अश्लीलतामाथि चर्को बहस

काठमाडौ, १३ असार । नेपाली सिनेमा उद्योगले अनेक प्रयोग र परीक्षण गरिसकेको छ । तर, त्यसले सिंगो चलचित्र उद्योगलाई खास उपलब्धि दिलाउन सकेन । पछिल्ला चलचित्रलाई राम्रा र नराम्रा भन्नेहरूका आआफ्नै तर्क छन् । कुनै बेला नेपाली सिनेमालाई समाजप्रतिकूल भएको आरोप लाग्छ त कहिले हिन्दी सिनेमाको जुम्ल्याहा सोचबाट बाहिर निस्कन नसकेको । अहिलेचाहिँ आरोप छ, अश्लीलतातिर उन्मुख भएको । यस्तै आरोप र बहस चलिरहँदा मिडिया एड्भोकेसी ग्रुप, महिला कानुन र विकास मञ्चले मंगलबार राजधानीमा अन्तरक्रिया चलाए– नेपालको सिनेमा क्षेत्र कता जाँदै छ ? मुख्य सबाल थियो– नेपाली सिनेमा क्षेत्र अश्लील त भएन ?

यी र यस्ता प्रश्नको उत्तर दिन उभिएका निर्माता–निर्देशक नीर शाहले अहिलेका परिवर्तित श्रव्यदृश्य अश्लीलतातर्फ उद्यत हुँदै गएकाले समस्या निम्तिएको सुनाए । ‘सिनेमा पब्लिक च्वाइस हो तर सिनेमामा यौनहिंसाको प्रयोग हुन्छ भने त्यो सिनेमा पब्लिकका लागि हुँदैन,’ शाहले भने । ए, बी र सी ग्रेडका चलचित्रलाई सेन्सर बोर्डले सही किसिमले छुटयाउनुपर्ने उनको राय थियो । भने, ‘यौनविषय उठाउनु हुन्न भन्ने होइन तर भल्गर किसिमले बनाउनु भएन, विद्यालय भनेर वेश्यालय खोल्न पाइँदैन ।’
कार्यक्रममा सेन्सर बोर्डका अध्यक्ष तथा सूचना तथा ंसञ्चार मन्त्रालयका सहसचिव सुनील ओझाले सेन्सर गरिएका दृश्य नहटाई प्रदर्शन गरिएकाले चलचित्रमा अश्लीलता बढेको धारणा राखे । लुट र चपली हाइटले सेन्सर गरिएका दृश्य पनि खुलेआम प्रदर्शन गरेको आरोप उनको थियो । ओझाले यसो भनिरहँदा निर्माता संघका अध्यक्ष राजकुमार राईले सम्झाए, ‘आखिर यो विषय त सरकारले नै समाधान गर्नुपर्ने हो, सरकारकै प्रतिनिधिले अरूलाई आरोप लगाउनुको अर्थ छैन ।’ राजकुमारले यसो भन्दा केही बेर चुप लागेका ओझा मुसुक्क मुस्काए र भने, ‘सबैले मिलेर हल गरौँ ।’
त्यस्तै, अधिवक्ता एवं महिलाअधिकारकर्मी सपना मल्ल प्रधानले अहिले सिनेमाको डिमान्ड नभएर सप्लाइमा मात्र ध्यान दिने गरिएकाले गलत प्रवृत्ति हाबी हुँदै गएको बताइन् । निर्माता–निर्देशकको पेसा, व्यवसाय र दर्शकको सिनेमा हेर्ने अधिकार यी तीन कुरामा परिमार्जन नहुँदा अश्लीलता बढेको उनलाई लाग्दो रहेछ । भनिन्, ‘समाजमा कस्ता दृश्य पच्छ/पच्दैन, त्यो हेरिएन, मात्र पेसा र व्यवसाय हेरियो ।’ नायिका करिस्मा मानन्धरले बढ्दो अश्लील संस्कृतिले समग्र चलचित्र उद्योगलाई नै आक्षेप लगाउँदै गएकोमा चिन्ता व्यक्त गरिन् । भनिन्, ‘यसै उद्योगको हिस्सा भएकाले कुनै पनि कलाकारले यो आक्षेपबाट उम्कन मिल्दैन, यो रोक्ने दायित्व कलाकारको पनि हो, त्यसैले म त यसमा अछुतो छु भनेर खुसी भएर बस्ने बेला छैन ।’
निर्माता संघका अध्यक्ष राईले भल्गरपन भित्रिनुमा मिडियाको पनि दोष रहेको बताए । निर्देशक सिर्जना योञ्जनले पछिल्लो चलचित्र चपली हाइटको पोस्टरमाथि प्रश्न उठाइन् । भनिन्, ‘मेरी ६ वर्षीया छोरीले स्कुल जाँदै गर्दा नांगै फोटोमाथि औँला उठाई, मैले केही बोल्न सकिनँ, यसले समाजलाई के फाइदा गर्ला ?’ कार्यक्रममा आफ्नो सिनेमामाथि आलोचना भएपछि चपली हाइटका निर्माता अर्जुन कुमारले आफ्नो चलचित्रमा आपत्तिजनक दृश्य नभएको दाबी गरे । भने, ‘नपत्याए राम्ररी चलचित्र हेरे हुन्छ ।’ चपली हाइटकी नायिका विनीता बरालले त्यसका दृश्य भल्गर प्रमाणित गर्न सके आइन्दा त्यस्ता दृश्य नगर्ने बताइन् । निर्मातानिर्देशक नरेश पौडेलले पनि सिनेमा अश्लील हुनुमा मिडियालाई दोष दिए । उनले आरोप लगाए– ‘यस्ता चलचित्रलाई मिडियाले पनि राम्रो व्यापार गरेको भनेर उचाल्छन् ।’
नायिका रेखा थापाले भने चलचित्र भल्गर हुनुमा निर्माता तथा निर्देशकको मात्र नभएर कलाकारको पनि दोष रहेको बताइन् । भनिन्, ‘नायिकाहरू स्वत: त्यस्ता दृश्यका लागि तयार भएको देखिएको छ ।’ अश्लीलताका दृष्टिले नायिकाको वर्गीकरण हुनुपर्ने र त्यसमा सबैलाई मुछ्न नहुने उनको धारणा थियो । कार्यक्रममा सञ्चारकर्मी बबिता बस्नेत, निर्देशक राजेन्द्र शलभले पनि धारणा राखेका थिए ।

अश्लील चलचित्रलाई चेतावनी
नेपाली चलचित्रमा बढ्दो अश्लीलता र छाडा संवादको शिवसेना पार्टी नेपालले विरोध गरेको छ । शिवसेनाले मंगलबार विज्ञप्ति जारी गरी अश्लील र नेपाली कलासंस्कृति बिगार्ने खालका चलचित्र निर्माण हुन थालेकामा आपत्ति जनाएको हो ।
यस्ता चलचित्र नबनाउन अनुरोध गर्दै विज्ञप्तिमा त्यस्ता निर्माता–निर्देशकविरुद्ध कारबाही गर्ने चेतावनीसेमत दिइएको छ । शिवसेना नेपालका संयोजक अनिल बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि शिवसेनाको अनुरोध अवज्ञा गरेमा त्यसबाट हुने क्षतिको जिम्मेवार आफैँ हुनुपर्नेछ ।’ पछिल्लो समय चलचित्र एटिएमको निकै भद्दा एवं अश्लील प्रोमो अनलाइनमार्फत सार्वजनिक भएपछि निकै विरोध हुँदै आएको छ । पछिल्लोचोटि छाडा संवाद र अश्लील दृश्यका चलचित्र लुट र चपली हाइटले दर्शक बटुलेपछि यस्ता चलचित्र निर्माणमा तीव्रता आएको हो ।

प्रतिक्रिया