साईप्रस पठाउने भन्दै करोडौं रकम ठगी

बुटवल, १५ असार । विदेश पठाइदिने बहानामा सर्वसाधारणहरुसंग एक करोड भन्दा बढी रकम ठगी गरी बुटवलस्थित जिआरएमई ओभरसिजका तीनजना सञ्चालक फरार भएका छन् ।
बुटवलको कालिका नगरस्थित उक्त ओभरसिजका निर्देशक बन्दीपुर–१ तनहुँका रमेश केसी बुटवल नगरपालिका–१२, योगीकुटीका तुलबहादुर क्षेत्री र शेरबहादुर रानाले सर्वसाधारणलाई साईप्रस पठाईदिने भन्दै रकम ठगी गरेका हुन् ।
प्रहरीले अनुसन्धानका लागि भन्दै ओभरसिजकी कर्मचारी रुपा भुसाललाई नियन्त्रणमा लिएको छ । सञ्चालहरुले सय जना भन्दा बढी सर्वसाधारणसंग प्रति व्यक्ति २५ हजारदेखि ४ लाख रुपैयाँसम्म असुल गरेका छन् ।
पीडितहरुले आफूहरुसँग रकम फिर्ता गराउन र ठगी गर्ने सञ्चालकहरुलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै ईलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णकुमार महतले पीडितहरुबाट करिव १ करोडको हाराहारीमा रकम ठगी गरेको जानकारी आएपछि अनुसन्धान भैरहेको जनाएका छन् ।
ओभरसिजका तीनैजना सञ्चालक फरार रहेकाले खोजीकार्य भैरहेको महतको भनाइ छ । ओभरसिजका मुख्य संचालक रमेश केसीको बुटवल–१३, देवीनगरमा रहेको कोठाबाट विदेश पठाउने भनिएका युवाहरुको ९८ थान पासपोर्ट, पैसा लिएको रसिद, साइप्रसको भारतस्थित हाई कमिसन लेखिएको नक्कली छाप लगायतका कागजात बरामद गरिएको थियो ।

प्रतिक्रिया