लिपनीमालमा झडप, दर्जन घाईते

वीरगन्ज, १६ असार । बाराको लिपनीमालमा आज दिउँसो प्रहरी र स्थानीय गाँउलेबीच झडप भएको छ ।
झडपका क्रममा प्रहरीले हवाई फायरिङ र अश्रु ग्याँस प्रहार गरेको छ । झडपमा दुवै तर्फ १२ जना बढि घाइते भएका छन् ।
लिपनीमालमा रहेको नारायणी राईस मिलबाट निस्कने प्रदुषणको विरोध गर्दै स्थानीयवासीले अवरुद्ध पारेको सडक खुलाउने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको हो ।
झडपमा प्रदर्शनकारीले हानेको ढुङगा लागेर प्रहरी तर्फ ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक के.पी. शर्माले जानकारी दिए ।
घाइते हुने प्रहरीहरुमा एसटिएफका नायव निरीक्षक राजेन्द्र चन्द, प्रहरी सहायक निरीक्षक राजेन्द्र चौधरी, प्रहरी हवल्दारहरु टेक बहादुर घिमिरे, पदम बहादुर र अन्य दुई जना प्रहरी जवान रहेका छन् ।
त्यस्तै प्रहरीको लाठी प्रहारबाट सात जना प्रदर्शनकारी पनि घाइते भएका छन् । घाइते सबैको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।
सडक खुलाउन पुगेको प्रहरीको टोली र गाडी माथि प्रहरीले एक्कासी ढुङगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको प्रहरी निरीक्षक शर्माले बताए ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले दस राउण्ड हवाइ फायर र दुई राउण्ड अश्रु ग्याँस प्रहार गर्नुपरेको दाबी गरेको छ ।

प्रतिक्रिया