मुखर्जीद्वारा उम्मेदवारी दर्ता


नयाँदिल्ली, १५ असार । भारतको राष्ट्रपति पदका लागि हुने आगामी निर्वाचनमा भारतका वरिष्ठ राजनीतिज्ञ प्रणव मुखर्जीले बिहीबार उम्मेदवारी दर्ता गराएका छन् । अर्थमन्त्रीबाट राजीनामा दिएर उनले उम्मेदवारी दर्ता गराएसँगै उनको अर्थमन्त्रीको कार्यकालको समीक्षा गर्न थालिएको छ । जुलाई १९ मा भारतमा राष्ट्रपतीय निर्वाचन हुँदै छ ।
कांग्रेस आईका वरिष्ठ नेता ७७ वर्षीय मुखर्जीले सत्तारुढ गठबन्धन युनाइटेड प्रोग्रेसिभ एलायन्समा आबद्ध दलहरूको साझा उम्मेदवारका रूपमा उमेदवारी दर्ता गराएका हुन् । उनले भारतीय संसद्का पूर्वसभामुख पिए संघमासँग राष्ट्रपति बन्न प्रतिस्पर्धा गर्नेछन् ।
उनी भारतको आर्थिक क्षेत्रको दरिलो खम्बाका रूपमा हेरिँदै आएका थिए । हालैका दिनमा भारतीय अर्थतन्त्रमा गिरावट आएपछि भने उनले अपजस बेहोर्नुपरेको थियो । पछिल्लो समयमा भारतको अर्थतन्त्र बिग्रिएपछि उनले कडा विरोधको सामना गर्नुपरेको थियो ।
उनको कार्यकालमा भारतको आर्थिक वृद्धि दर पछिल्लो नौ वर्षमा सबैभन्दा कम भयो । यसै अवधिमा भारतीय रुपियाँ कमजोर हुनाका साथै रेटिङ गर्ने अन्तर्राष्ट्रिय एजेन्सीले भारतीय रुपियाँको रेटिङ घटाउने चेतावनी दिए । उनकै कार्यकालमा सरकारी घाटा अनियन्त्रित हुन पुग्यो भने राजनीतिक सर्वसम्मतिको कमीले गर्दा उनले आर्थिक सुधारका एजेन्डा लागू गर्न सकेनन् ।
भारतका अर्थशास्त्री तथा ठूला व्यापारीले नीतिगत तहमा देखिएको गतिहीनताका लागि उनलाई नै जिम्मेवार ठहर्‍याएका छन् । उनका पालामा आन्तरिक तथा बाह्य लगानी उल्लेख्य मात्रामा कटौती भएको थियो । महँगी दर निरन्तर दाहोरो अंकमा कायम रहँदा गरिबीको रेखामुनि रहेको समुदाय पनि आक्रोशित छ ।
तर, भारतीय सञ्चारमाध्यमले मुखर्जीका पुराना दिनका योगदानलाई पनि सम्झिएका छन् । सन् १९८२/८४ मा पनि उनी वित्तमन्त्री थिए । त्यतिबेला भारतीय अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रिरहेको थियो । सन् १९७९/८० मा विदेशी मुद्रासंकट सामना गर्नुपरेकाले भारतले अन्तर्राष्ट्रिय मुद्राकोषबाट ऋण लिएको थियो । भारतका नीतिनिर्माताले अनुदान र सरकारी खर्चमा कटौतीजस्ता कडा कदम पनि चाल्नुपरेको थियो । त्यसको केही वर्षभित्र भारतीय अर्थतन्त्र पुन: सही दिशामा आएको थियो । आफ्नो सन् १९८४ को बजेटमा मुखर्जीले मुद्राकोषको ऋण नलिने कुरा गर्वसाथ घोषणा गरेका थिए । (एएफपी)

प्रतिक्रिया