प्रस्ताव राख्दा रोइन्


मेरो पहिलो डेट भनौँ या प्रपोज ? जे भने पनि कुञ्जना घिमिरे ‘सुन्तली’सँग हो । अरूहरूको जस्तो पार्कमा ‘डेट’ भएन । मैले उनलाई प्रस्ताव गरेँ, उनले न स्वीकार गरिन् न अस्वीकार नै । यत्तिकैमा हाम्रो विवाह भयो । त्यतिबेला म २३ वर्ष र उनी २२ वर्षकी थिइन् । दमन रूपाखेती दाइले बनाएको एउटा सिरियलमा म प्रोडक्सन कन्ट्रोलरका रूपमा काम गर्थें म । त्यहीक्रममा कुञ्जना दमन दाइको सिरियलमा आर्टिस्टका रूपमा आइन् । त्यसदिन त मैले उनलाई टाढैबाट हेरेको थिएँ । म आफ्नो सुरमा उनी आफ्नो धुनमा, त्यो दिन खासै वास्ता भएन । अर्को दिन मेकअप गरिरहेका बेला देखेँ । त्यो दिनचाहिँ असाध्यै राम्रो लाग्यो । मन मनै लाग्यो, ‘आहा † क्या राम्री ।’ त्यही दिन मेरो कुराकानी भयो । म सानैदेखि केटीहरूसँग खुलेर नबोल्ने मान्छे । मेरो स्वाभाव नै त्यस्तो । तर, मलाई उनीसँग बोलूँबोलूँ लाग्यो । मैले नै उनलाई बोलाएँ । औपचारिक चिनजानदेखि जोकसम्म पुग्यो । उनले पनि खुलेरै कुरा गरिन् । मलाई लाग्छ, त्यो पहिलो भेट नै एक हिसाबले हाम्रो डेट थियो ।
कुञ्जना हरेक दिन चिटिक्क परेर आउँथिन् । आफूचाहिँ साथीहरूले दयाले दिएको लुगामा । त्यसबेला आफैँलाई सोध्थेँ, मनमनै सोचेँ, ‘यस्ती केटी मेरो जीवनमा राजकुमारी भइदिएको भए कस्तो हुन्थ्यो होला हँ सिताराम ?’ यही क्रममा दमन दाइले रेडियो नेपालको ‘दिनप्रतिदिन’ भन्ने कमेडी कार्यक्रममा काम गर्ने मौका दिनुभयो । पछि कुञ्जनालाई पनि त्यस कार्यक्रममा सञ्चालन टिममा राख्नुभयो । उनीसँग दिनदिनै भेटघाट हुन थाल्यो । पछि दिनप्रतिदिनमा काम गरेका टिमले नै ‘मेरी बास्सै’ हास्यशृंखला बनाउने भयो । सुन्तलीलाई पनि सिरियलमा ल्याउने भइयो । सुटिङको क्रममा कहिले उनी बिरामी पर्थिन् त कहिले म । यस्तो बेला हामी एकअर्कामा सहयोग गथ्र्यौं । बिस्तारै चालै नपाई एकअर्कामा माया बढ्यो । भेट भएको करिब एक वर्षपछि गाइजात्रा महोत्सवका लागि पोखरामा जाँदा उनलाई प्रपोज गरेँ । त्यो पनि एकहप्ताको डिसिजनमा । उनी मैले प्रस्ताव राख्दा खुब रोएकी थिइन् । उनले रुँदै भनिन्, ‘अहिले मेरो करियर बनाउन म लागिपरिरहेका बेला यस्ता कुराले मेरो भविष्य बिग्रिन्छ ।’ उनले मेरो प्रपोजको उत्तर त्यसबेला त दिइनन् दिइनन् अहिले सम्म पनि मेरो प्रपोजको उत्तर वाक्यमा आएको छैन । उनले मेरो प्रपोजको प्रतिउत्तर नदिएपछि मलाई लाग्यो म उनका लागि फिट हुन सकिनँछु । त्यसपछि म उनलाई खुसी पार्न उनको घरमा जाने गर्थें । फेरि मलाई उनको परिवारले एकदमै मनपराउँथे, म पनि उनको घर गएका बेला खानाहरू बनाउने काम गर्दा परिवारजस्तै थिएँ । उनी पनि मेरो घर कहिलेकाहीँ जान्थिन् तर मेरो प्रपोज स्वीकारेको भए त मरिजाउँ । समय बित्दै गयो मलाई उनले ‘माया गर्छु’ नभने पनि उनको व्यवहारले भने त्यही जनाइरहेको महसुस हुन थाल्यो । कस्तो ठाउँमा कसरी बोल्नुपर्छ, कसलाई कस्तो व्यवहार गर्नुपर्छ ? मलाई सुझाइरहन्थिन् । उनले मेरो हरेक दु:खमा सहयोग गर्न थालिन् । नौ लाखभन्दा बढी ऋण थियो हामीलाई । त्यो पैसा तिर्न उनले सहयोग गरेकी थिइन् । त्यसपछि मलाई लाग्यो, ‘केटी ठीक ठाउँमा आइछे, अब त मेरै हो ।’
कुञ्जनाको सुत्ने कोठा सबै गुडियाले भरिएको थियो । उनलाई गुडिया खुब मनपर्ने । भ्यालेन्टाइनडेको दिन मैले उनलाई त्यही गुडिया उपहार दिने अठोट गरेँ । उनीसँगै गिºट किन्नका लागि हामी नयाँबानेश्वर आयाँै । गिºट किन्नका लागि स्कुटी रोकेर पसलमा जाँदा उनलाई मैले मेरो घरपरिवारको दु:खेसोहरू पोखेको थिएँ । उनले मेरो केही जवाफै दिइनन् । मैले सोचेँ, ‘मेरो दु:ख सुनेर बोल्न सकिनन् उनी ।’ यसो पछाडि फर्केर हेरको त उनी त आºनै धुनमा पो रहिछन् । उनले औपचारिकताका लागि भनिन्, ‘यस्तो बेला यस्तै हो सर †’ गुडिया किनेर दिएको त्यो दिन हाम्रो प्रेमको उत्कर्ष थियो सायद । प्रेमका बारेमा दोहोरो कुरा भएन । तर, हाम्रो व्यवहारले चाहिँ भनिरहेको थियो, ‘हामी एकअर्कालाई असाध्यै माया गथ्र्यौं ।’ त्यसपछि हामी विवाह गर्ने निर्णयमा पुग्यौँ । हाम्रो विवाह भयो ।

प्रतिक्रिया