कोइराला–खनाल भेट आफैँ प्रधानमन्त्री बन्ने कोइरालाको संकेत

काठमाडौं, १८ असार । कांग्रेस सभापति सुशील कोइरालाले सहमतीय सरकारको नेतृत्व कांग्रेसलाई दिन एमालेसमक्ष औपचारिक प्रस्ताव गरेका छन् । आइतबार साँझ एमाले अध्यक्ष खनाललाई भेट्न उनको निवास डल्लु पुगेका कोइरालाले पार्टीको तर्फबाट आफैँ प्रधानमन्त्रीको उम्मेदवार हुने संकेत पनि गरेका छन् ।

स्रोतका अनुसार दलहरूले कांग्रेसलाई समर्थन गर्ने सकारात्मक तत्परता देखाए पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार केही दिनभित्रै टुंग्याएर आउने खनाललाई आश्वासन दिए । खनालले कांग्रेसको नेतृत्वमा सहमतीय सरकार बनाउन आफूहरू सकारात्मक भएको बताउँदै त्यसका लागि पार्टीभित्रैबाट प्रधानमन्त्रीको उम्मेदवार टुंगो गर्न र पहल अघि बढाउन कोइरालालाई आग्रह गरेका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्रीको उम्मेदवारबारे केही दिनभित्रै पार्टीमा छलफल गरी टुंग्याएर आउने जनाउँदै कोइरालाले प्रधानमन्त्रीको उम्मेदवार आफैँ बन्ने संकेत गरेका थिए । ‘विगतमै भएको सहमतिअनुसार अबको सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्नेमा विमति राखेका छैनौँ,’ खनालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर, कामचलाउ सरकार लम्बिने अवस्थामा पुग्दा पनि तपाईंहरूका तर्फबाट सरकारको नेतृत्वबारे निर्णय लिन तत्परता नभएको देखिन्छ ।’
कांग्रेसभित्र प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न असहज भए एमाले नेतृत्वका लागि तयार रहेको खनालले कोइरालालाई बताए । ‘अब यो स्थिति लम्ब्याउनु मुलुकका लागि घातक हुन्छ,’ खनालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरू छिट्टै निर्णयमा पुगेर पहल अघि बढाउनुस् ।’ भेटपछि कांग्रेस सभापति कोइरालाले संवैधानिक रूपले कामचलाउ भइसकेको सरकारले सहमतिको सरकार गठनका लागि बाटो खोल्नुपर्ने बताए ।
‘संवैधानिक रूपमा सरकार कामचलाउ अवस्थामा पुगिसकेको छ,’ कोइरालाले भने, ‘हामीले अहिलेको यही समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल गरेका छौँ ।’ सरकारका विषयमा भएको संवादमा कोइरालाले कांग्रेस सरकारको नेतृत्व लिन तत्पर रहेको र अन्य दलसँग पनि छलफल चलाएको बताएका थिए । उनले कांग्रेस नेतृत्वमा सरकार बनाउन दलहरू सकारात्मक हुनासाथ आºनो उम्मेदवार अघि सार्ने प्रतिबद्धता जनाए ।
‘उम्मेदवारको विषयमा एक/दुई दिनभित्रै टुंग्याउँछौँ, प्रारम्भमा अरू दलबीच कांग्रेसको नेतृत्वबारे समझदारी बनाउनुपर्‍यो,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । सरकारले अध्यादेशमार्फत ल्याउन लागेको बजेट र बिपक्षी गठबन्धनले घोषणा गरेको आन्दोलनका विषयमा पनि उनीहरूबीच छलफल भएको थियो । ‘राष्ट्रिय सहमतिको सरकार, आगामी बजेट र हामीले तय गरेको आन्दोलनका विषयमा छलफल भयो,’ भेटपछि एमाले अध्यक्ष खनालले भने, ‘दलहरूबीच छिटो सहमति गरेर मुलुकलाई निकास दिनुपर्छ र कामचलाउ सरकारको अवस्था लम्याउनुहुँदैन भन्नेमा दुई दल सहमत छौँ ।’
कामचलाउ सरकारले दलहरूबीचको सहमतिबेगर अध्यादेशमार्फत नयाँ बजेट ल्याउन खोजे प्रतिवाद गर्ने रणनीति दुई दलले बनाएका छन् । दलहरूबीच सहमति गरेर मात्र नयाँ बजेट आउन सक्ने उनीहरूको निष्कर्ष छ । ‘कामचलाउ बनिसकेको सरकारले जबर्जस्ती बजेट ल्याउन खोजे त्यसको प्रतिवाद हुन्छ,’ खनालले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहमतिभन्दा बाहिरबाट बजेट नल्याउन हामीले पहिले नै सजग बनाइसकेका छौँ, त्यसविपरीत बलजºती गरे मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पर्छ ।’ भेटपछि कांग्रेस सभापति कोइरालाले पनि दलहरूबीचको सहमतिबेगर बजेट आउन नसक्ने दाबी गरे । खनालनिवास डल्लुमा दुई नेताबीच करिब एक घन्टा छलफल भएको थियो ।

प्रतिक्रिया