विभाजन : दुस्मनका लागि खुसीको अवसर

आफैँमा विभाजन कसैका लागि राम्रो विषय होइन । माओवादी विभाजन कुनै नयाँ रोग होइन । पुरानै रोगको निरन्तरता हो । पात्र मात्रै फरक होलान् । तर, फुटाउने शक्ति भनेको साम्राज्यवाद र विस्तारवाद हो । त्यसकारण, माओवादी फुट साम्राज्यवाद, विस्तारवादका निम्ति रात्रि भोज हो । अर्कातिर, जनता र कम्युनिस्ट आन्दोलनमाथि धोका हो । नकारात्मक कोणबाट उभिएर हेर्दा, भइसकेको (पहुँचभन्दा बाहिरको) फुट, युवा वर्गका लागि अवसर पनि हो । अथवा, अवसरका रूपमा लिनुपर्छ ।
अब थोरै माओवादी विभाजनको चर्चा गरौँ । २०५२ सालदेखि २०६९ सालसम्म माओवादी पार्टी आकर्षणको केन्द्र † त्यसमा को–कति क्रान्तिकारी थियो । को–कति अवसरवादी थियो । त्यो अर्को पाटो हो । तर, जो जसरी सहभागी भए पनि मुलुकको सर्वाधिक ठूलो पार्टी माओवादी बन्नु क्रान्तिकारी वर्गको योगदानको उपज हो । इतिहासतिर फर्किएर हेर्दा, आकर्षणको युगबाट विभाजनको युगतिर माओवादी आन्दोलन फर्किएको छ । कुनै पनि घटना विनाकारण हुँदैन विज्ञानले भन्छ । माओवादी विभाजनको मुख्य कारण साम्राज्यवाद र विस्तारवाद हो । वा तिनैद्वारा पालित, पोषित दलालहरूको भित्री बाहिरी चलखेल हो । यो तत्त्व नेपाली जनताको साझा शत्रू हो ।
तसर्थ, संस्थापन होस् कि विद्रोही, पार्टी विभाजनमा क्रान्तिको सपना देख्नु फुटको इतिहासमा अर्को इतिहास थप्नु हो । किनकि, जनयुद्ध इतिहास भइसक्यो । शान्ति–सम्झौता भएको पनि ६ वर्ष बितिसक्यो । अब भविष्यका लागि अरब पुग्ने होस् कि, बाटोमा अधुरो क्रान्तिको दु:ख, पीडा र कुण्ठामा भुटभुटिने होस्, अनि नातागोताका नामको राजधानी घरवाला कमरेड होस् । फेरि जनयुद्धका नाममा वर्ग फेरिएका खान पाउनेहरू कोही पनि फर्कने छैन । ब्रान्डमा एकपटक चलेको वस्तु फेरि अर्कोपटक चल्दैन । यसको प्रमाण हिजोको क्रान्तिकारी शक्ति कांग्रेस र एमाले छन् । त्यसैकारण अब माओवादी जनयुद्ध जनताले पचाउँदैन । गाउँ पूरै बदलिएको छ । खेतपाखा बाँझिएका छन् । त्यहाँ मलामी जाँदा लास बोक्ने युवाको खाँचो छ । यदि कसैले अर्को जनयुद्धको कुरा गर्छ भने त्यो काम पनि कालान्तरमा गएर, इतिहास भँजाएर खाने कांग्रेस एमालेको चालभन्दा माथि उठ्ने छैन ।
अर्को कुरा, जनयुद्ध आफैँमा इतिहास भयो । इतिहास कहिले पनि पछाडि फर्किंदैन । त्यसैले माने पनि नमाने पनि दस वर्ष जनयुद्धमा सहिद हुने मित्रहरू क्रान्ति र परिवर्तनका अगुवा हुन् । तिनीहरू माओवादीको मात्र होइन, मुलुककै साझा सम्पत्ति हुन् । राष्ट्रको सम्मान पनि हो । तर, यो फुट श्रमजीवी जनता र ६ दशक लामो कम्युनिस्ट आन्दोलनमाथिकै धोका हो । त्यसकारण, माओवादी विभाजनको जिम्मा शीर्षस्थ नेताहरूले लिनुपर्छ ।
नफुट्नुपर्ने थियो माओवादी तर फुट्यो । माओवादी विभाजनमा धर्ती फाटेको छैन । सागर उल्टिएको छैन । कार्यकर्ताको लक्ष्य र उद्देश्यमा चोट पुर्‍याए पनि आतिनुपर्ने जरुरी छैन । फ्रान्सेली राज्यक्रान्ति होस् कि २००७ सालको, अनि २०२८ सालको होस् कि २०५२ सालको जनयुद्ध । कसैको तागतले रोकेको थिएन । युवाहरू नआत्तीकन, धैर्य भई नयाँ ठाउँ र नयाँ ढंगले अगाडि बढ्नुपर्छ । क्रान्ति कसैले पत्याएर, मानेर, आशीर्वाद दिएर हुँदैन । कसैले फूलमाला लगाएर अगुवा पनि बनाउँदैन । त्यसकारण पत्याउने हैसियत बनेको छैन भनेर आफैँले आफैँलाई घृणा गर्ने बेला पनि होइन । आफूले आफैँलाई सच्याएर आ–आºना बलबुताले नयाँ ठाउँ र नयाँ ढंगले कोसिस गर्ने बेला यही हो । माओवादी विभाजन पुरानो सम्झौतावादी पुस्ताको असफलताभित्र, नयाँ पुस्ताको लागि खोलिएको ढोका पनि हो । हाम्रो भविष्य आवश्यकता परे नयाँ ठाउँमा, नयाँ ढंगले क्रान्तिभित्रै खोज्ने हो । त्यसका लागि नेपालको अवस्था कस्तो छ । कसरी जान सकिनेछ । थप चर्चा तल गर्नेछु ।
मुलुक अर्ध सामन्तवाद र अर्ध औपनिवेशवादबाट दलालकेन्द्रित नव औपनिवेशवादमा प्रवेश गरेको छ । यसको प्रमाण सुपुर्दगी सन्धि, एयर मार्सलदेखि आजसम्मका सन्धि–सम्झौता र डेढ लाखभन्दा माथि खुलेका एनजिओ/आइएनजिओहरू हुन् । हिजो सामन्त भनेका २०५२ सालपछि सहर पसेका छन् । तिनीहरूको वर्ग परिवर्तन भई सामन्तबाट नवधनाढ्य बनेका छन् । गाउँका पूरै युवा बुर्जुवा आयातीत परराष्ट्र भक्ति शिक्षाको सिकार बनी बिदेसिएका छन् । त्यसको सरकारसँग एकिन तथ्यांक नभए पनि लगभग ४० लाखको हाराहारीमा छ । यो वर्ग इराकमा १२ जना सेरिनुपरेको पीडादेखि, दलालबाट फस्नु, बेलामा तलब नपाउने र चेलीबेटीले बैंश बेच्नुपर्ने पीडाको सिकार बनेको छ । यस वर्गलाई राष्ट्रविनाको जीवन कस्तो हुन्छ ? राष्ट्र, राष्ट्रियता अनि अस्तित्व र गौरब के हो ? विदेशमा र राज्यले आफूमाथि थुपारेको अन्यायका प्रत्यक्ष ज्ञाता पनि यही वर्ग हो । यो वर्ग नै पछिल्लो चरणमा विकास भएको राष्ट्रवादी र क्रान्तिकारी वर्ग हो । यस वर्गलाई भाट बुद्धिजीवी र दलालहरूले विदेशीको हातमा बेचिरहेका छन् । दलालहरूको साझा लक्ष्य, उद्देश्य भनेको युवा पुस्तालाई राजनीतिबाट अलग्याउने, विदेशमा मालसामानजस्तै सप्लायर्स गर्ने, बूढापनकालाई धर्मनिपेक्षताको नाममा क्रिसिचयन बनाउने र अन्त्यमा क्रिस्चियन खोलमा राजनीति गर्ने हो । यसको प्रमाण तीन ठूला दलले भारतीयमूलका व्यापारीलाई सभासद् बनाउनु, क्रिस्चियन पादरीहरूले राज्यका ठूला पदका हाकिम बन्नु र क्रिस्चियन नाममै पार्टीहरू खुल्नु हुन् । यो काम गर्नु नै कांग्रेस र परम्परावादीको धर्म हो । तर, कम्युनिस्ट नामका दलालहरू झन् रातो झन्डाको आडमा हरियो अजिंगर बनेका छन् ।
तर, स्वस्र्फुत रूपमा आत्मानिर्भर बन्ने जनताको चाहना पनि चिया गफ बनेको छ । नकारात्मक पाटोतिर फर्किएर हेर्दा, आफूबाहेक सबै दलाल मात्रै देख्ने पीडा, कुण्ठा, र संकीर्णतामा हरेक नेपाली जनता बाँचिरहेका छन् । यी हरफ लेखिराख्दा, विश्व सर्वहारा वर्गका अगुवा किम इल सुङका पिताले ‘कोरियाका निम्ति पढ्न सिक † कोरियाको निम्ति प्राविधिक ज्ञान सिक † ईश्वरमा विश्वास गर्ने भए, कोरियाली ईश्वरमै विश्वास गर † भनेजस्तै नेपाली युवाहरूलाई नेपाली सभ्यता र संस्कृति रक्षाका लागि, नेपाली पिताको खोजी गर्नुपर्ने भएको छ । सत्ता कसैले माागेर दिँदैन र त्यो भनेको वर्ग दुश्मनको हातबाट जबरजस्त खोसेर लिने हो । सन् १९२६ मा साम्राज्यवाद विरोधीमोर्चा कोरियामा गठन गरेजस्तो नेपालमा गठन गर्नेबेला भएको छ । यसका लागि सबै नेपाली एकजुट भएर उठ्नु पर्नेछ । यसले मात्र राष्ट्र, राष्ट्रियता र नेपाली जनतालाई सुरक्षित हुने अवस्थामा पुर्‍याउँछ ।

प्रतिक्रिया