छानिए १० उत्कृष्ट जलाशययुक्त आयोजना

काठमाडौं, १५ असार । लोडसेडिङको चरम समस्या भोगिरहेका बेला साढे दुई हजार मेगावाटभन्दा बढी क्षमताका १० उत्कृष्ट जलाशययुक्त जलविद्युत् आयोजना छनोट भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सहयोगमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)ले गरेको अध्ययनबाट ती आयोजना छनोट भएका हुन् ।

नेपालमा पहिलोपटक उत्कृष्ट जलाशययुक्त आयोजनाहरूको छनोट भएको प्राधिकरणले जनाएको छ । ती आयोजनाबाट दुई हजार ६ सय ४२ मेगावाट विद्युत् उत्पादन हुन सक्ने देखिएको छ । सन् २०११ देखि जलाशययुक्त आयोजनाहरूको गुरुयोजना बनाइरहेको प्राधिकरण र जाइकाको टिमले विभिन्न मापदण्डको आधारमा १० वटा राम्रा जलाशययुक्त आयोजना छनोट गरेको प्राधिकरण आयोजना विकास विभागका निर्देशक केशवराज भट्टले जानकारी दिए । उनका अनुसार, छनोट भएका आयोजनाहरूमा पश्चिम वेसिनका ५, पूर्व वेसिनका ३ र मध्य वेसिनका दुई छन् ।
प्राधिकरणले ६५ वटा पहिचान भएका आयोजना अध्ययनका लागि दिएकोमा त्यसबाट ३१ वटा छनोट गरिएको थियो भने ३१ मध्येबाट पनि १० उत्कृष्ट छानिएका हुन् । ‘१० उत्कृष्ट आयोजना छनोट गरेर प्राधिकरणलाई दिइएको छ,’ भट्टले थपे, ‘छनोटले आगामी दिनमा सरकारलाई जलाशययुक्त आयोजना निर्माणका लागि बाटो खुलेको छ ।’
प्राधिकरणले सम्भाव्यता अध्ययन गरिरहेका, एक हजार मेगावाटभन्दा माथिका, आयोजना निर्माण गर्दा पाँच हजारभन्दा बढी परिवार विस्थापित हुने, आर्थिक रूपमा महँगा, संरक्षित क्षेत्रभित्र नपरेका, पहिल्यै अनुमतिपत्र जारी भइसकेका आयोजनालाई छनोटमा समावेश गरिएको छैन । जलाधारको आधारमा छनोट गरिएका आयोजनामा पश्चिमतर्फको एक सय ९९ मेगावाटको रोल्पाको मादी, एक सय ४२.५ मेगावाटको अर्घाखाँची र प्युठानको तल्लो झिमरुक, चार सय मेगावाटको जाजरकोटको नौस्यालगाढ, एक सय ४८.७ मेगावाटको जाजरकोट जिल्लाकै चेहरा–१ तथा दुई सय ४५ मेगावाटको प्युठान र अर्घाखाँचीमा पर्ने नौमुरे जलाशययुक्त आयोजना छन् ।
त्यसैगरी पूर्वतर्फ तीन सय मेगावाटको ओखलढुंगा र खोटाङबीचको दूधकोसी, पाँच सय ३६ मेगावाटको रामेछापको सुनकोसी–३, एक सय ११ मेगावाटको सिन्धुली र काभ्रेबीचको कोखाजोर तथा मध्यतर्फको एक सय ८० मेगावाटको स्याङजाको आँधीखोला र तीन सय ८० मेगावाटको गुल्मीको तल्लो बढीगाढ जलाशययुक्त जलविद्युत् आयोजना छन् ।
मापदण्डको आधारमा अंक निर्धारण गरी उत्कृष्ट १० आयोजना छनोट गरिएको तथा अब तीमध्ये प्राथमिकताको आधारमा क्रमबद्ध जलाशययुक्त आयोजनाको छनोट गरिने प्राधिकरणले जनाएको छ । अगस्ट २०१३ भित्र जाइकाको टिमले क्रमबद्धरूपमा उत्कृष्ट आयोजनाहरू छनोट गरिसक्ने लक्ष्य राखिएको जलाशययुक्त आयोजनाहरूको गुरुयोजना तयार अध्ययन आयोजनाका संयोजक गोपालकुमार लोहियाले जानकारी दिए ।
‘नेपालमा कति सालमा कति विद्युत् आवश्यक पर्छ र त्यो आवश्यकता पूर्तिका लागि कुन जलाशययुक्त आयोजना बनाउनु उपयुक्त हुन्छ भन्ने स्पष्टरूपमा सुझाव दिइनेछ,’ लोहियाले थपे, ‘यसका आधारमा जलाशययुक्त आयोजना अघि बढाउनका लागि धेरै सजिलो हुन्छ ।’ छनोटले पूर्व, पश्चिम र मध्य गरी सबै क्षेत्रलाई समेटेको छ ।
जाइकाको टिमले दूधकोसी, कोखाजोर, तल्लो बढीगाढ र आँधीखोला आयोजनाको स्थलगत अध्ययनसमेत गरेको थियो । सुरुमा एक सयदेखि तीन सय मेगावाटसम्मका जलाशययुक्त आयोजना मात्र अध्ययन गर्ने भनिएकोमा प्राधिकरणको अनुरोधमा एक हजार मेगावाटसम्मको आयोजना अध्ययन गरिएको थियो । उत्कृष्ट १० मा नपरे पनि अध्ययन गरेका अरू आयोजना पनि उपयुक्त रहेको तथा ती आयोजनालाई विकास योजनाभित्र पारिने प्राधिकरणले जनाएको छ । ३० जुन २०११ मा ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र जाइकाबीच जलाशययुक्त आयोजनाहरू अध्ययन गरी गुरुयोजना निर्माण गर्ने सहमतिपछि प्राधिकरण र जाइकाले अध्ययन अघि बढाएका छन् ।

उत्कृष्ट दस जलाशययुक्त आयोजना
नाम    क्षमता    क्षेत्र
मादी १९९ मेगावाट रोल्पा
तल्लो झिमरुक १४२.५ मेगावाट अर्घाखाँची र प्युठान
नौस्यालगाढ ४०० मेगावाट जाजरकोट
चेहरा–१ १४८.७ मेगावाट जाजरकोट
नौमुरे २४५ मेगावाट अर्घाखाँची र प्युठान
आँधीखोला १८० मेगावाट स्याङजा
तल्लो बढीगाढ ३८० मेगावाट गुल्मी
दूधकोसी ३०० मेगावाट ओलखढुंगा र खोटाङ
सुनकोशी–३ ५३६ मेगावाट रामेछाप
कोखाजोर १११ मेगावाट काभ्रे र सिन्धुली

प्रतिक्रिया