भन्सारका पूर्वप्रमुख भ्रष्टाचारी ठहर

काठमाडौं, १४ असार । सर्वोच्च अदालतले मेची भन्सार कार्यालयका पूर्वप्रमुख केशरजंग खड्कालाई भ्रष्टाचारी ठहर गर्दै ६४ लाख ८१ हजार नौ सय बिगो तथा जरिवाना र नौ महिना कैद सजायको फैसला सुनाएको छ । भन्सार कार्यालय प्रमुख र अन्य सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका खड्कालाई अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

बुधबार न्यायाधीश कल्याण श्रेष्ठ र भरतबहादुर कार्कीको संयुक्त इजलासले विशेष अदालतको फैसलालाई केही उल्ट्याउँदै ३२ लाख ४० हजार नौ सय ७५ बराबरको बिगो र त्यति नै जरिवानाको फैसला सुनाएको छ । ‘खड्काले सार्वजनिक पदमा रहँदा बिगो ३२ लाख ४० हजार नौ सय ७५ रुपियाँ बराबरको गैरकानुनीरूपमा सम्पत्ति आर्जन भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर गरेको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘मुद्दाको तथ्य कसुरको मात्रा र औचित्यसमेतलाई विचार गर्दा उनलाई दफा २० को उपदफा २ बमोजिम नौ महिना कैद तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट बढीबढाउ सम्पत्ति पनि जफत हुने ठहर्छ ।’
सर्वाेच्च अदालतले छानबिनका क्रममा उनको घरबाट बरामद भएको १२ लाख ९९ हजार २ सय १७ रुपियाँ जफत गरी राज्यको सर्वसञ्चित कोषमा दाखिला गर्न आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ कात्तिक ०५९ मा उनलाई छानबिनका लागि पक्राउ गर्ने क्रममा घरमा पनि छापा मारेको थियो । सोही बेला रकम फेला परेको थियो । अख्तियारको छानबिनमा उनले चार महिना आठ दिन हिरासतमा बिताइसकेका छन् । अब उनले चार महिना २२ दिनमात्र कैदमा बस्नु पर्नेछ ।
सर्वाेच्चले खड्काका नाममा रहेको काठमाडौं महानगरपालिका–३५ को कित्ता नम्बर १०६ र ११७ को पूरै जग्गा, सोही स्थानमा रहेको उनकी पत्नी सीतादेवीको नाममा रहेको कित्ता नम्बर २५१ को जग्गा र उनका छोरा रामजंगका नाममा रहेको महोत्तरी जिल्लाको कित्ता नम्बर ८७८, ८७९, को पूरै जग्गा जफत गर्न आदेश दिएको छ ।
त्यसैगरी, फैसलामा विभिन्न २१ बैंक र वित्तीय संस्थामा उनको परिवारका नाममा रहेको रकम र सोबाट आएको ब्याज पनि जफत गर्न आदेश दिइएको छ । अदालतको आदेशबाट उनकी पत्नी सीतादेवीको नाममा रहेको युनाइटेड फाइनान्स लिमिटेडमा रहेको ७ लाख ५२ हजार एक सय ३७, ललितपुर फाइनान्स कम्पनीको २ लाख रुपियाँ, छोरा केशरजंगका नाममा रहेको हिमालय फाइनान्स एन्ड सेभिङ कम्पनीमा रहेको एक लाख रुपियाँ र नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा रहेको चार लाख रुपियाँ जफत हुने भएको छ । खड्काका नाममा रहेको नबिल बैंकको २८ हजार एक सय ३६, एनबी बैंकको तीन हजार तीन सय ७३ रुपियाँ, नेपाल बंैक लिमिटेड काठमाडौंको दुई हजार नौ सय ७७, कृषि विकास बैंक न्युरोडको १७ हजार दुई सय ७५ रुपियाँ, राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारको १० हजार एक सय ९७ र नेपाल बैंक लिमिटेड भोटाहिटीको तीन हजार ६ सय ८०, कृषि विकास बंैक बानेश्वरको २९ हजार दुई सय ४८ रुपियाँ, पुतलीसडकको ८४ हजार पाँच सय रुपियाँलगायत अन्य बैंक र वित्तीय संस्थामा रहेका सबै रकम जफत गर्न आदेश दिइएको छ ।
खड्काले आम्दानीको मूलस्रोत विदेश भ्रमणबाट बचेको रकमलाई बनाएका छन् । उनले अख्तियार र अदालतमा दिएको बयानमा जापान, अमेरिका सिंगापुर भ्रमणका बेला प्राप्त भएको रकमलाई आयस्रोतका रूपमा राखेका छन् तर अदालतले उनले देखाएको आयस्रोतमा विश्वास गर्न सक्ने आधार नभएको भन्दै भ्रष्टाचार गरेको ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा रहँदा खड्काले अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा चलाएको थियो । विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २२ चैत ०६१ मा एक वर्ष कैद सजाय र २५ लाख ३३ हजार नौ सय १२ रुपियाँ बिगो तथा त्यति नै जरिवानाको फैसला सुनाएको थियो । विशेषको फैसलापछि अख्तियार र खड्का दुवै ०६२ सालमा पुनरावेदनका लागि सर्वाेच्च पुगेका थिए ।
सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक रूपमा उनको सम्पत्ति छानबिन गर्दा नै त्रुटि गरेको ठहर गरेको छ । आदेशमा भनिएको छ, ‘जानीजानी वा गम्भीर लापरबाहीका साथ अनुसन्धानकर्ताले अनुसन्धान गरेको देखिन्छ ।’ अदालतले यस्ता गम्भीर त्रुटि नगर्न अख्तियारलाई ध्यानाकर्षण पनि गराएको छ ।

प्रतिक्रिया