फोहोर : एक आधुनिक शोककाव्य


भर्खरै पहिलो ड्राफ्ट लेखिएको कविता ‘फोहोर : एक आधुनिक शोककव्य’लाई डायरीमा राखेर म चितवन पुगेको थिएँ । चितवन नगएको र कवि मित्रहरूको हत्यारा चेतनासँग नजुधेको थुप्रै समय भएको थियो । दिदीकहाँ भाइटीका लगाउन जाँदा संग्रहमा राख्ने वा नराख्ने निर्णयमा पर्न नसकेका केही आउटसाइडर कविता लिएर गएको थिएँ । तिनको परिचय दिनु थियो कवि मित्रहरूलाई र मैले प्रकाशित गर्न खोजेको कविताको समूह ‘र नि:शब्द’मा प्रवेश गराउने वा नगराउने कविताबारे निर्णय लिने मनस्थिति थियो । बतासमा लहरिँदै आउने आफ्नी सकम्बरीको सम्झनामा भट्किरहने आत्मा बोकेर कवि सुमनराज आइपुगे । वासुदेवले डुंगा खियाउने नदी किनारमा नलगेर उनले मलाई लगे निलो फ्रकको स्कुल युनिफर्म लगाएर लोलिताहरूले प्रथम प्रेम गर्ने जंगल छेउ । तर, त्यहाँ वरिपरि झ्याङ छेउछाउ कतै ती देखिएनन् । कस्तो आत्माविहीन महसुस भयो के भन्नु । ‘ल भन्नु दाइ के छ ?’ उही औपचारिक संवाद बोले सुमनले ।
म फिस्स हाँसिदिए मात्र । भने हुने तर भनिनँ– ‘के हुन्छ कविताको पागलपन बोकेर हिँड्नेसँग त्यही पागलपनबाहेक । बरु, अनौपचारिक रूपमा सुरु गरेँ कविताहरू र बजाउन थालेँ हृदयका वैचारिक तारहरू ।’ मैले भर्खरै सुनाएको यही ‘फोहोर’ कविता सुमनले मन पराए । र, भने– यसमा वैचारिक स्पष्टता र समय अनि समाजको रङ आएको छ । तब यो कविताप्रति केही विश्वस्त भएँ अनि तरंगित भएँ– ल अब तँ पनि प्रेमिकाको सूचीमा परिस् । स्वयं कविकै प्रेमिका हुन नसक्ने सिर्जनालाई कुनचाहिँ कविले राख्छ र हृदयको अथिति कोठामा † कवि निमेष, निखिल र दीपक कथितले पनि यसलाई पत्याएका थिए । तर, पनि मनमा संशय थियो । अहिले ‘र नि:शब्द’ संग्रह आएपछि धेरै मित्रले यसलई पनि विषेश मन पराए ।
०००
फेरि आफ्नै सिद्धान्त, आदर्श, वादलाई च्यापेर मानिसहरू उदेकलाग्दो गरि फोहोर भएका छन् । नदीजस्तो बग्न र गीत गाउँदै खेतहरूमा पुग्न तिनीहरूलाई कहिल्यै नआउने भयो । सबका सब फोहर गरिरहेछन् । आफूलाई फोहर कहिलै नदेख्ने रोगले ग्रसित भएर हामी र हामी बाँचेको परिवेश क्यान्सर भइरहेको तीव्र आभाष फेरि पनि भइरहेको छ । मस्तिष्कमा फोहोर कविता ताजा महसुस भइरहेछ ।
त्यसबेला बालकुमारी कलेजमा प्रध्यापन गर्थँ । डेरामा एक्लो थिएँ । डेरा गरेको ठाउँ क्षेत्रपुर धेरै व्यस्त थिएन तर कोठा बाटोछेउमा थियो । झ्याल नखोलूँ गर्मी हुन्थ्यो, झ्याल खोल्यो, धुलोले हैरान बनाउँथ्यो । बिदाको दिन थियो । एकाबिहानै कोठा सफा गर्न थालेँ । भुर्इं मात्र होइन, झ्याल, भित्ता, सिलिङ र कुना पनि पुछपाछ गरेँ । अनि, बाहिर गएर हातमुख धोएर कोठामा आएँ । कोठाको नयाँ र ताजा अनुहार हेर्न बसेँ । उफ् † खुट्टामा टाँसिएर ढोकाछेउमा फोहर त आइसकेको पो थियो । त्यो फोहर त्यसरी ल्याउने म नै त थिएँ त्यहाँ । मस्तिष्कका नसाहरूमा विम्बको विद्युत्प्रवाह भयो । समुद्रको किनारमा लहर उठेझैँ कविताको पदावली उठ्दै थामिँदै गर्न थाल्यो ।
चुलोमा खाना तयार भयो । यता मस्तिष्कमा कविताको समग्रता । हाम्रो इमानदारीता, नैतिकता र विवेकमाथि देखिँदै आएको फोहरको प्रतीक । तर, हामी अरूलाई मात्र फोहर देख्ने हुँदै आएका छौँ । समाजतिर फर्केर हेर्दा हामी त सिर्फ फोहर जन्माउने फोहर । तर, स्विकार्ने कसले ? आफूलाई सफा बनाउने दिशामा लाग्ने को ? हृदयको गोप्य कोठामा आत्माले रुवाबासीको रङ पोत्न सुरु गर्‍यो । समुद्रमा छालको जस्तो बेचैनी बोकेर म निस्किन उठँे । पल्लो कोठाबाट केटाकेटीको आवाज कलिलो आवाज अकस्मात् पस्यो अनि बयली खेल्न थाल्यो, धान खेतमा बतासजस्तो । तिनको मिठो आवाजले तीनका आँखामा भएको सफा सपनालाई मेरो छातीभित्र छताछुल्ल पानीजस्तो पोखिदियो । यहीँनेर कविताको पहिलो पदावली दृश्यात्मक भयो– बालकहरूको सपना त सफा छँदै छ/अब फोहर जन्माउने म आफैँ सफा हुनु छ /सपनालाई फोहर हुनबाट जोगाउन ।
‘र नि:शब्द’ भित्र छापिएको ‘फोहोर : एक आधुनिक शोककव्य’ कविताको पहिलो पदावली यसरी लेखियो । भात खाँदाखाँदै अन्य विम्ब, प्रतीक, शैली र लयमा चलायमान भयो बतासमा उडिरहेको लहराजस्तो मस्तिष्क तरंग । विषयको सुख्खा करेसाबारीमा बलेसी बग्दै गयो । त्यहाँ कविताका सुन्दर टुसा पलाउँदै गए । एक, दुई, तीन, चार… पालुवाहरू बढ्दै गए । हाँगा आए, शाखा र पात आए, फूल फुल्न थाल्यो ।
मस्तिष्कमा लेखिएको कवितालाई खाली कागजमा तप्कन दिएँ । काँचो कविता तयार भयो । सिर्जन प्रक्रियापछि हुने तरंगले छोइँदै गएँ । चञ्चल भयो मन तर के गर्नु अबैध गर्ल–फ्रेन्ड गाउँ गएकी थिई । ऊ मलाई आफ्नो गोप्य कक्षमा हरक्षण ताजा मुस्कानले स्वागत गर्न आज तयार हुने थिइनँ । ऊ भइदिएको भए † आज पनि सुरुवाल उन्दै गर्दा भन्ने थिई– आज पनि कविता लेखियो जस्तो छ नि । अनि, मतिर मुन्टो बटारेर हेर्थी । म एकतमाससँग भित्तामा हेरिरहेको हुन्थँे । ऊ फेरि भन्थी– तिमी सारै मीठो कविता लेख्छौ । अनि, रहस्यमय हाँसो अनुहारभरि खेलाउँथी । ‘होइन प्रशन्न † के बिदाको दिन पनि कोठामा बसिरहेको ।’ कोठा पसेको एक झोक्का बतासले स्मृति र कल्पनाको गर्तमा भासिँदै गएको मलाई अकस्मात् अपहरण गर्दै भन्यो । त्यो बतास नै बोलेको थियो वा मसँगै अक्सर कोठाबाट निस्कन मन पराउने अरू कोही यसै भन्न सक्दिनँ । ‘कवि कुनो नजाने ?’ उसले भन्यो । ‘नजाने ।’ ‘उसो भए मन्दिर हिँड ।’ ‘के ठट्टा गरेको म मन्दिर जान्नँ । यति भनेर म निस्किएँ । कहाँ, कता जाने उसले मसँग केही सोधेन ।
०००
गर्मीको समय सिलिङ फ्यान फनफनी घुमिरहेको थियो । भूपिन व्याकुल भुइँमा सुकुल ओछ्याएर केही पढिरहेका थिए । कोठाभित्र पसेँ । दाइ र म निकैबेर गफियौँ । अनि मैले त्यही काँचो कविता सुनाएँ । ‘ज्योति तिमीलाई मनपर्ने कविता लेखेको रहेछ प्रशन्नले ।’ उहाँलाई कवितामा कुनै रुचि भए पो प्रतिक्रिया आउँथ्यो । उहाँ त चलचित्रको पर्दामा मस्त हुनुहुन्थ्यो । भूपिन भन्छन्– ‘सासूआमा पनि फोहोर भनेपछि सचेत हुनुहुन्छ । उहाँलाई अलिकति पनि फोहर हुनै हुँदैन । गाउँमा केटाकेटी फोहोर खेल्दाखेल्दै हुर्किन्छन् ।’ गाउँको कुराकनीपछि हामी दाजुभाइ गाउँकै विषय र कुराले तरंगित भइरह्यौँ । रुसोको प्रकृतितिर फर्क भन्ने विचारसँग रुमल्लिरहयौँ …।
संविधान बनेन । देशलाई अर्काे संकटमा हाल्ने काम भयो । यहीँनेर म फेरि दु:खित भएँ । कि कविताले भनेजस्तो फोहर जन्माउने आफू भएको कुरा यहाँ कसैले महसुस गरेनन् । सफाका लागि आफू सफा हुनु आवश्यक अहिले पनि कोहीे ठान्दैनन् । कहिले हुन्छौँ, अब हामी सफा ? यो एउटा अवसर थियो तर हामी चुक्यौँ । तथापि सफा त हुनु नै छ । ऐनाअगाडि उभिएर आफ्नो अनुहार सफा हेर्नु त छँदै छ । बालकहरूको सफा सपनालाई जोगाउन हामी सफा हुनुको विकल्प छँदै छैन ।

प्रतिक्रिया