“मुनामदन” र “मन पराएँ माया लाएँ”

काठमाडौं, १५ असार । नेपाली फिल्म निर्माताहरूले राम्रो फिल्म बनाएर रेकर्ड राख्न नसके पनि धेरै संख्यामा चलचित्र निर्माण गरेर रेकर्ड राखिरहेका छन् । यही क्रमलाई निन्तरता दिँदै आज (शुक्रबार) दुई चलचित्र प्रदर्शनमा आउने भएका छन् । ती हुन्– मुना–मदन र मन पराएँ माया लाएँ । गत शुक्रबार तीन चलचित्र सार्वजनिक प्रदर्शनमा आएका थिए ।

मुनामदन ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् भने मन पराएँ माया लाएँ प्रमोद भण्डारीको निर्देशनमा बनेको हो । विश्वप्रसिद्ध चलचित्रसम्बन्धी अवार्ड ओस्कार अवार्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेर दोस्रो चरणमा समेत पुग्न सफल चलचित्र मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कृति ‘मुनामदन’मा आधारित छ । उपत्यकाका विभिन्न हलबाट एकै साथ प्रदर्शनमा आउन लागेको यो चलचित्र निर्माण पूरा भएको एक दशकपछि बल्ल सार्वजनिक प्रदर्शनमा आउन लागेको हो । विभिन्न सहरमा चलचित्रको च्यारिटी सो गरिए पनि सार्वजनिक प्रदर्शन भने भएको थिएन । लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय कविता असार पन्ध्र भएकाले यो चलचित्र पनि आज अर्थात् १५ असारबाटै सार्वजनिक प्रदर्शन गर्न लागिएको निर्माता ढकालले जानकारी गराए । चलचित्रमा मुनाको भूमिकामा अभिनेत्री उषा पौडेल छिन् भने मदनको भूमिकामा दीपक त्रिपाठीले अभिनय गरेका छन् । नीर शाह, शुभद्रा अधिकारी, दिनेश डिसी, मिथिला शर्मा, रामचन्द्र अधिकारी, विजय लामालगायत कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।
यस्तै, प्रेमकथालाई मुख्य विषयवस्तु बनाइएको चलचित्र मन पराएँ माया लाएँ आज (शुक्रबार) बाट सार्वजनिक प्रदर्शनमा आएको छ । श्रीकृष्ण श्रेष्ठ, झरना थापा, सुशील क्षेत्री, ऋचा सिंह ठकुरी आदिका मुख्य भूमिकामा अभिनय रहेको छ । बिहीबारै काठमाडौंको कुमारी सिनेमा भवनमा चलचित्रको प्रथम प्रदर्शनसमेत गरिएको थियो । चलचित्र गायिका अञ्जु पन्तको मन पराएँ माया लाएँ मैले के बिराएँ बोलको गीतबाट यो चलचित्रको नामकरण गरिएको छ । चलचित्र सुनील ढकालले निर्माण गरेका हुन् ।

प्रतिक्रिया