आफ्नै देशमा पछि परे बोल्ट


किंग्सटन, १७ असार । विश्वकै सबैभन्दा तेज गतिका धावक जमैकन युसान बोल्ट आसन्न लन्डन ओलम्पिक खेलकुदका लागि भएको राष्ट्रिय ‘ट्रायल’ मा शीर्षस्थान हात पार्न असफल भएपछि ओलम्पिकमा उनको उपाधि रक्षा गर्ने अभियानप्रति आशंका सुरु भएको छ । एक सय मिटर दूरीका यी कीर्तिमानी धावकलाई योहान ब्ल्याकले पछि पारेका हुन् ।
दुई सय मिटर दूरीमा समेत विश्वकीर्तिमान कायम गरेका बोल्टले चीनको बेइजिङमा सम्पन्न पछिल्लो ओलम्पिक खेलकुदमा एक सय र दुई सय मिटर स्पर्धामा स्वर्णपदक जितेका थिए । ‘मैले यस नतिजालाई भुल्नुपर्छ,’ दोस्रो स्थानमा सीमित भएपछि बोल्टले भने, ‘ममा केही समस्या छ तर ओलम्पिकमा मैले नै जित्छु भन्ने भावना ममा कायम हुनु जरुरी छ ।’ यो सिजन आफ्नो सबैभन्दा छिटो समय ९.७५ सेकेन्डका साथ ब्ल्याकले राष्ट्रिय ट्रायल पूरा गरेका थिए । ९ दशमलव ८६ सेकेन्डका साथ बोल्ट दोस्रो भए । त्यस्तै ९.८८ सेकेन्डका साथ असफा पावेल तेस्रो भए ।
बोल्टलाई पराजित गर्ने योहान आफैमा ठूला खेलाडी हुन् । उनी अहिलेका विश्व च्याम्पियन हुन् भने घरेलु च्याम्पियन पनि । सेमिफाइनलमा ‘फल्स स्टार्ट’ गरेका कारण बोल्ट गत विश्व च्याम्पियनसिपमा उपाधि रक्षा गर्नबाट चुकेका थिए । प्राविधिक कारणले उक्त नतिजा आएकोले अहिलेसम्म पनि एक सय मिटर दूरीमा बोल्टलाई चुनौती दिने खेलाडी नरहेको मानिंदै आएको थियो । बर्लिन विश्व च्याम्पियनसिपमा ९ दशमलव ५८ सेकेन्डमा १ सय मिटर दूरी पूरा गरी बोल्टले विश्वकीर्तिमान बनाएका थिए । यो समयको वरिपरि अहिले कुनै पनि खेलाडी देखिएका छैनन् ।
यस नतिजापछि २७ जुलाईबाट लन्डनमा सुरु हुने ओलम्पिकमा १ सय मिटरमा उपाधि होड खुलाभैंm देखिएको छ । आसन्न ओलम्पिकमा १ सय मिटर दूरीमा बोल्ट र ब्ल्याक दुवैले जमैकाको प्रतिनिधित्व गर्नेछन् । ‘प्रशिक्षक मिल्सले तिमी पहिलो हुन सक्छौ भन्नुभयो र मलाई पनि विश्वास भयो,’ जितपछि ब्ल्याकले भने, ‘मेरा लागि अब ओलम्पिक केन्द्रमा रहेको छ ।’ बोल्टले ब्ल्याक विश्वका उत्कृष्ट धावकमध्ये एक भएको बताए । ‘विगत एक वर्षभन्दा बढी समयदेखि ऊ विश्वका राम्रा खेलाडीमध्ये एक हो,’ बोल्टले भने, ‘मेरो सुरुआत नै कमजोर भयो । यस्ता गल्तीलाई कम गर्ने प्रयास गर्छु ।’

प्रतिक्रिया