्न नदिनका लागि मोर्चाबन्दी आदिले गर्दा संसद्वादी दल एमाले–कांग्रेसले कुनै पनि हालतमा माओवादीलाई स्पेस दिन चाहँदैनन् भन्ने मानसिकता विकसित हुनु र खासगरी गिरिजाप्रसाद कोइरालाले सरकार सञ्चालन गर्न सर्वोच्च परिषद् गठन गर्न रोकिनुका कारणले पनि सहयात्री बने । साथै गिरिजाको मृत्युपछि माओवादीलाई निषेध गर्न चाहने शक्तिले घेराबन्दी गर्नुले किरणपन्थीहरूले शान्ति र संविधानमार्फत् आºनो उद्देश्य पूरा हुन सक्दैन भन्ने ठाने । यसबीचमा प्रचण्डले भारत र चीनसँग प्रत्यक्ष कुरा गरी आफूप्रतिको दृष्टिकोणमा परिवर्तन गराए र संसद्वादी दलहरूलाई टेबुलमै बसेर सहमतिका लागि बाध्य गर्नु र लचकता अपनाउनुलाई यान्त्रिक रूपमा मात्र बुझेर आत्मसमर्पण र विसर्जन देख्ने मनोवादी सोच पनि यसको कारणले मुख्य कारण भनेको रिम र खासगरी अमेरिकाको रिभ्युलुसनरी वर्कर पार्टीले अन्तर्राष्ट्रिय आन्दोलनलाई फुटाएर आºनो नियन्त्रणमा राख्न यो काम गरे । साथै क्रान्तिको खेती र व्यापारको व्यवसाय गर्नेहरूले नेपालमा प्रचण्डको निर्देशन मान्न अस्वीकार गरेपछि तीन वर्षअगाडि रिमका टोली नै आएर किरण, बादल, विप्लव र गौरवहरूसँग भेटेर नयाँ पार्टी गठन गर्न दिएको दबाब नै यो फुटको मुख्य कारण रहेको देखिन्छ ।
यो विभाजनपछि नेपालको राजनीतिमा तीन धु्रवीकरणको स्थिति विकसित भएको छ । नयाँ माओवादीले राष्ट्रवाद, कांग्रेस एमालेले लोकतन्त्र र एकीकृत माओवादीले पहिचानसहितको संघीयतालाई आºनो एजेन्डाका रूपमा अगाडि सारेका छन् । पूर्वराजा सक्रिय भएर पश्चिमाञ्चलको भ्रमणमा निस्किए । पूर्वराजाले कांग्रेस र एमालेलाई नेतृत्व दिन प्रस्ताव गरेकालाई यी दलले स्वीकार गर्न आलटाल गरेपछि नयाँ राष्ट्रवादी मोर्चाको नेतृत्व गर्न किरणपन्थी र ज्ञानेन्द्रपन्थीबीच मोर्चाबन्दी हुन सक्ने देखिएको छ । नयाँ जातीय दल खडा गर्दा प्रत्युत्पादक र अराजनीतिक हुने हुँदा जातिवादी, आदिवासी र जनजाति दलका कार्यकर्ता एमाओवादीको मोर्चामा आउने सम्भावना छ । यो त्रिपक्षीय संघर्षले मुलुकको अन्योलतालाई अम बढाउने र अपवित्र खेलहरू हुन सक्ने खतरा बढेको छ ।

प्रतिक्रिया