यादव एकातिर र गैरयादव अर्कोतिर

काठमाडौं, १८ असार । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक फुटेको केही दिनमै अर्को मधेसी दल पनि फुट्दै छ । फुट्ने पालो आएको छ फोरम गणतान्त्रिकको ।
फोरम गणतान्त्रिकका नन्दन दत्त, आत्माराम साह, सुरिता साहलगायत नेताले आइतबार कार्यवाहक अध्यक्ष तथा सञ्चारमन्त्री राजकिशोर यादवलाई हटाएको घोषणा गरेपछि पार्टी दुई चिरा परेको हो । उनीहरूले आइतबार निर्वाचन आयोगलाई पत्र लेखेर यादवलाई पार्टीको कार्यवाहक अध्यक्षबाट हटाई नन्दन दत्तलाई कार्यवाहक अध्यक्ष चयन गरेको जानकारी गराएका छन् । निर्वाचन आयोगमा पठाइएको पत्रमा २२ जना केन्द्रीय सदस्यमध्ये १२ जनाको हस्ताक्षर छ ।
उता, राजकिशोर यादव पक्षधरले सोमबार पार्टीको केन्द्रीय समिति बैठक गरी नन्दन दत्तलगायत नेतालाई हटाउने घोषणा गरेका छन् । केन्द्रीय समितिमा रहेका यादव नेताहरूले राजकिशोरलाई र गैरयादवले नन्दन दत्तलाई साथ दिएको बुझिएको छ । राजकिशोरलाई राजलाल यादव, बिपी यादव, जयनाथ यादव, गजाधर यादव, चन्द्रिका यादव र दुई गैरयादव कुन्दन पाण्डे र अकबल अली साहले सहयोग गरेका छन् । विगतमा एकअर्काबीच कुटाकुट नै गरेका राजलाल यादव र बिपी यादव अहिले एकै ठाउँमा उभिएका छन् ।
‘मलाई गैरयादवले पनि साथ दिएका छन् । हामी स्पष्ट बहुमतमा छौँ । पार्टीमा रडाको उत्पन्न गरेका दुई/तीनजना नेतालाई सोमबार हटाउँछौँ,’ सौर्यसँगको कुराकानीमा राजकिशोर यादवले भने, ‘उनीहरूलाई हटाएपछि पार्टी सही ट्रयाकमा आउँछ ।’
उता, नन्दन दत्त पक्षधर नेताले डिल्लीबजार कारागारमा रहेका अध्यक्ष जेपी गुप्तासमेतको समर्थनमा गणतान्त्रिकले यादवलाई हटाएको दाबी गरेका छन् । उनीहरूको गत १२ असारमा बसेको केन्द्रीय समिति बैठकले नन्दनकुमार दत्तलाई कार्यवाहक अध्यक्ष घोषणा गरेको हो । उनीहरूले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरम (गणतान्त्रिक) का १२ जनाको प्रत्यक्ष र जिल्लाबाहिर रहेका दुईजना केन्द्रीय सदस्यको टेलिफोनबाट दिएको समर्थनमा पार्टी नेतृत्व परिवर्तन गरिएको नवकार्यवाहक अध्यक्ष नन्दनकुमार दत्तले पत्रकारलाई बताए ।
पार्टी अध्यक्ष गुप्ताको अनुपस्थितिमा यादव गणतान्त्रिक फोरमको विधानअनुसारको दायित्व पूरा गर्न अक्षम देखिएको, पार्टी हितविपरीत स्वेच्छचारी ढंगबाट अगाडि बढेर अनुशासनहीन काम गरेको भन्दै पार्टी विधानको धारा १३ (क) (५) र (८) अनुसार केन्द्रीय सदस्यबाट समेत हटाइएको दत्तको भनाइ छ ।
पत्रकार सम्मेलनमा नन्दनकुमार दत्त, आत्माराम प्रसाद साह, श्रीमती सन्ध्या देव, श्रीमती सुरिता साह, खालिद सिद्धिकी, सीताराम अग्रवाल, गणेश यादव, अब्दुल जब्बार, उमेशलाल दास, सलमा खातुन मिकरानी, नन्दकिशोर साह र राजीव झाको उपस्थिति थियो । दत्तले राजकिशोरलाई पार्टीबाट निष्कासन गरेकाले प्रधानमन्त्री
डा. बाबुराम भट्टराईले आजैको मितिदेखि सञ्चारमन्त्रीबाट हटाउनुपर्ने माग गरे ।
‘यो सरकारको अस्तित्व समाप्त भइसकेकाले सञ्चारमन्त्रीलाई हटाउने मात्रै होइन, फोरम गणतान्त्रिकले सरकारमा बसिरहन मिल्दैन । आजैको मितिदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ,’ कार्यक्रममा सुरिता साहले भनिन् ।
आइतबार नै राजकिशोर यादव पक्षधरले छलफल गरेका छन् । उनीहरूले सञ्चारमन्त्रीको विरोधमा हस्ताक्षर गर्नेहरूमध्ये केही नेतालाई हटाउने तयारी गर्दै छन् । ‘निर्वाचन अयोगमा पठाइएको भनिएको पत्रमा केहीको नक्कली हस्ताक्षर गरिएको छ । ज–जसले यस्तो काम गरे, उनीहरूले पार्टीको नीति, नियम र अनुशासनको चरम उल्लंघन गरेका छन्,’ राजकिशोर यादवले भने ।

प्रतिक्रिया